पट्रोलियम पदार्थको अन्वेषणले जगाएको आश

सुर्खेत, १९ फागुन ।
दैलेखको पञ्चकोशी क्षेत्रमा जमिनमा निरन्तर ज्वाला बलिरहेको छ । वर्षौंदेखि ज्वाला दन्किरहेको छ । जिल्लाकै प्रशिद्ध धार्मिकस्थल श्रीस्थान, नाभिस्थान, धुलेश्वर र पादुकास्थान क्षेत्रमा पानीमा पनि आगो बल्छ । आखिर जमिनमा यसरी किन निरन्तर ज्वाला बलिरहेको छ त ? धेरैले अहिले पनि यसलाई दैवी शक्तिको कारण भन्छन् । तिर्थस्थल क्षेत्रमा यसरी ज्वाला बलेकाले पनि धेरैलाई यसलाई धार्मिक रुपमा लिने गरेका छन् ।

निरन्तर ज्वाला बलेकाले यस क्षेत्रमा पेट्रोलियम पदार्थ भएको अनुमान गरिएको छ । लामो समयसम्म यसको अनुसन्धान र अन्वेषण नहुँदा स्थानीयले दैवी शक्तिका कारण जमिनमा निरन्तर ज्वाला बलिरहेको विश्वास गर्छन् । तर पछिल्लो समय देशमा नयाँ संविधान जारी भयो । त्यसैको विरोधमा भारतले नाकाबन्दी गर्दा देशभित्र पेट्रोलियम पदार्थको अभाव भयो । त्यही अभावले देशभित्रै सम्भावित पेट्रोलियम पदार्थको खोजी गर्न थालियो । अनि सुरु भयो दैलेखमा पनि पेट्रोलियम पदार्थको उत्खनन्का लागि अन्वेषणको काम ।

पञ्चकोशी तीर्थस्थल मध्ये अहिले श्रीस्थान र नाभिस्थानमा अखण्ड रुपमा ज्वाला बलिरहेको छ । तर केही दशक अघिसम्म पादुकामा समेत यसैगरी ज्वाला बल्दथ्यो । श्रीस्थानमा जमिन मुनिबाट निस्किएको अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ । त्यो करिब तीन सय वर्षदेखि बलिरहेको स्थानीय बताउँछन् । तर सरकारी अध्ययनले यसरी निरन्तर जमिनमा ज्वाला बल्नुको पछाडि कुनै दैवी चमत्कार नभएर जमिनमुनी अथाह प्राकृतिक ग्यास रहेको पुष्टि भएको छ ।

यद्यपी कति मात्रामा छ भन्नेबारेमा अन्वेषणको काम भइरहेको छ । नाभिस्थान क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ । भारतीय नाकाबन्दीले नै यहाँ पेट्रोलियम पदार्थको उत्खनन्का लागि अन्वेषणको काम गर्ने साइत जुरायो । २०७२ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ टोली दैलेख आइपुग्यो ।

पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न दैलेख आएको मन्त्री पाण्डेसहितको टोलीले दैलेखमा पेट्रोलियम पदार्थको भण्डार रहेको र यहाँ ग्यास उत्खनन् कार्यको सुरुवात गर्ने उद्घोष गरेको थियो । त्यसबेला अनुसन्धान गरी चीन फर्केको टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेपछि दैलेखमा ग्यास उत्खनन् गर्न चीन सरकारसँग सम्झौता गरेसँगै हाल अन्वेषणको काम पनि अगाडि बढेको हो ।

२०७६ असार १६ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका तत्कालिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव नेतृत्वको टोलीले दैलेखको नाविस्थान आएर अन्नवेषणको औपचारिक उद्घाटन गरेको थियो । त्यसपछि खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेको विज्ञ टोलीले झण्डै दुई साता अनुसन्धान गरी फर्कियो । टोलीले पञ्चकोशी क्षेत्रमा बगिरहेको पेट्रोलियम पदार्थ, ग्यासको उत्खनन् र सम्भावनाबारे स्थलगत अध्ययन गरेको थियो ।

प्राविधिक टोलीले अध्ययन गरेर यहाँ खाना पकाउने ग्यास रहेको पुष्टि गरेको छ । हाल नेपाल सरकारसँगको सम्झौताअनुसार चीन सरकारको प्राविधिक टोलीले पहिलो चरण अन्तर्गतको साइस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ सर्भेगरी अन्वेषणका चारवटा सर्भेको काम सम्पन भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

