दुई स्थानमा मोबाइल अस्पताल

सुर्खेत, १ चैत्र
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका मुख्य दुई स्थानमा मोबाइल अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । निर्देशनालयले कर्णाली राजमार्ग र छिञ्चु–जाजरकोट डोल्पा सडकखण्डमा मोबाइल अस्पताल सञ्चालन गर्न लागेको हो । एउटा गाडीमा एक्सरे, ल्याब, औषधी लगायतका सामग्री हुनेछन् भने एक जना डाक्टरको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली हुनेछ । जुन राजमार्गमा निरन्तर ओहोर दोहोर गरिरहनेछ । यसैलाई मोबाइल अस्पताल भनिएको छ । मोबाइल 
अस्पतालमा एक जना डाक्टर एक जना नर्स र एक जना सहयोगीको टिम रहने बताइएको छ । ‘सडक दुर्घटनाका घाइते, राजमार्ग आसपासका बस्ती र स्वास्थ्य संस्थाहरूबाट रिफर गरिएका विरामीको ज्यान जोगाउनका लागि मोबाइल अस्पताल उपयोगी हुने देखिन्छ,’ प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले भने । मोबाइल अस्पतालको लागि चालु आर्थिक बर्षमा कर्णालको सामाजिक विकास मन्त्रालयले १ करोड ५० लाख बजेट समेत विनियोजन गरिएको छ ।
अहिले गाडी खरिदका लागि बोलपत्र आह्वान गर्ने तयारीमा रहेको निर्देशक खड्काले जनाए । ‘उक्त, बजेटबाट दुई वटा ट्रक खरिदगरी त्यसमा अस्पतालको सेटिङ गरिने छ,’ उनले भने, ‘मोबाइल अस्पतालका लागि इन्जिनियरलाई डिजाइन तयार गर्न लगाइसकिएको छ ।’ एउटा ठूलो ट्रकमा चार वटा कोठा हुने र त्यसभित्रै ल्याब, विरामी जाँच्ने बेड, शौचालय रहनेछन् । दुई वटा मोबाइल अस्पताल मध्य एउटा कर्णाली प्रदेश अस्पताल र अर्काे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट सञ्चालन
गर्ने निर्देशनालयको योजना छ । कर्णाली राजमार्ग र छिञ्चु जाजरकोट डोल्पा सडकमा दुई वटा छुट्टा छ्ट्टै मोबाइल अस्पताल सञ्चालन गरिने छ । भौगोलिक विकटताका कारण कर्णालीमा स्वास्थ्य संस्था टाढा–टाढा छन् । दुर्घटनामा परेर भन्दा समयमै उपचार नपाएर ज्यान गुमाउने अवस्था छ । टाढाका अस्पताल पु¥;याउनजेल सामान्य उपचार नपाएर बिरामीको ज्यानै जाने गरेको छ । त्यसैलाई मध्यनजर गरी मोबाइल अस्पतालबाट तत्कालै सेवा दिने योजना निर्देशनालयको रहेको छ ।






