चार खेलाडीलाई कारवाही गर्ने तयारी


नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी अनुशासन छानविन समितिले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारवाही गर्नुपर्ने आशयसहितको प्रतिवेदन बोर्डमा पठाउने भएको छ ।
कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा गठिन पाँच सदस्यीय समितिले कप्तान मल्लसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारवाही गर्नुपर्ने आशय प्रतिवदेनमा उल्लेख गरेको छ ।
खेलाडीहरुले केन्द्रिय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट)को विषयमा क्यानसँगको सम्झौता विपरित सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै उक्त समितिले चारै जना खेलाडीहरुसँग स्पष्टीकरण माग गरेको थियो । ‘तर खेलाडीहरुले उल्टै क्यानसँग ११ बुँदे माग अघि सार्दै क्यानलाई अव्यवहारिक रुपले चेतावनीसहितको जवाफ फर्काएका थिए ।
उनीहरुले सञ्चारमाध्यमा दिएको अभिव्यक्तिप्रति कुनै आत्मग्लानी नरहेको भाव अनुसारको जवाफ क्यानमा फर्काएका थिए,’ क्यान स्रोतले भन्यो ।






