स्वास्थ्यमा लगानी

प्रदेश सरकार गठन भएको आउँदो फागुनमा चार वर्ष पुग्दैछ । यो अवधिमा प्रदेश सरकारले धेरै प्रगति गरेको दावी गरिरहेको छ । सरकारले प्रगतिको लामो सुची नै बनाएको छ । रोग, भोक र अभावले थिचिएको कर्णालीका नागरिकको अपेक्षा पूरा गर्न सहज छैन ।
यद्यपी यहाँको राजनीतिक नेतृत्वलेले चाहेमा त्यो असम्भव पनि छैन । सरकारले धेरै विषय र क्षेत्रमा प्राथमिकता दिएको छ । त्यसमा पनि पछिल्लो समय प्रदेश सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्र परेको छ । हालसम्मको बजेट लगानी र उपलब्धिहरु केलाउँदा पनि प्रदेश सरकारको प्राथमिकतामा यहाँको स्वास्थ्य क्षेत्रको समग्र सुधार र पूर्वाधार विकासमा नै देखिन्छ ।
त्यसमा पनि पछिल्लो समय विश्वलाई नै थला पार्नेगरी कोरोना महामारी फैलियो । यही महामारीले प्रदेशमा नयाँ सम्भावनाका ढोकाहरु खुले । अर्थात कुनैदिन सिटामोल नै नपाउने दुर्गम स्थानमा यतिबेला अक्सिजन, आईसियु र भेन्टिलेटर उपलब्ध भएका छन् । यसले पनि स्वास्थ्य क्षेत्रको सुधार र पूर्वाधार विकासमा प्रदेश सरकारको लगानी प्रयाप्त भएको देखाउँछ ।
प्रदेशमा ठूला अस्पताल थिएनन् । भएको प्रदेश अस्पतालले पनि विरामीलाई बाहिर रिफर गर्नुपर्ने बाध्यता थियो । चिकित्सकको अभाव त्यस्तै । कर्णालीमा विशेषज्ञ चिकित्सक नै बस्न नमान्ने अवस्था थियो । यतिसम्मकी अधिकांश दुर्गमका स्वास्थ्य संस्थाहरु कार्यालय सहयोगीहरुको भरमा थिए । विरामीले उपचार नपाएर मर्नुपर्ने बाध्यता थियो । अधिकांश विरामीहरु त अस्पतालसम्म पुग्नै पाउन्थेनन् ।
यो अवस्था अहिले बदलिएको छ । सिंहदरबारको अधिकार गाउँमा पुगेपछि यहाँको स्वास्थ्य क्षेक्रले पनि काँचुली फेर्न थालेको छ । आज प्रदेश र स्थानीय सरकारको लगानी बढ्न थालेपछि दुर्गममा पनि स्वास्थ्यकर्मीहरु बस्न थालेका छन् । गाउँमा स्वास्थ्य संस्थाका नयाँ भवन निर्माण र आवश्यक उपकरणहरु उपलब्ध भइरहेका छन् ।
त्यतिमात्र होइन, दुर्गममा बस्न नचाहने स्वास्थ्यकर्मीका लागि प्रदेश सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि अवस्था सुधार भएको छ । यसले यहाँका नागरिकलाई सहज रुपमा गाउँमा उपचार र औषधि पाउने वातावरण सिर्जना भएको छ । वास्तवमा स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो धन हो । स्वास्थ्य विना मानिसले अन्य प्रगति गर्न सम्भव छैन ।
यसर्थ कुनै पनि परिवार, समाज र देशको विकासका लागि स्वस्थ नागरिक पहिलो शर्त हो । यसका लागि राज्यले सबैभन्दा पहिला स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि नै लगानी गर्नु पर्दछ । प्रदेश सरकारले पछिल्लो समय जसरी लगानी बढाएको छ, यसले यहाँको स्वास्थ्य अवस्थामा पनि सुधार आएको छ । दुर्गममा गर्भवती तथा सुत्केरीहरु उपचार नै नपाएर ज्यान गुमाउनुपर्ने अवस्था थियो ।
यस्तो अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले उनीहरुका लागि भनेर हवाइ उद्धार कार्यक्रम संचालन गरेको छ । यसले सुत्केरी तथा गर्भवती महिलाहरुलाई उपचार गर्न सहज भएको छ । धामी र स्थानीय जडिबुटीको भरमा रोग सहन बाध्य कर्णालीबासीलाई अहिले अस्पतालको उपचार पाउने अवस्था आएको छ । यसकारण पनि आगामी दिनमा सरकारले यहाँको स्वास्थ्य पूर्वाधारमा नै लगानी बढाउन आवश्यक छ ।







wasreset
13th Jul 2021complete content, i love it