नेकपा विवादकाे समयमै सुर्खेतमा जिल्लादेखि वडास्तरसम्म एमालेको यसरि बन्याें समानान्तर कमिटी

सुर्खेत । सुर्खेतमा जिल्लादेखि वडास्तरसम्म नेपाल कम्युनिष्ट पार्टी एमालेको समानान्तर कमिटी घोषणा भइरहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको टकरावको असर अहिले प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म पुगेको हो ।

माधव नेपाल पक्षले जिल्ला हुँदै पालिका र वडास्तरमा समानान्तर कमिटी घोषणा गरिरहेको छ । सुर्खेतमा एमाले पार्टी सचिवको जिम्मेवारीमा रहेका मोहनसिंह बडुवालको अध्यक्षतामा जेठ १४ गते २२७ सदस्यीय समानान्तर कमिटी घोषणा भयो ।

माधव नेपाल समूहका प्रदेश संयोजक तथा कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका प्रकाश ज्वालाको हस्ताक्षरसहित जारी विज्ञप्तिमा बडुवाललाई अध्यक्ष मनोनित गरिएको उल्लेख छ । समानान्तर कमिटीको जिल्ला उपाध्यक्षमा टोपबहादुर रास्कोटी, सचिवमा शिवप्रसाद उपाध्याय र उपसचिवमा बलबहादुर नेपाली मनोनित भएका छन् ।

उसो त समानान्तर कमिटी घोषणालाई कर्णाली प्रदेशमा देखिएको दुईपक्षीय टकरावको परिणामका रुपमा पनि कतिपयले लिएका छन् ।

प्रदेशमा यामलाल कँडेल (ओली पक्ष) र खनाल–नेपाल समूहबीच विवाद छ । यसैको छत्रछायाँमा रहेर समानान्तर कमिटी घोषणा गर्ने काम भएको जानकारहरु बताउँछन् ।

यस्तै असार ३ मा प्रदेश राजधानी वीरेन्द्रनगरमा पनि समानान्तर नगर कमिटी गठन भयो । वीरेन्द्रनगर नगरपालिका–१२ का वडा अध्यक्षसमेत रहेका लोकप्रसाद चालिसेको अध्यक्षतामा नगर कमिटी घोषणा गरिएको थियो ।

समानान्तर कमिटीका जिल्ला अध्यक्ष मोहनसिंह बडुवालका अनुसार वीरेन्द्रनगर कमिटीमा चालिसेको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी गठन भएको छ । चालिसे नेकपा एमालेका जिल्ला कमिटी सदस्य हुन् । नगर कमिटीको उपाध्यक्षमा वीरबहादुर रावत, सचिवमा सुरेन्द्र बिसी र उपसचिवमा लक्ष्मी ज्ञवालीले जिम्मेवारी पाएका छन् ।

यस्तै बिहीबार सिम्ता गाउँपालिकामा पनि एमालेको खनाल–नेपाल पक्षले संगठन विस्तार गरेको छ । सिम्ताको समानान्तर कमिटी अध्यक्षमा भुवन बुढा मगर मनोनित भएका छन् । ५१ सदस्यीय कमिटीको उपाध्यक्षमा रामबहादुर विक, सचिवमा थुमान अधिकारी र उपसचिवमा चित्रबहादुर बुढा रहेको अध्यक्ष बडुवालले जानकारी दिए ।

बडुवालले जिल्लाभरी नै संगठन विस्तारको कामलाई निरन्तरता दिएको बताए । उनले भने, ‘गुर्भाकोट नगरपालिकामा भीमप्रसाद शर्माको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटी र पञ्चपुरी नगरपालिकामा रमेश पौडेलको अध्यक्षतामा ८१ सदस्यीय कमिटी गठन भइसकेको छ ।’

पार्टी एकताका साथै संगठन बलियो बनाउन यसरी कमिटी घोषणा गरिएको उनको भनाइ छ । ‘सबैतिर संगठन विस्तार गरी जिल्ला र प्रदेश कमिटीको बैठक बसेर समीक्षा गर्ने काम हुन्छ,’ उनले भने, ‘पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट कानुनविपरीत काम भइरहेका छन् । त्यसको समीक्षा गर्ने र सच्याउनका लागि हामीले संघर्ष गर्दैछौँ ।’

ओली पक्षले भने समानान्तर कमिटी गठन गर्नेहरुमाथि कारवाही गर्दै आएको छ । बडुवालले त्यस्तो कारवाहीको औचित्य नरहेको दावी गरे । ‘पार्टीको अध्यक्षले नै न नेपालको संविधान मान्छ न त पार्टीको विधानको कुरा मान्छ,’ उनले भने, ‘संविधानविपरीत काम जसले गर्छ, उसैले गरेको कारवाहीले केही फरक पार्दैन ।’

पार्टी कसैको व्यक्तिगत सम्पत्ति नभई लाखौं कार्यकर्ताको संघर्ष बलिदानबाट यहाँसम्म आइपुगेको उनले बताए । ‘विचार, सिद्धान्त र संविधान तथा विधानलाई आधार मान्ने हो भने संस्थापन हामी हो,’ उनले भने, ‘किनकि उहाँहरुले पार्टीको विधान नै मान्नुभएको छैन ।’

बडुवालमाथि कारवाही

एमाले संस्थापन पक्षले भने सचिव मोहनसिंह बडुवाललाई पार्टीको हित विपरीत काममा लागेको भन्दै सचिव पदबाट पदमुक्त गरेको छ । उनीमाथि २३ जेठमै कारवाही भएको हो ।

पार्टीका अध्यक्ष ध्रुवकुमार शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारविरुद्ध विज्ञप्ति जारी गर्ने, आफ्नो नेतृत्वमा समानान्तर कमिटी घोषणा गरेकाले सचिव पदबाट मुक्त गरिएको छ ।’

पार्टी एकता र भावनाविपरीत गतिविधिमा संलग्न जनप्रतिनिधिलाई पनि स्पष्टीकरण सोध्ने भनिएको थियो । उसो त सुर्खेतमा समानान्तर जिल्ला कमिटी घोषणा गरेकै दिन कर्णालीका अन्य जिल्लामा पनि समानान्तर कमिटी घोषणा गरिएका थिए । एमालेको प्रदेश कमिटीले भने समानान्तर कमिटी गठन गर्ने, सरकारविरुद्ध लाग्ने व्यक्तिहरुलाई कारबाही गर्ने चेतावनी दिँदै आएको थियो ।


पंखबहादुर शाही / राताेपाटी

नेकपा विवादकाे समयमै सुर्खेतमा जिल्लादेखि वडास्तरसम्म एमालेको यसरि बन्याें समानान्तर कमिटी

नरबहादुरको पहलमा ३० घरपरिवारलाई राहत वितरण

नेकपा विवादकाे समयमै सुर्खेतमा जिल्लादेखि वडास्तरसम्म एमालेको यसरि बन्याें समानान्तर कमिटी

अब्बल बन्दै प्रदेश अस्पताल

Leave a comment

Your email address will not be published. Required fields are marked *