विश्वविद्यालयको साख जोगाऔं

मध्यपश्चिम विश्वविद्यालय कर्णालीको शैक्षिक धरोहर नै हो । उच्च शिक्षाको केन्द्र यो विश्वविद्यालयको आफ्नै इतिहास छ । उच्च शिक्षाका लागि कर्णाली बाहिर अर्थात संघीय राजधानी काठमाडौं जानुपर्ने बाध्यतालाई यो विश्वविद्यालयले रोकिदिएको छ ।
रोग, भोक र अभावले थलिएको कर्णालीका लागि शिक्षामा गुणस्तर सुधार गर्नका लागि यहाँका नागरिकले आफ्नै बलबुतामा यो विश्वविद्यालय स्थापना गरे । तत्कालिन राज्य सत्ता कर्णालीमा विश्वविद्यालय स्थापना गर्न तयार नै थिएन । तर कर्णालीले ठूलो संघर्ष नै गर्नु परेको थियो । कर्णालीबासीको लामो संघर्ष, सडक आन्दालन र त्यागका कारण यो विश्वविद्यालय स्थापना भएको हो ।
आँगनमै उच्च शिक्षा पाउने सपना पूरा गर्न यहाँका बासिन्दाले महायज्ञ संचालन गरे । आफ्नो छाक काटेर विश्वविद्यालयलाई आर्थिक सहयोग गरे । हुनेले पैसा दिए, कतिपयले जग्गा नै दिए । स्थानीयको साहस र तीव्र इच्छाशक्तिका कारण अन्नतः तत्कालिन सरकार सुर्खेतमा यो विश्वविद्यालय स्थापना गर्न तयार भयो । विश्वविद्यालय स्थापना भएसँगै कर्णाली सुहाउँदो शिक्षा प्रदान गर्ने अपेक्षा अहिले पनि छन् ।
तर स्थापना भएयता विश्वविद्यालयभित्र भइरहेका क्रियाकलापले भने राम्रो सन्देश दिएका छैनन् । अर्थात व्यक्तिगत स्वार्थ र समूहको स्वार्थमा यो विश्वविद्यालयमाथि निरन्तर प्रहार भइरहेको छ । अझ भनौं विश्वविद्यालयको साख जोगाउन हम्मेहम्मे हुन थालेको छ । कहिले विश्वविद्यालयकै पदाधिकारीको गलत हर्कत, कहिले विद्यार्थी र कर्मचारीको हड्तालका कारण विश्वविद्यालय नै बद्नाम भइरहेको छ ।
उच्च शिक्षामा गुणस्तर कायम गर्नुपर्ने विश्वविद्यालय नेतृत्व आफ्नै स्वार्थमा रमल्लिएको छ । विद्यार्थी तथा शिक्षकका संगठनहरु आफ्ना स्वार्थ पूरा गराउन केन्द्रीत छन् । यस्ता अवस्थामा विश्वविद्यालयको शैक्षिक प्रणाली नै कमजोर बन्दै गइरहेको छ । यतिसम्म की पछिल्ला दिनमा परीक्षा नै नलिएर विद्यार्थीलाई पास गराउने, परीक्षा अगाडि नै प्रश्नपत्र बाहिर ल्याउने, प्राक्टीकलमा आफूखुशी नम्मर दिने र विश्वविद्यालयको मर्यादा खस्काउने काम भइरहेका छन् । अर्कोतर्फ सेवा आयोगलाई निस्कृय बनाउने काम भइरहेको छ । आफ्ना मान्छेलाई भर्ति केन्द्र बनाउने काम नभएका होइनन् ।
यस्ता दर्जनौ गलत काम भएका छन् । जसले समग्र कर्णालीको उच्च शिक्षाको अवस्था र विश्वविद्यालयको गरिमामाथि नै प्रश्न उठ्ने काम गरेको छ । यस्तो अवस्थामा पनि यसलाई सही बाटोमा लैजानेतर्फ नेतृत्व खासै गम्भिर बनेको देखिदैन । पदाधिकारीहरु केवल जागिर खाने र जोगाउनेमै व्यस्त छन् । अर्कोतर्फ हिजो जसरी यो विश्वविद्यालय स्थापनामा यहाँको राजनीतिक नेतृत्व सक्रिय र चनाखो थियो, आज मौन बसेका कारण पनि विश्वविद्यालयमा बेथिति बढ्न थालेका हुन् ।
यसतर्फ यहाँको राजनीतिक नेतृत्वले ध्यान दिनै पर्दछ । अर्कोतर्फ विश्वविद्यालयलाई शैक्षिक केन्द्रको रुपमा विकास गरिनुपर्ने हो । तर यो विश्वविद्यालयमा आज आन्दोलन र हड्ताल पर्याबाची जस्तै बनेका छन् । त्यसकारण कर्णालीको शैक्षिक अवस्था सुधार गर्न, यहाँका विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षा दिलाउने र समग्र विश्वविद्यालयको साख जोगाउनेतर्फ सबै गम्भिर बन्नै पर्दछ ।






