कर्णालीमैत्री आमसञ्चार नीति बनाउने प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीमैत्री आमसञ्चार नीति बनाउने भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएकी हुन् ।
कर्णालीमा हालसम्म आमसञ्चार नीति बनेको छैन । मन्त्री नेपालीले कर्णालीका विशिष्टिकृत विशेषतालाई ख्याल गर्दै कर्णालीमैत्री सञ्चार नीति बनाउने प्रतिबद्धता जनाइन् । संविधानको भावना, राष्ट्रिय सञ्चार नीति र अन्य प्रदेशका सञ्चार नीतिको समेत अध्ययन गरी कर्णाली सुहाउँदो नीति बनाउने मन्त्री नेपालीको भनाइ छ ।
पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले सञ्चार नीतिको आधारमा आवश्यक कानुन, संरचना र कार्यक्रम निर्माण तथा तय हुने भएकोले यथाशक्य छिटो नीति तर्जुमा गरिनुपर्ने बताए ।
यस्तै सञ्चारिका समूहकी कर्णाली प्रदेश संयोजक टीका बिष्टले प्रदेशको सञ्चार नीतिविनै कानुन र संरचना निर्माण थालिँदा विगतमा केही समस्या देखिएकाले त्यसको समाधानको लागि पनि स्पष्ट नीति हुनुपर्ने आवश्यकता औंल्याइन् । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, प्रदेश सचिव दीपक बुढा र जिल्ला अध्यक्ष ललित बसेललगायतले सञ्चार नीतिको आवश्यकता र त्यसको स्वरुपबारे धारणा राखेका थिए ।






