चिसोमा गस्ती गर्दै सशस्त्र प्रहरी


जुम्ला : नेपाल र चीनको सिमाना हिल्साको तापक्रम माइनस १७ डिग्री सेल्सियममा झरेको छ । पछिल्लो हिमपातसँगै यहाँ चिसो बढ्ने क्रम जारी छ । तापक्रम माइनसमा निरन्तर झरेपछि खानेपानीका पाइपलाइन तथा धारामा बरफ जम्न थालेको छ । जनजीवन कष्टकर बन्दै गए पनि सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी भने नियमित गस्तीमा परिचालन भइरहेको छ ।
चौकीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक पूर्णबहादुर चन्दले तापक्रम माइनसमा झरेर चिसो अत्यधिक बढे पनि नियमित गस्ती नरोकिएको जानकारी दिए । उनका अनुसार हिल्सामा तेस्रो पटकको हिमपातपछि तापक्रम माइनसमा झरेको हो । हिल्सामा सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरीका सुरक्षाकर्मीसँगै स्थानीय ६ जनामात्रै बस्दै आएका छन् । स्थानीय आफ्ना होटेल कुर्नुपर्ने बाध्यताले हिल्सामै बसेका हुन् । स्थानीय घरभित्रै दाउरा बालेर बस्ने गरेका बेला सशस्त्र प्रहरी भने नियमित गस्तीमा निस्कने गरेका हुन् ।
‘चिसोले कर्णाली नदीको पानीसमेत बरफ बनेको छ’, सशस्त्र प्रहरी निरीक्षक चन्दले भने, ‘चिसो बढे पनि हामीले आफ्नो गस्ती जारी राखेका छौं ।’ उनका अनुसार अत्यधिक चिसोले खानेपानीको धारा एवं पाइपमा पानी जम्ने गरेको छ । ‘तातोपानी नखन्याइकन खानेपानी पाइँदैन’, चन्दले भने, ‘यो कार्य त अहिले दैनिकी नै बनेको छ ।’ यसअघि हिल्साको तापक्रम माइनस १२ डिग्री सेल्सियस थियो । शनिबार बिहान बढेर माइनस १७ पुगेको हो । हिल्सा कर्णाली नदीको खोँचमा भएको कारण १० बजेपछिमात्र घाम लाग्ने गर्छ ।
त्यस्तै दिउँसो २ बजे नै घाम अस्ताउने हुँदा चिसो बढ्ने गर्छ । चिसो बढेसँगै सुरक्षाकर्मी र स्थानीय घरभित्रै दाउरा बालेर बस्न बाध्य भएका छन् । चिसोले पकाएका खानेकुरासमेत केही बेरमै भाँडोमा जम्ने गरेको स्थानीय बताउँछन् । हुम्लाको नाम्खा गाउँपालिकाभरि तापक्रम माइनसमा झरेको छ ।
सदरमुकाम सिमकोटमा पनि शनिबार बिहान तापक्रम माइनस सात डिग्रीमा झरेको छ । हिमपातले जताततै बरफ जम्न थालेको छ । उत्तरी हुम्लामा फागुन महिनासम्म तापक्रम माइनसमा रहने गरेको छ । यहाँको तापक्रम माइनस २२ डिग्रीसम्म पुगेको रेकर्ड छ ।






