अब्बल बन्दै प्रदेश अस्पताल

सुर्खेत । २०३० सालमा जिल्ला अस्पताल स्थापना हुँदा हालको प्रदेश अस्पतालको अवस्था निकै नाजुक थियो । न गतिलो पूर्वाधार न विशेषज्ञ डाक्टर । उबेला अस्पतालमा प्राथमिक उपचार मात्रै सम्भव थियो । तर समयक्रम एउटै रहने ।
राजनीतिक घटनाक्रमसँगै वीरेन्द्रनगर तत्काली क्षेत्रीय सदरमुकामपछि अस्पतालको पनि स्तरोन्नती भयो । दैलेख, सल्यान, जाजरकोट र सुर्खेतको विरामीहरुका लागि पाएक पर्ने अस्पताल भएपछि २०६२ साल फागुन ७ गते क्षेत्रीय अस्पतालको रुपमा स्तरोन्नती भयो । ५० शैयाबाट सुरु गरिएको क्षेत्रीय अस्पतालको हालत पनि भनेजस्तो थिएन ।
विशेषज्ञ चिकित्सको अभावमा क्षेत्रीय अस्पतालबाट नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा विरामीहरु रिफर गर्नुपर्ने बाध्यता कायम रह्यो । आइसीय, एनआइसीयू, भेन्टिलेटर जस्ता अत्याधुनिक उपकरणको अभाट हटेन् । पूर्वाधार र जनशक्ति अभावबाट गुज्रीदै अस्पतालले सेवा दिनुपर्ने अवस्था कायमै थियो । मुलुक संघीय संरचनामा गएपछि २०७५ साल कात्तिक १३ गते अस्पताल प्रदेश सरकार मातहतमा आयो ।
प्रदेश सरकार मातहतमा आएपछि भने अस्पतालको ठूलो फड्को मारेको छ । प्रदेश सरकारको जवाफदेहीता र चिकित्सकहरुको अथक पर्यासपछि अहिले अस्पतालको अवस्था फेरिएको छ । अहिले आइसीय, एनआइसीयू, भेन्टिलेटर, जडिल प्रकृतिका अप्रेशन, डाइलासिस, पथ्थरीको उपचार, अत्याधुनिक एक्सरे जस्ता सेवाहरु अस्पतालबाट सम्भव भएका छन् ।
‘प्रदेश सरकार मातहतमा आएपछि अस्पतालको स्वरुप नै फेरिएको छ’ अस्पतालका निर्देशक डाक्टर डम्बर खड्का भन्छन्, ‘अब कर्णालीका कोही पनि विरामीलाई बाहिर पठाउनुपर्ने अवस्थाको अन्त्य गर्दैछौँ ।’ अस्पतालमा प्रदेश सरकारले लगानी बढाएपछि भौतिक संरचना, अत्याधुनिक उपकरण र जनशक्ति थपिएको खड्काले बताए । ‘विशेषज्ञ सेवाकै लागि प्रदेश सरकारले बार्षिक साढे दुइ करोड रकम दिँदै आएको छ’ उनले भने, ‘विशेष सेवाको बजेटबाट डाक्टरदेखि सुरक्षागार्डसम्मका जनशक्ति थपेका छौँ ।’

आगामी दिनमा क्यान्सर जस्तो गम्भीर रोगको उपचार गर्नेगरी पूर्वाधार थप गर्ने तयारी भइरहेको अस्पतालका सूचना अधिकारी डाक्टर विकास केसीले बताए । ‘छिट्टै एमआरआई सेवा पनि थप गर्ने अस्पतालको योजना छ’ केसीले भने, ‘एमआरआई मेसिन आयो भने क्यान्टरको समेत उपचार गर्छाैँ ।’
अस्पतालमा हाल नाक, कान, घाँटीको अप्रेशन, टाउकोमा रगत जमेको, मासु पलाएको, मेरुदण्ड, ठूलठूला घाउको अप्रेशन, टेलिमेडिसियन, फिस्टुला, दुरुबिनबाट वित्त थैलीको अप्रेशन जस्ता अत्याधुनिक सेवाहरु दिँदै आएको छ । हाल तीनसय शैयाको रुपमा सञ्चालित अस्पताललाई आगामी दिनमै पाँचसय शैयाको बनाउने लक्ष्य लिइएको छ । अस्पतालमै प्रदेश सरकारले शिक्षण अस्पतालका रुपमा स्तारोन्नति गर्ने योजना बनाएको छ ।
जसका लाग अस्पतालको नयाँ भनवमा थप तलाहरु थप्ने योजना रहेको अस्पतालले जनाएको छ । यसैबीच काँग्रेस महामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काको पहलमा जिल्लामा रहेका अस्पतात तथा विभिन्न स्वास्थ्य चौकीहरुलाई ५० लाख बराबरको स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन् ।
प्रदेश अस्पताल, आयुर्वेद अस्पताल, मेहेलकुना अस्पताल, मैनतडा आयुर्वेद अस्पतालसहित जिल्लाका ४७ वटा स्वास्थ्य चौकी, तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा नगरपालिका र चार वटा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।






