विपद् कोषमा १ महिनाको तलब हाल्दै कर्णालीका मन्त्री
ओम शाही
सुर्खेत, १३ चैत ।
कोरोना रोकथामका लागि स्थापना गरिएको विपद् कोषमा कर्णालीका मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकका निर्णयबारे जानकारी दिदै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, ‘विपद् कोषमा मन्त्रीपरिषद्का सबै सदस्यहरुले एक महिनाको तलब दिने निर्णय गरेको छ, यो कोषमा आवश्यक सहयोग गर्न सबैलाई आग्रह गर्ने निर्णय पनि गरेका छौं ।’ यस्तै बैठकले प्रदेशका तीन वटा अस्पताललाई आइसोलेसन अस्पतालको रुपमा तोक्ने निर्णय गरेको छ ।
मन्त्री केसीकाअनुसार प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमलाई आइसोलेसन अस्पतालको रुपमा तोकिएको छ । यसका लागि प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक–एक करोड र चौरजहारी अस्पताललाई पचास लाख बजेट उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ ।
कर्णालीमा आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि केन्द्र सरकारसँग आग्रह गर्ने र केन्द्र सरकारले दिन नसक्ने भए प्रदेश आफैले खरिद गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको छ ।