जब सेवाग्राही खुशी हुन्छन् तब मलाई सन्तुष्टि मिल्छ

इलाका प्रशासन कार्यालय तुलसीपुर दाङका कार्यालय प्रमुख हुन् यज्ञबहादुर बुढा । बुवा शेरबहादुर र आमा अमृता बुढाको कोखबाट २०३७ सालमा दंगीशरण गाउँपालिका वडा नं. १ दाङमा उनको जन्म भएको हो । २०७५ सालदेखि निजामति क्षेत्रमा प्रवेश गरेका उनी सरकारी कार्यालयले नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने मान्यता राख्छन् । सेवाग्राहीलाई खुशी बनाएर काम गरे मात्रै आनन्दको अनुभूति हुने उनको तर्क छ । प्रस्तुत छ, दुई दशकदेखि निजामति क्षेत्रमा क्रियाशिल उनको अनुभव र जीवन भोगइमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

यज्ञबहादुर बुढा
उपसचिव, इलाका प्रशासन कार्यालय तुलसीपुर, दाङ
बाल्यकालमै संघर्ष
यज्ञबहादुर बुढा विपन्न परिवारमा जन्मिए । बाआमालाई खेतीपातीमा सघाउँदै हुर्किए । गाउँले परिवेश, विपन्न परिवार । कृषक परिवार भएका कारण उनको बाल्यकाल संघर्षपूर्ण रह्यो । ‘आम्दानीको स्रोत थिएन, मेलापात गरेर जीवन गुजार्नुपथ्र्याे’ उनी भन्छन्, ‘आर्थिक विपन्नताकै कारण बाल्यकाल संघर्षपूर्ण रह्यो ।’
गाउँमै घाँस दाउरा, कुटो कोदालो र मेलापात गर्दैमा बाल्यकाल बिताए । ‘बुवाले भारतमा मजदुरी गरेर खर्च ल्याउनुहुन्थ्यो’ उनी भन्छन्, ‘बाल्यकालमा सधै आमालाई मेलापातमा सघाउँथे ।’ उनका बाआमा निरक्षर थिए । तर छोराछोरीलाई पढाउनुपर्छ भन्ने ज्ञान थियो । खेतीपातीको समयबाहेक उनले घरमा पढ्ने वातावरण पाउँथे ।
‘शहरमा गएर पढ्न सक्ने अवस्था थिएन, गाउँकै स्कुलमा पढे’ उनी सुनाउँछन्, ‘बाआमाले पढ्नुपर्छ भनेर खुब हौस्याउनु हुन्थ्यो ।’ किसान परिवारमा र आर्थिक विपन्नतामा हुर्किएका कारण बाल्यकालमै संघर्ष गर्न सिकेको उनको तर्क छ । ‘सम्पन्न परिवारमा हुर्केको भए दुःख के थाहा हुन्थ्यो र ?’ उनी भन्छन्, ‘विपन्नताले सानैमा संघर्ष सिकायो ।’
पढाइमा अब्बल
यज्ञ पढाइमा सानैदेखि अब्बल थिए । संयोग नै मान्नुपर्छ उनले जुन विद्यालयमा गए, त्यहाँ कुनै–कुनै रुपमा रेकर्ड कायम गर्थै । गाउँकै निमावि बेटारपुरमाबाट उनले कखरा सिके । त्यहाँ कक्षा ८ सम्मको अध्ययन पुरा भएपछि उनी वीरेन्द्र मावि हिकुलेमा भर्ना भए ।
२०५४ सालको एसएलसी परीक्षामा पहिलो पटक प्रथम श्रेणीमा एसएलसी पास गरेर रेकर्ड राखे । माध्यमिक तहमा उनी कहिल्यै दोस्रो भएनन् । पढाइमा अब्बल भएका कारण कक्षाका साथी र शिक्षकका उनी प्रिय पात्र थिए । उच्च शिक्षा अध्ययनको लागि उनी सुर्खेत आए । सुर्खेत क्याम्पस (शिक्षा) बाट स्नातकोत्तर तहसम्म अध्ययन गरे । क्याम्पसमा पनि अब्बलता कायमै राखे । उनले बार्षिक दुई हजार रुपैयाँ जेहेन्दार छात्रबृत्ति पाउँथे ।
संयोग कस्तोसम्म थियो भने क्याम्पसबाट बार्षिक दुई हजार पाउने उनले क्याम्पसलाई भने मात्रै नौँसय रुपैयाँ तिर्नुपथ्र्याे । ‘क्याम्पसको शुल्क नौसय रुपैयाँ मात्रै थियो’ उनी भन्छन्, ‘तर मैले क्याम्पसबाट दुई हजार रुपैयाँ पाउँथे ।’ साथै उनले जनप्रशासन विषयमा एमपीए, राजनीतिक शास्त्रमा एमए र कानुन विषयमासमेत अध्ययन गरेका छन् । उच्च शिक्षाको ढोका भने उनलाई दाईहरुले खोलिदिएका हुन् ।‘
