‘निजगढ सिटीकप’ मार्शल आर्टस् फेस्टिबलमा बागमती प्रदेश टिम बिजयी

काठमाडौं । बाराको निजगढ —२ सिंगौलमा असार २९ देखि ३१ सम्म आयोजित “निजगढ सिटीकप” मार्शल आर्टस् फेस्टिबलमा बागमती प्रदेश टिम विजेता बनेको छ ।
मार्शल आर्टस् फेस्टिबल अन्तर्गत पुरुष खुल्ला आइटिएफ तेक्वान्दोमा बागमती प्रदेशका निराजन दिम्बम र महिला खुल्ला फुल कन्ट्याक्ट कराँतेमा तारा घलानले स्वर्ण जितेर जनही नगद ५० हजार हात पारेका छन् ।
त्यस्तै, आइटिएफ तेक्वान्दोतर्फ प्रदेश नं. १ का मिशन तामाङले रजत पदक हात पार्दै २५ हजार नगद जितेका छन् भने प्रदेश १ का आशिष श्रेष्ठले कास्य पदक जिती नगद १० हजार नगद हात पारेका छन् ।
फुल कन्ट्याक्ट कराँतेतर्फ २ नम्बर प्रदेशकी निसिदा आलेले रजत पदक जिति नगद २५ हजार पाउन सफल भइन् भने २ नम्बर प्रदेशकै स्नेहा महतो र बागमती प्रदेशकी सोनु तामाङले कास्य जिती नगद १० हजार पाउन सफल भए
प्रतियोगितामा ७ प्रदेश र आयोजकबाट खेलाडी, कोच, टिम मेनेजर, रेफ्री र जुरी गरी १३२ जना सहभागिता रहेको नेपाल तेक्वान्दो महासंघका अध्यक्ष एवं आयोजक कमिटीका सभापति दिनेश शर्माले जानकारी दिए ।
त्यस्तै, विशेष मनोरञ्जन विधामा समावेश गरिएको ८०० मिटर बुहारी दौडमा निजगढ २, सिंगौलकी अन्जु घिसिङ प्रथम भई नगद १५ हजार हात पार्न सफल भइन् भने वडा नं. २ कै मिन कुमारी साहीले दोस्रो स्थान हासिल गरी नगद १० हजार जित्न सफल भइन् । तृतीय स्थान निजगढ ३, सिंगौलकै पूर्णिमा थिङले जित्न सफल भई नगद ५ हजार हात पारिन् । दौडमा ३० जनाको सहभागिता थियो ।
नेपाल तेक्वान्दो महासंघको आयोजना, नेपाल राष्ट्रिय मार्शल आर्टस् गेम्स महासंघको तत्व धान र निजगढ नगरपालिकाको सहयोगमा आयोजित उक्त प्रतियोगिता २ नंं प्रदेशकै उच्चस्तरको हो ।






