एरिक्सनको ज्यान बचाउने कप्तानलाई प्रेसिडेन्ट अवार्ड

काठमाडौं : यूईएफएले प्रदान गर्नै प्रतिष्ठित प्रेसिडेन्ट अवार्ड यो पटक डेनमार्कका कप्तान सिमोन जायर र राष्ट्रिय टीमको मेडिकल टोलिलाई प्रदान गरिएको छ।
२०२० युरोपियन च्याम्पियनसिपको पहिलो खेलका दौरान नै हृदयघात भएर मैदानमै ढलेका क्रिष्टियन एरिक्सनको ज्यान बचाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै कप्तान र मेडिकल टीमलाई युरोपेली फुटबल महासंघले यूईएफए प्रेसिडेन्ट अवार्ड प्रदान गरेको हो।
१२ जुनमा कोपनहेगनमा फिनल्याण्डसँगको खेलका क्रममा २९ वर्षीय एरिक्सनलाई हृदयघात भएको थियो।
विश्व नै स्तब्ध बनेको उक्त समयमा कप्तान जायरले कठिन अवस्थालाई नियन्त्रणमा राखेर आफ्नो शानदार नेतृत्वदायी क्षमता प्रदर्शन गरेको भन्दै सम्मान गरिएको हो।
मेडिकल टिमलाई धन्यवाद दिँदै एरिक्सनले आफ्नो ज्यानका बारेमा समग्र टीमले गरेको मिहिनेतका कारण बाँच्न सफल भएको भन्दै धन्यवाद दिएका थिए।
उनले भनेका थिए, ‘तपाईंहरूले धेरै राम्रो काम गर्नुभयो र मेरो जीवन बचाउनुभयो। यसको जवाफ सायदै म सँग छ, सधैँ अनुग्रहित रहन्छु।’






