गुराँसमा अल्पसंख्यकलाई भत्ता

दैलेख । गुराँस गाउँपालिकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई मासिक भत्ता दिने भएको छ । आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा पछाडी परेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए ।
गाउँपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई जोड दिँदै यस्तो नीति अघि सारेको हो । ‘गाउँपालिकाले गाउँपालिकाभित्र खुल्नुभएका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको संरक्षण र सामाजिक सुरक्षाका लागि मासिक भत्ता उपलब्ध गराउँनेछ,’ अध्यक्ष वलीले भने ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचानलाई अझैँ पनि घरपरिवार र समाजले स्वीकार्न सकिरहेका छैनन् । फरक यौनिकता र लैङ्गिक पहिचान भएकै आधारमा यो समुदायमाथी परिवारदेखिनै भेदभाव कायमै छ । यो समुदाय राज्यसँग मौलिक हक, नागरिकता, शिक्षा, स्वास्थ्य रोजगारीमा समान अधिकारको लडिरहेको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले सरकारको नजरमा आफुहरु नपरेको गुनासो गर्दै आएका छन् ।
यस्तै गाउँपालिकाले गरिब, जेहेन्दार, आदीबासी जनजाती, द्धन्द्धपीडित र अपाङ्ग विद्यार्थीहरुलाई विद्यालय शिक्षा र उच्च शिक्षा तथा प्राविधिक शिक्षाका लागि छात्रबृति उपलब्ध गराउने नीति ल्याएको छ । गाउँपालिकामा प्राज्ञिक क्षेत्रको विकासका लागि विद्याबारिधी, ईन्जिनियर, पाइलट, एमफिल अध्ययन गर्ने विद्यार्थीलाई एकलाख छात्रबृति उपलब्धत्र गराउने भएको छ ।
यस्तै मेडिकल साइन्समा एमविविएस डाक्टर अध्ययन गर्ने विद्यार्थीलाई सम्बन्धी विश्वविद्यालयको भर्ना गरिएको अभिलेखका आधारमा १० लाख रुपैयाँ छात्रबृति उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले छोरा र छोरीबिचको विभेद निरुत्साहित गर्न ‘मेरो छोरी जीवन भरी’ भन्ने नारा सहित एक वा दुई छोरीमा परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने भएको छ ।






