चौकुनेमा एमालेको पार्टी कार्यालय स्थापना

चौकुने, २ चैत ।
चौकुने गाउँपालिकाको गुटुमा नेकपा एमालेको पार्टी कार्यालय स्थापना गरिएको छ । आइतबार गुटुमा अगुवा कार्यकर्ता भेला गरि पार्टी कार्यालय स्थापना गरिएको हो । सर्वोच्च अदालतको फैसला पछि जिल्ला पार्टी कार्यालय संचालनमा ल्याएको नेकपा एमाले सुर्खेतले अब स्थानीय तहका कमिटीहरुलाई पनि सक्रिय बनाउन थालेको छ ।
सर्वोच्चको फैसला पछि नेकपा एमाले २०७५ जेठ २ मा फर्किएकोले अब पार्टीका हरेक सांगठनिक गतिविधिहरु अगाडि बढाउने तयारी गरिरहेको नेकपा एमाले सुर्खेतका सचिव मोहनसिंह बडुवालले बताउनु भयो । नाफामा आएको जिन्दगी र नाफामा प्राप्त भएको पार्टीलाई एकताबद्द बनाएर लैजाने उहाँको भनाई थियो ।
आजभन्दा तीन वर्ष अगाडि एकताको नाममा हामीले हाम्रो पार्टीको नाम भुल्यौं, नेकपाको नाम बाट पार्टी चलायौं तथा हाम्रो एकता कानुन सम्मत नभएको र एकताको विधि गलत भएकोले हामी पुरानै अवस्थामा फर्किएकोले नेकपा एमाले नाफाको रुपमा पाएको उहाँको तर्क थियो ।
नेकपा एमालेलाई विभाजन गर्ने ठुलो षड्यन्त्र भैइरहेकोले सुर्खेतमा नेकपा एमालेलाई विभाजन हुन नदिने समेत जिकिर गरे । हामी सबैलाई मिलाएर अघि बढ्छौं, आ– आफ्ना कमि–कमजोरी सच्याउदै पार्टीलाई आगामी दिनहरुमा अझै एक ढिक्का बनाउने सचिव बडुवालको धारणा थियो । कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले कम्युनिस्ट पार्टीहरुको विभाजनले विकास निर्माणमा असर पर्ने बताए ।
पार्टीको प्रत्येक पंक्तिलाई अब उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । जिल्लामा के हुन्छ, केन्द्रमा के हुन्छ त्यसका पछाडि नलागी हामिले चौकुनेमा पार्टीलाई कसरि एक ढिक्का बनाउन सकिन्छ, त्यस अभियानमा लाग्न सबैलाई आग्रह गर्नु भयो । नेकपा एमालेले अब तत्काल दुई वटा काम, उत्पादन र प्रशिक्षणमा जोड दिनु पर्ने उहाँको सुझाव रहेको थियो । अगुवा कार्यकर्ता भेला नेकपा एमाले चौकुनेका अध्यक्ष हरि प्रसाद अधिकारिको अध्यक्षता बसेको थियो ।