जिल्लाको दुल्लु नगरपालिका, भैरबी गाउँपालिका, महाबु गाउँपालिका, नारायण नगरपालिकाका विभिन्न क्षेत्रमा केन्द्रित भई विभिन्न सर्भे गरिएको छ । त्यसबाहेक चामुण्डाविन्द्रासैनी नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, नौमूले गाउँपालिका, भगवतीमाई गाउँपालिकाका केही भूभाग तथा कालिकोट, जाजरकोट र अछामको छेउछाउसम्म पुगेर सर्भेको काम गरिएको थियो ।

आर्थिक समृद्धिको आधार
दैलेखमा खेर गइरहेको पेट्रोलियम पदार्थको उत्खनन्को काम सम्पन्न भएमा यहाँको आर्थिक समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको छ । देशभित्रै ग्यास उत्खनन् भएमा अन्य देशसँगको परनिर्भरता अन्त्य हुने रु मुलुकको आर्थिक समृद्धिको मुख्य आधार बन्ने स्थानीय बताउँछन् । पेट्रोलियम पदार्थमा आत्मनिर्भर हुनका लागि पनि कामलाई गति दिन सर्वसाधारणको आग्रह छ ।

साथै ग्यास उत्खनन्सँगै यस क्षेत्रको ऐतिहासिक एवं पुरातात्विक बस्तुको संरक्षण र सम्वद्र्धन गरिनुपर्ने स्थानीयको माग छ । अन्वेषणको क्रममा ज्वाला जोगाउनुपर्ने श्रीस्थान व्यवस्थापन समितिका केशव थापा बताउँछन् । श्रीस्थान, नाविस्थान, धुलेश्वर, पादुका क्षेत्रको धार्मीक आस्था, ऐतिहासिक संस्कृति र सम्पदालाई जोगाउँदै पेट्रोलियम पदार्थको उत्खनन् हुनुपर्ने उनको भनाइ छ ।

विघठित प्रतिनीधिसभा सदस्य रविन्द्रराज शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको विकास र समृद्धिको लक्ष्य पुरा गर्न दैलेखको पेट्रोलियम पदार्थको उत्खनन् कार्य कोशेढुंगा सावित हुने बताउँछन् । यस्तै दैलेखको नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले राज्यले गर्न थालेको कार्यको प्रशंसा गदै यसलाई सार्थक तुल्याउनुपर्ने बताउँछन् ।

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले पञ्चकोशी क्षेत्रको धार्मिक मूल्य र मान्यतालाई कायमै राखेर परिणाममुखी काम हुनुपर्ने बताउँछन् । धार्मिक दृष्टिकोणले समेत पंचकोशी क्षेत्रको रूपमा परिचय बनाउन सफल यो क्षेत्रमा पछिल्ला दिनहरूमा पर्यटकको पनि उलेख्य उपस्थिति हुँदै आएको छ । मुगुको राराताल घुमेर आउने अधिकांश पर्यटक दैलेखको पंचकोशी क्षेत्र पुगेर फर्कने गरेका छन् । यसकारण पनि यहाँको ग्यास उत्खनन् कार्यले पूर्णता पाएमा पर्यटन विकास र अर्थतन्त्रको विकासमा काँचुली नै फेरिने आश जगाएको छ ।

चाँडै कामले गति लिने
हाल पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्को काममा भने सुस्ताता आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननको काम केही महिनादेखि अगाडी बढ्न सकेको छैन । २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गतको पहिलो चरणको काम सकिएको छ ।

बाँकी काम कोरोना महामारीले गर्दा रोकिएको हो । तर पनि स्थानीय बासिन्दाहरु चाँडै आवश्यक अध्ययन गरेर ग्यास उत्खनन् हुनेमा आशावादी छन् । पेट्रोलियम अन्वेषणका लागि ‘नेपाल–चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’ का लागि २०१८ फेब्रुअरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भे विच सम्झौता भएको थियो ।

दैलेखमा सञ्चालन भईरहेको विस्तृत पेट्रोलियम अन्वेषण कार्य प्रधानमन्त्री केपी शर्मा ओलीको सन २०१६ मा चीन भ्रमणको क्रममा नेपाल सरकार र चीन सरकार बीच भएको द्धिपक्षीय सहमतीको मुर्त रुप हो । खानी तथा भूगर्भ विभागले कोरोनाका कारण केही समय रोकिएको बाँकी कामले पनि अब चाँडै गति लिने जनाएको छ ।

पट्रोलियम पदार्थको अन्वेषणले जगाएको आश

पोजिसन लिनलाई ठामै छैन सर

सम्पादकीय : द्वन्द्वपीडितको उपचार गर

Leave a comment

Your email address will not be published. Required fields are marked *