सतर्कता अपनाऔं

कर्णालीमा कोरोना संक्रमणको दर पुन बढेको छ । संक्रमणको दर बढे पनि आवश्यक सावधानी भने अपनाइएको छ । यसअघि संक्रमण तीव्र हुँदा निषेधाज्ञामा कडाइ गरिएको थियो । त्यतिबेला संक्रमण र मृत्युदर बढी थियो ।

तर निषेधाज्ञाका कारण मृत्युदर विस्तारै कम भयो । अस्पताल र आइसोलेसनहरु खाली भए । यसैलाई संक्रमण घटेको ठानेर निषेधाज्ञा खुकुलो बनाइयो । बजारमा मानिसहरुको चहलपहल बढ्यो । सार्वजनिक यातायात संचालनमा आए । मानिसहरु पहिलेकै जस्तो गरेर भिडभाड गर्न थाले ।

स्वास्थ्य मापदण्डको पालना नगरेकै कारण कर्णालीमा पुनः संक्रमणको दर बढेको छ । पछिल्लो एक सातामा मात्र प्रदेशमा साढे चारसय भन्दा धेरैमा संक्रमण भएको छ । त्यसमा केही जटिल खालका संक्रमितहरु पनि छन् । अहिले जुन दरमा संक्रमण दर बढेको छ, त्यो अनुसार सावधानी र सतर्कता भने अपनाइएको छैन । यसकारण पनि कुनै पनि बेला यहाँ कोरोनाले महामारीको रुप लिने जोखिम पनि छ ।

एउटा सत्य के हो भने, अहिले संक्रमण कम भएको होइन । मात्र निषेधाज्ञाका कारण संक्रमणको चेन टुटेको मात्र हो । तर सर्वसाधारणहरु संक्रमण नै अन्त्य भए जसरी लापरबाही गरिरहेका छन् । यसले थप जोखिम बढाएको छ । कर्णालीमा सबैभन्दा धेरै संक्रमण प्रदेश राजधानी सुर्खेतमा छ । यहाँ जटिल प्रकारका संक्रमितहरु पनि छन् । जिल्लामा संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी छ । तर त्यो प्रभावकारी भने छैन ।

किनकी स्थानीय प्रशासनले देखावटी रुपमा निषेधाज्ञालाई अगाडि बढाएको छ । बजार खुला छ । यातायात संचालनमा छन् । मानिसहरुको चहलपहल रोकिएको छैन । अझ त्यसमा स्वास्थ्य मापदण्डको पालना नै गरिएको छैन । जमघट र भेलाहरु भइरहेका छन् । निषेधाज्ञा भनिएको छ, तर सभा र जुलुसहरु भइरहेका छन् । यसकारण पनि संक्रमण घट्ने अवस्था छैन । बरु दिनहुँ बढ्दो क्रममा छ ।

अझ प्रशासनले बजार खुलाउने समय तोकेको छ । दिनभर खुलाएर साँझ र विहानमा बन्द गर्न भनेको छ । के कोरोना संक्रमण विहान र साँझमा मात्र हुने हो ? दिउँसोमा खुला गर्दा संक्रममण नहुने हो ? कोरोनालाई सामान्य रुपमा लिइनु हुँदैन । कुनै पनि बेला जो कोहीलाई संक्रमण हुनसक्छ । यही महामारीका कारण धेरैको ज्यान गइसकेको छ । त्यसकारण अहिले पनि यो महामारी र संक्रमणबाट जोगिनै पर्दछ ।

यसका लागि सबैले आवश्यक सावधानी अपनाउनै पर्दछ । बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग र सामाजिक दुरीलाई कार्यान्वयन गर्न सकेको खण्डमा मात्र यो संक्रमणबाट जोगिन सकिन्छ । यो जानकारी हुँदाहुँदै पनि लापरबाही भइरहेको छ । हामीले लापरबाही गरेकै कारण आज संक्रमण पुनः बढेको हो ।

हरेक व्यक्ति आफू जोगिनै पर्दछ, त्यतिमात्र होइन अरुलाई पनि सुरक्षित बनाउनेतर्फ सोच्नु पर्दछ । यसकारण यो महामारी र संक्रमण नियन्त्रण गर्न हरेकले आवश्यक सावधानी र सतर्कता अपनाऔं ।

सतर्कता अपनाऔं

क्रियाशील सदस्यता फुकुवा गर्न माग

सतर्कता अपनाऔं

घुँयत्राे : यो स्टाफ भन्ने शब्दले पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *