डोजर चलाएर बस्ती नहटाउन बर्दियाका भूमिहीन सुकुम्बासीको चेतावनी

बर्दिया, ३१ बैशाख ।
बर्दियाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आफूहरू बसोबास गर्दै आएको बस्तीमा डोजर चलाएर घर टहरा नभत्काउन सरकारसँग आग्रह गरेका छन् । जबरजस्ती रूपमा बस्ती हटाउने प्रयास भए सशक्त प्रतिकारमा उत्रिने चेतावनी उनीहरूले दिएका छन् ।
बर्दियाको गुलरियामा संयुक्त भूमि अधिकार संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै भूमिहीन सुकुम्बासीहरूको वास्तविक अवस्था बुझेर उचित छानबिनपछि मात्रै निर्णय लिन सरकारसँग माग गरेको हो ।
संघर्ष समितिका सल्लाहकार बलबहादुर परियारले पुस्तौँदेखि बसोबास गर्दै आएका नागरिकलाई एक्कासी अतिक्रमणकारी घोषणा गरेर विस्थापित गर्न खोजिनु अन्यायपूर्ण भएको बताए । उनले राज्यले नागरिकको बासस्थानको अधिकार सुनिश्चित गर्नुपर्नेमा उल्टै त्रास सिर्जना गरिएको आरोप लगाए ।
संघर्ष समितिका सदस्य भक्तबहादुर परियारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि व्यवहारिक नीति आवश्यक रहेको बताए । उनले वास्तविक सुकुम्बासीको पहिचान गरी सुरक्षित बसोबासको ग्यारेन्टी गर्नुपर्ने माग गरे ।
त्यसैबीच, डिभिजन वन कार्यालय बर्दियाले केही बस्तीको नाम नै तोकेर वैशाख १४ गते १५ दिने सूचना जारी गर्दै बस्ती खाली गर्न निर्देशन दिएको थियो । वर्षायाम सुरु हुन लागेको अवस्थामा घरबारविहीन बनाउने कार्य अमानवीय हुने भन्दै संघर्ष समितिले तत्काल उक्त निर्णय रोक्न आग्रह गरेको छ ।
संघर्ष समितिका सदस्य पूर्णबहादुर महतराले वर्षाको मुखमा गरीब तथा भूमिहीन परिवारलाई विस्थापित गर्न खोजिनु दुःखद भएको बताए । उनले वैकल्पिक व्यवस्थाविना बस्ती हटाउन खोजिए त्यसको कडा विरोध हुने चेतावनी दिए ।
भूमिहीन समुदायले आफूहरू दशकौँदेखि बसोबास गर्दै आएको ठाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युतजस्ता आधारभूत सेवा उपयोग गर्दै आएको उल्लेख गर्दै राज्यले नागरिकको जीवन र सम्मानको रक्षा गर्नुपर्ने बताएका छन् । उनीहरूले वन संरक्षण र नागरिकको बसोबास अधिकारबीच सन्तुलित समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।
भूमि आयोगको तथ्याङ्कअनुसार बर्दिया जिल्लामा २०८१ साल फागुनसम्म भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी कुल ४५ हजार ३९५ परिवार रहेका छन् । तीमध्ये धेरै परिवार अझै लालपुर्जा र स्थायी बसोबासको अधिकारबाट वञ्चित रहेका छन् । संघर्ष समितिले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी दीर्घकालीन व्यवस्थापन, सुरक्षित आवास र कानुनी स्वामित्वको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ ।
डोजर चलाएर बस्ती नहटाउन बर्दियाका भूमिहीन सुकुम्बासीको चेतावनी

एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण

डोजर चलाएर बस्ती नहटाउन बर्दियाका भूमिहीन सुकुम्बासीको चेतावनी

आलेख घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर

Leave a comment

Your email address will not be published. Required fields are marked *