नारी किन अझै असुरक्षित ?

शोभा खतिवडा । विज्ञानको विकाससँगै नवग्रहको परीक्षण र उपग्रहमा मानव पाइला टेकेको पनि पाँच दशक कटिसक्यो । हामी अधिकांशको सोच भने अझै पनि पाँच दशक अघिकै छ । हामी जस्ता अल्पविकसित केही मुलुकमा नारीको अवस्था सम्झँदा विज्ञानको विकासले मात्र होइन, हाम्रो सोचमा नै परिवर्तन आउनुपर्ने देखिन्छ ।
विज्ञानको विकास गरेका कैयन मुलुकमा पनि कतिपय नारीको अवस्था उस्तै हुनुले सोचमा परिवर्तनको ठूलो खाँचो देखिन्छ । दोस्रो विश्वयुद्धपछि विश्वको नेतृत्व गरिरहेको अमेरिकालेसमेत नारी राष्ट्रपति स्वीकार गर्न सकेको छैन । बल्ल उपराष्ट्रपतिमा नारी कमला ह्यारिस आशीन छिन् ।
नारीको अवस्थाबारे एक्लै घोत्लिने हो भने थाहा हुन्छ, थोरै भाग्यमानी नारीबाहेक सारा नारी यतिबेला कता–कता अलमलमा र चुला–चौकामा नै छन् । शिक्षाको विकास भएको यो समयमा थोरै भाग्यमानी छोरीको भिडमा कतिपय छोरीहरूको अवस्थाले अझै पनि मन खिन्न हुन्छ ।
यतिबेला यस्तै मानवहरूका कारणले हरेक युवा छोरी सुरक्षित महसुस गर्न सकिरहेका छैनन् । कैयन त अलपत्र र डरलाग्दो अवस्थामै छन् । समयको कालखण्डमा हिजो अति सम्मानित र वेद पुराणमा वर्णित नारीकोझैँ सम्मान खै अहिले ? अनि नारी सुरक्षाको कुरा त निकै पर । हाम्रो धर्म–संस्कृतिमा व्याख्या गरिने नारीको सौन्दर्य भनेको उनीमा देखिने शालीनता र विद्वताको भावलाई झल्काउन खोजेका हुन् ।
तर, यतिबेला व्याख्या फरक ढंगले गरेको पाइन्छ । अनि नारीमा आएको भड्किलोपन पनि यसको दोषी छ । विश्व यतिबेला कोभिडको महामारीमा छ । तर पनि मुलुक आफ्नै गतिमा अघि बढेको छ । विज्ञानले यसको नियन्त्रण गरिरहेको छ । तर, नारीको सुरक्षाको विषयमा खै के भन्ने ? यही कोभिड पनि नारीका लागि थप अभिशाप भयो । कोभिडले सबै घरमा थुनिएर रहनुपर्यो । जसले गर्दा पनि महिला हिंसा बढ्यो । नारीहरू स्वतन्त्र रहन सकेनन् । उनीहरू खेलाउनझैँ बन्न पुगेका घटना पनि छन् ।
जसले जतन गर्नुपर्ने र रक्षा, सुरक्षा गर्नुपर्ने उसैबाट यदाकदा असुरक्षाको अति नै निरीहता पनि देखा परिरहेका छन् । समाचारको पन्ना पल्टाउँदा आंग नै जिरिंग हुन्छ । किन परिवारभित्रै दानवता पैदा हुन्छ र कोमल व्यक्तिको चरित्र मात्र लुटिँदैन त्यसमा तलमाथि हुँदा ज्यान नै लिने गरेको समाचार पढिरहेका छौँ ।
मानव क्रुरताको पराकाष्ठा त्यस्ता घटनाले देखाउँछ । त्यो पनि नारी सौन्दर्यको कारण हो त ? प्रश्न उठ्ने गरेको छ । असल पुरुषको भिडमा पाशविक पुरुष किन ? अनि जो जन्मले दिदी, बहिनी, छोरी पत्नी हुन् ती कति पुजित छन् त हरेक दाजु, भाइ, बाबु, काका, साथी मित्रका संरक्षणमा र सम्मान, जतन, मायाँ र अधिकार पाउने भाग्यमानी नारीको भिडमा ती अभागी नारी र छोरीको अवस्था अझै कता ? जो पथमै लुटिन्छिन् र लुटिएपछि पाशविक मृत्युवरण गर्छिन् ।
जो काली, सरस्वती र लक्ष्मीसित दाँजिइन्छिन् ती कति पूजित र सम्मानित छिन् त यो समाजमा र हाम्रा असल पुरुष संरक्षकहरूका माझमा ? जो पढेर म्याडम क्युरी, एन्जिला मर्केल, एलेन जोन्सन सर्लिफ, फ्लोरेन्स नाइटेङ्गल, मिसेल ओबामा, हिलारी क्लिन्टन, क्लारा जेटकिन, कल्पना चावला, इन्दिरा हिन्दुजा, रानी लक्ष्मीबाई, मार्गरेट थ्याचर, जसिन्डा आर्डेन, मलाला यन्सुफ, एमिली सिन्डलर, इन्दिरा गान्धी, मदर टेरेसा, गार्गीलगायत थोरै नाम लिन सक्ने व्यक्तिबाहेक अरू कता छन् ?
