घुँयत्राे : यो स्टाफ भन्ने शब्दले पनि हाम्रो नेपालाँ खुब काम गर्छ

यो स्टाफ भन्ने शब्दले पनि हाम्रो नेपालाँ खुब काम गर्छ । कहीँ यात्राँ हिन्याृकी बाटाँ चेकिङा पर्याे भने सट्ट म त स्टाफ भनेर मुक्ति ल्या देखिन्छ । अर्काेतिर यात्रामै होटलाँ दारु खान बसकी भात खान बस । स्टाफ भनेसी सके पुरै छुट, नभए आधा छुट त कतै नजा ।
अनि जाँ “स्टाफ“ लेख्या होटेल छ, त्याँ बसका डाईभरहरु बस लएर ठिङ्ग उभ्याउँ छन् । यात्रुका लागि खाना होस् या नहोस् मतलव छैन । त्यही भएर आफ्नो होटल ब्यवसाय चलाउन नी होटेलको नाममा “ स्टाफ“ जोड्ने चलन छ ।
यो जोडेसी व्यापार हुन्छ भन्ने नै मनसाय होला सायद । यस्तै वीरेन्द्रनगरको जुम्लारोडाँ रहेको को एउटा होटेल जसको नाम नी स्टाफ होटेल नै रैछ । होटलकै मालिकले नी स्टाफ होटलकै नामबाट पैसा कमाउने सोच बनाईछन् ।
स्टाफलाई खाना ख्वाएर मात्रै पैसा नकमाउने देखेर त होला । पुलिस, सेना र गाडीवाला मात्रै स्टाफमा गनिने गर्याबेलाँ जुवा खेल्ने जुवाडेलाई नी स्टाफ बनाउँदा मेसो बिग्रेछ कि क्या ? गोडा २÷४ दिन अगाडि मात्रै होटेलकी साउनीसहित अरु सात जना जुवाडे नी पुलिस (स्टाफ) कै फेला परेसी खैलाबैला मच्चिया छ भन्छन् ।
दुई लाख १४ हजार नगर र १३ वटा खाली चेकसहित पक्राउ पर्या जुवाडेहरुसँगको नगद बखत हेर्दा कोरोनाले मान्छे खान नपाएर छटपट्टिया छन् । तर यिनीहरु चाँही टन्नै रकम लेर जुवा खालाँ बस्या देख्दा कोरोनाका नामाँ नी राम्रै कमाइ गर्या मान्छे हुन् कि भन्याझैँ लाग्ने । अहिले फेरि सुर्खेताँ पुलिसका नयाँ हाकिम आछन् कि क्या । त्यै भएर कमाईका दुईटा बाटा जुवा र घरेलुरक्सी समाउनमा खुब बल गरेका छन् ।
विचरा पुलिसको सुर्खेताँ खासै कमाइ छैन । एउटा हरेक शनिबार गोठीकाँडातिरबाट घुमेर आउनेलाई जंगल जंगलका सडकाँ घाट कुरेर लाइसेन्स र मापसेका नाममा असुल्ने र अर्काे रक्सि जुवामा छापा मार्ने । यहीबाट जति कमाइ भो भो । ठुल्ठुला ज्यानमारा केस ह्याँ हुन्नन् । उद्योग धन्दा छैनन् । सरुवा भएर आएसी बसुन्जेल कति कति कमाम्ला भनेर योजना बनाइरा हुन्छन् । तर के गर्नु ? कमाउने स्रोत नै नभएछि जे छ त्यसैमा सन्तोष गरेर लाग्ने त हो नी ।
३/३ बर्ष एउटै नेता र कार्यकर्ता कुरा सुनेर दिक्क भाका पुलिसले नी नयाँ सरकार आएछि यसो फ्रेस हुन र कमाइ कजाइ गर्न त होला । आजकाल खुब छापा मार्ने काम भैराछ । ठिक्छ गरम ! हाम्रो भन्नु केही छैन । बस लगे रहो मुन्ना भाइ ।
-वेदर्षि






