ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो

एजेन्सी । ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ। कोरोना भाइरसको महामारीको पहिलो र दोस्रो लहरबाट अत्यन्त प्रभावित भएको ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या विश्वको दोस्रो धेरै हो।
अमेरिकामा कोरोनाबाट ६ लाख १७ हजार मानिसको मृत्यु भइसकेको छ। सामाजिक दूरी तथा स्वास्थ्यका मापदण्डहरुमा लापरबाही गरिएका कारण ब्राजिलमा दैनिक रुपमा कोरोना संक्रमणको दर बढ्दो क्रममा छ।
राष्ट्रपति जैर बोल्सोनारो आफैले पनि यस्ता कुरालाई बेवास्ता गर्दा ब्राजिलमा संक्रमणको जोखिम न्यून हुन सकेको छैन। स्वास्थ्य विद् अनुसार ब्राजिलको स्वास्थ्य अवस्था निकै संकट उन्मुख छ।
हालसम्म १५ प्रतिशत वयस्कले मात्र कोरोनाविरुद्धको खोप प्राप्त गरेका छन्। कोरोना महामारीलाई बेवास्ता गरेको भन्दै राष्ट्रपति बोल्सोनारोको देशभित्र र बाहिरबाट चर्को आलोचना हुने गरेको छ । त्यहाँका विपक्षी दलहरुले राष्ट्रपतिले चासो नदिएका कारण खोप खरिदमा ढिलाइ भइरहेको आरोप लगाउने गरेका छन्।
पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने २२ सयभन्दा धेरैको मृत्यु भएको छ।