विश्व जनसंख्या नियाल्ने भने पुरुषभन्दा महिलाको प्रतिशत स्वतः बढी छ । नेपालमा त महिला डेढ प्रतिशतले बढी नै छन् । तर किन सुरक्षित छैनन् त उनीहरू ? त्यो महत्वपूर्ण पाटो हो । जबसम्म हरेक आमाले आफ्ना हरेक छोरा र छोरीलाई नैतिक र चारित्रिक शिक्षा दिँदैनन् तबसम्म ती अभागी निर्मला भगिरथी र मुस्कानहरू झैँ नारीहरू पीडित हुनुपर्ने अवस्था देखिन्छ । यसलाई चिर्न पनि यसमा संलग्नहरूमाथि कारबाही हुन आवश्यक छ ।
खुलेयाम हिँड्न सक्ने अवस्था पनि आउन दिनु हँदैन । नत्र देशले रगत मागे बलिदान हुने छोरा सम्झेर गौरव गर्ने आमाले कानुनबमोजिमको सजाय मेरो छोराको अपराधलाई हेरेर दिनु भन्न किन सक्दैनन् ? ती पाशविक छोराको अपराधमा र यति जघन्य अपराध किन ढाकछोप गर्छन् ? जबसम्म यस्तो गर्न सक्दैनन् आमाहरू तबसम्म नारी यस्तै अपमानित भइरहन्छन् ।
जबसम्म एउटी आमा शिक्षित र ज्ञानी बनेर हरेक आमाले हरेक बालबालिकालाई लालनपालन गर्दा नैतिक र चारित्रिक शिक्षा दिन सक्षम हुन्नन तबसम्म देशमा कुनै पनि प्रकारका क्रुर र अमानवीय घटनाहरू रोकिँदैनन् । जब समाजका हरेक वर्गले नारी र पुरुष समाज–सृष्टिका संरक्षक हुन् भनेर बुझ्दैनन् तबसम्म नारीको विकास, सम्मान र स्वतन्त्रता यसैगरी अपहृत या अलपत्र परिरहन्छ ।
हो, हरेक मानिसलाई आफूमाथि ठूलो विश्वास हुनुपर्छ र आफूमाथि यसरी विश्वास हुनु राम्रो पनि हो । तर पुरुष हुँ यो समाजको भनेर दम्भ र घमण्डका कारण अरूलाई पैतालामा राख्ने छुट कदापि कसैलाई छैन र रहनु हुँदैन । हो हामीलाई साइनोअनुसारको सम्मान दिएर निर्भीक बनेर हिँड्न, डुल्न, पढ्न, लेख्न मन छ । तर हत्केलामा गन्न सकिने थोरै भाग्यमानी नारीबाहेक कसैको पनि जीवन निर्भय, सहज, सरल र सोचेजस्तो छैन ।
महिला आमा हुन्, दिदी–बहिनी हुन्, अनि श्रीमती पनि । आमाको काख, दिदी–बहिनीको स्नेह, श्रीमती साथले पुरुषको जीवनका अवयव अघि बढेको हुन्छ । त्यसैले पुरुष र महिलाबीच अन्योन्याश्रित सम्बन्ध छ, भिन्नता छैन । जैविक भिन्नता अर्थात् शिशुलाई जन्म दिने शारीरिक बनावटमा मात्र फरक छ । त्यही कारणलाई राखेर असमानता र असुरक्षाका रूपमा लिन सकिँदैन । महिलालाई भान्साकी महारानीका रूपमा मात्र हेरिनु हुँदैन ।
जवाफदेहिता धेरै ठाउँमा बाँडिएको छ । महिला सक्रिय हुन खोज्दा अनेकन् लान्छना पनि लाग्छ । अनि निर्णय प्रक्रियामा राखिन्न, रुद्रघण्टी नभएको, पोथी बासेको, नक्कली, उत्ताउली जस्ता शब्दवाण हानिन्छ । हुनत राज्य सञ्चालनमा महिलाको सहभागिता बढाउन कानुनमा स्पष्ट पारिएको छ । संघीय सांसद र प्रदेश सभामा निर्वाचित हुने सदस्यको कम्तीमा एक तिहाइ महिला सदस्य हुनैपर्छ ।
सभामुख, उपसभामुखमध्ये एक महिला, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक महिला हुने तथा प्रदेश सभामा पनि सभामुख र उपसभामुखमध्ये एक महिला प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । गाउँपालिकामा ४ जना, नगरपालिकामा ५ जना, जिल्ला समन्वयमा कम्तीमा ३ जना, गाउँपालिका र नगरपालिकाको प्रत्येक वडाबाट कम्तीमा २ जना महिलाको प्रतिनिधित्व हुने गरी गाउँ सभा र नगर सभा गठित छ ।
एउटै कुरा के भने निर्बाध सुरक्षित र संरक्षित रूपमा छोरीले सम्मिनित र गरिमामय जीवन बाँच्न पाउनुप¥यो र छोरीले पनि आफूले आफूलाई बुझेर बाँच्नु प¥यो । किनकि कतिपय बेलामा छोरी पनि डरलाग्दा रूपमा प्रस्तुत भएका देखिन्छन्, त्यो नहुनु र नियन्त्रित सौम्य र शालीन हुनप¥यो अधिकारको दुरुपयोग नगरी । यसरी समाज नारी र पुरुषका सुन्दर ज्ञानमय सोचले सजिनुप¥यो । (ईकागजबाट)






