खनाल–नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं, १ चैत्र।
नेकपा एमालेको खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ । अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा गरेको बैठकबारे केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई जानकारी नगराएको र बहुमत सदस्यसमेत उपस्थित नभएकाले अवैध भएको यो समूहको 
दाबी छ । उपाध्यक्ष भीम रावलले भने, ‘केपी शर्मा ओलीजीले बालुवाटारमा जुन किसिमले कथित बैठक गर्नुभयो र एमालेको विधान, नियमावली र कार्यशैली विपरित जसरी काम गर्नुभयो । त्यो आपत्तिजनक छ, अवैध छ ।’ सर्वोच्च अदालतको फैसलाविपरित माओवादी केन्द्रमा रहेका नेताहरुलाई एमाले केन्द्रीय सदस्य मनोनित गरें भन्नु हास्यापद भएको उनले बताए । केन्द्रीय सदस्यमा थप सदस्य मनोनित गर्ने अधिकार नै नभएको खनाल–नेपाल समूहको दाबी छ । बैठकले चैत ४ र ५ गते
राष्ट्रिय कार्यकर्ता भेला समेत बोलाएको छ । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखका साथै पार्टी कमिटीका पदाधिकारीलाई बोलाइएको छ ।
तोकिए प्रदेश इन्चार्ज
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाका लागि इन्चार्ज चयन गरेको छ । पूर्वप्रधानमन्त्रीद्वय खनाल–नेपाल निकट केन्द्रीय सदस्यहरूको शनिबार बसेको बैठकले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो । यस्तै, रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । ‘यो स्थायी इन्चार्जको जिम्मेवारी भने होइन’ एमालेका एक नेता भन्छन्, ‘चैत ४ र ५ गतेको अभियानका लागि मात्रै हो ।’
माओवादीले मन्त्री फिर्ता बोलायो
नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । चैत २ गतेका लागि राखिएको राष्ट्रियभेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ ।