आर्थिक अवस्था कमजोर थियो, उच्च शिक्षा पढ्न पाइदैन भन्ने ठानेको थिएँ’ उनी भन्छन्, ‘तर दाजुहरुले भारतबाट पैसा पठाइदिन्छु भनेपछि सुर्खेत पढ्न आएको आएँ ।’ आफूले पढ्न नपाएको कारण मजदुरी गरेर दाइहरुले खर्च पठाउने गरेको उनी सुनाउँछन् । ‘दाइहरुमा आफू पढ्न नपाएको पीडा थियो, पीडा भुलाउनकै लागि मलाइ भारत जान दिनुभएन’ उनी भन्छन्, ‘दाइहरुको पैसाले सुर्खेत पुगेर क्याम्पस पढ्न पाएको हुँ ।’
त्यसपछि लोकसेवाको बाटो…
२०५४ सालपछि उनी उच्च शिक्षा अध्ययन गर्न सुर्खेत झरे । इन्टर पढ्दै गर्दा अग्रज (धनीराम शर्मा) ले उनलाई लोकसेवा आयोगको तयारी गर्न सुझाव दिए । झण्डै दुईबर्ष क्याम्पस पढ्दै लोकसेवा आयोगको तयारी गरे । स्वअध्ययन गरेरै २०५७ सालमा लोकसेवा आयोगको परीक्षा पास गरे ।
जिल्ला प्रशासन कार्यालय जाजरकोट पहिलो कार्यथलो बन्यो । त्यसपछि जागिर र पढाइलाई सँगसँगै अगाडि बढाए । २० बर्षको उमेरमै निजामति क्षेत्रमा प्रवेश गरेका उनले २०६२ मा नायव सुब्बा पास गरे । २०६६ सालमा शाखा अधिकृत भएका उनी २०७६ सालदेखि नेपाल सरकारको उपसचिव पदमा कार्यरत छन् । हाल इलाका प्रशासन कार्यालय तुलसीपुर दाङमा कार्यरत उनले धेरै समय गृहमन्त्रालय मातहतका कार्यालयमा रहेर सेवा गरेका छन् ।
हालसम्म जाजरकोट, दाङ, सुर्खेत, काठमाडौँ, प्यूठान जिल्लामा रहेर सेवा गरिसकेका उनी नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताउँछन् । ‘हामी जनताका सेवक हौँ, राष्ट्रका नोकर हौँ’ उनी भन्छन्, ‘नागरिकमैत्री सेवा प्रवाह गर्नु नै हाम्रो मुख्य दायित्व हो ।
सेवाग्राहीलाई खुशी भएमात्रै आनन्द र सन्तुष्टि मिल्ने उनको भनाइ छ । ‘म जुन कार्यालयमा गए, त्यहाँ नागरिकमैत्री सेवा प्रवाह गर्ने प्रयास गरे’ उनी भन्छन्, ‘नागरिकलाई खुशी बनाएर सेवा गर्न पाएमात्रै पेशाप्रति गर्व लाग्छ ।’ जागिरबाट बचेको समय उनी गीत संगितलाई दिन्छन् । ‘भैगो सानु नरोउ तिमी’ आधुनिक गीत यसअघि नै बजारमा ल्याइसकेका छन् । आगामी दिनमा संगितको यात्रालाई निरन्तरता दिने उनको योजना छ ।
संकटकालका ति दिन…
२०५७÷५८ तिर तत्कालीन माओवादी विद्रोह उत्कर्षमा पुगेको थियो । जाजरकोट, रुकुम र सल्यान लगायतका पहाडी जिल्लाहरु माओवादीका आधार इलाका थिए । यज्ञको जागिरको सुरुवात जाजरकोटबाट सुरु भयो । जिल्लामा रहँदा कुनै अप्ठेरो त थिएन । तर संकटकालकामा उनले केही धेरै दुःखहरु भोगे ।
अहिलेको जस्तो सञ्चार सुविधा थिएन । भिसीआर टेलिफोनबाट कहिलेकाँही सुर्खेतका साथीहरुसरुँग कुराकानी हुन्थ्यो । एकदिन जाजरकोटमै रहेको बेला साथीले क्याम्पस माइक्रो टिचिङ (शिक्षण अभ्यास) भइरहेको जानकारी दिए । ऊबेला माओवादीले जाजरकोटमा गाडी बन्द गरेका थिए ।
तर प्राक्टिकल भेटाउन भोलिपल्ट जसरी पनि सुर्खेत आइपुग्नुपर्ने बाध्यता थिए । क्याम्पसको प्राक्टिकल भेटाउन जाजरकोट, सल्यान हुँदै रातारात सुर्खेत आइपुगे । रातभरी हिँडेपछि आधा बाटोमा गाडी भेटाए ।
२०६२ सालमा पनि माओवादी संकटकालकै कारण उनले अर्काे दुःख झेल्नुप¥यो । नायव सुब्बाको लिखित परीक्षामा उत्तिर्ण भएका थिए । दाङबाट प्राक्टिकल र मौखिक परीक्षाको लागि सुर्खेत आउनुपर्ने थियो । तर त्यतिबेला नै माओवादीले नेपाल बन्द गरेको थियो । सवारी साधन नचलेपछि उनलाई साइकलमै सुर्खेत आउनु परेको थियो । संकट र संघर्षपूर्ण समय पार गरेका उनी मेहनत गरे हरेक क्षेत्रमा सम्भावना देख्छन् ।






