कर्णाली भित्रिने नाकामा क्वारेन्टाइन नहुँदा थप जोखिम

सुर्खेत, ६ भदौ ।
कर्णालीमा प्रदेश सरकारले कोरोना रोकथाममा गरेका निर्णयहरुको कार्यान्वयन फितलो देखिएको छ । प्रदेश सरकारले बाहिरबाट भित्रिनेमाथि कडाइ गर्ने रणनीति अपनाएको थियो । प्रदेशभित्र कोरोना फैलिन नदिन मुख्य नाकाहरुमा कडाइ गर्ने भनिए पनि नाकाहरुमा क्वारेन्टाइन नहुँदा थप जोखिम देखिएको हो । केही दिनअघि मात्र प्रदेश सरकारले कर्णाली भित्रिनेलाई पीसीआर रिपोर्ट अनिवार्य भनेको थियो ।
तर प्रदेश भित्रिने नाकाहरुमा क्वारेन्टाइन नहुँदा यो निर्णय कार्यान्वयनमा समस्या देखिएको हो । रिपोर्ट भए मात्र प्रवेश दिइने भने पनि मानिसहरु बाहिरबाट धमाधम आइरहेका छन् । अर्थात पीसीआर रिपोर्ट नभएकाहरुलाई पनि प्रवेश दिइएको छ । नाकामा स्वाव संकलन गरेर रिपोर्ट नआउँदै मानिसहरुलाई भित्रिन दिइएको हो ।
नाकामा क्वारेन्टाइन नहुँदा संक्रमित क्षेत्रबाट आएका नागरिकलाई नाकामै राख्न समस्या भएको हो । कर्णालीका मुख्य नाकाहरु सुर्खेतको बबइ, कुइने, सल्यानको कपुरकोट र काल्चेकालिमाटी क्वारेन्टाइन छैनन् । क्वारेन्टाइन नभएकै कारण संक्रमित क्षेत्रबाट आएका नागरिकलाई सिधै गाउँ पठाइँदै आएको छ । जसले गर्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढेको हो । प्रदेशमा कोरोना जोखिम बढेको भन्दै भदौ १ गतेदेखि कोरोना नेगेटिभ भएकालाई मात्र कर्णाली प्रदेशमा प्रवेश दिने निर्णय गरिएको छ । तर कोरोनाको रिपोर्ट नै नभएका नागरिक पनि आउनेक्रम रोकिएको छैन ।
अत्यावश्यक काम र कोरोना नेगेटिभ रिपोर्ट चाहिन्छ भन्ने थाहा नपाएका नागरिकहरु दैनिकजसो नाकाबाट भित्रिरहेका छन । रिपोर्ट नभएका नागरिकको कोरोना परीक्षणका लागि बबई नाकामै स्वाव संकलन गरिन्छ र गन्तव्यतर्फ जान दिइन्छ । स्वास्थ्य मापदण्ड अनुसार स्वाव संकलन गरिएका व्यक्तिले रिपोर्ट नआउँदासम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ । तर नाकाहरुमा क्वारेन्टाइन नहुँदा स्वाव संकलनपछि नागरिकलाई सम्बन्धित गन्तव्यतर्फ पठाउनु परेको हो । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वारा बबई नाकामा स्वाव दिएका व्यक्तिलाई सिधै गन्तव्यतर्फ पठाउनु परेको छ ।
केही समय पहिले बबइ नाकामा क्वारेन्टिन बनाउने प्रयास गरिएको थियो । तर स्थानीयले अवरोध गरेपछि हालसम्म क्वारेन्टाइन बनाइएको छैन । प्रदेशमा दिनप्रतिदिन कोरोना संक्रमित बढिरहेको बेला संक्रमित क्षेत्रबाट आएका नागरिकलाई गाउँ पठाउँदा थप संक्रमणको जोखिम बढेको हो ।कोरोनाको जोखिम बढेको भन्दै प्रदेश सरकारले भदौ १ गतेदेखि कोरोना नभएका नागरिकलाई मात्रै कर्णाली प्रदेशमा प्रवेश दिने निर्णय गरेको थियो ।
तर क्वारेन्टाइन नभएकै कारण निर्णय कार्यान्वयनमा चुनौति थपिएको छ । विदेश र तराइका जिल्लाबाट फर्कने नागरिककै कारण प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै यस्तो निर्णय गरिएको हो । तर नाकामा क्वारेन्टिन नहुँदा पीसीआर रिपोर्ट भएका र अत्यावश्यक कामले संक्रमित क्षेत्रबाट आएका नागरिक सिधै गाउँ पठाउँदै आइएको छ ।
बाँके, बर्दिया लगायतका छिमेकी जिल्लामा लकडाउन र निषेधाज्ञा लागु गरे पनि दैनिक ५०/६० जना नागरिक कर्णाली आइरहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुर्खेतका अनुसार पीसीआर रिपोर्ट अनिवार्य गरिएको पहिलो दिनमै ३३ जना नागरिकहरु कर्णाली भित्रिएका छन् । दोस्रो दिनमा ४५ जना र तेस्रो दिनमा ६३ नागरिक नागरिकरु कर्णालीमा प्रवेश गरेको सुर्खेतका डिएसपी रामप्रसाद घर्तिमगरले जानकारी दिए । तिमध्ये चार जना विदेशबाट आएका नागरिक हुन् । विदेशबाट आएका नागरिकलाई भने वीरेन्द्रनगरको क्वारेन्टाइनमा राखिएको छ ।
स्थानीय तहले नै क्वारेन्टाइन बनाउन नदिएपछि समस्या
यता कर्णाली प्रदेश सरकारले भने स्थानीय तहले नै अवरोध गर्दा बबई नाकामा क्वारेन्टाइन निर्माण गर्न नसकिएको जनाएको छ । बबईमा क्वारेन्टाइन निर्माण गर्दा समुदायमा संक्रमण फैलिने भन्दै भेरीगंगा नगरपालिकाले अवरोध गरेको हो । स्थानीयको अवरोधपछि क्वारेन्टाइन निर्माण कार्य स्थागित गरिएको छ । ‘नाकामै एकसय बेडको क्वारेन्टाइन निर्माण गर्ने प्रयास गरेका थियौँ, तर स्थानीय तहले अवरोध गरयो’ आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले भने, ‘क्वारेन्टाइन नभएकै कारण कर्णाली भित्रिने सबैलाई क्वारेन्टाइनमा राख्न सकिएको छैन ।’
यद्यपी विदेशबाट आएका र कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएकालाई भने वीरेन्द्रनगरको क्वारेन्टाइनमा राखिने गरेको उनको भनाइ छ । ‘प्रदेशको कोरोना नियन्त्रणको लागि कोरोना नेगेटिभ भएका व्यक्तिलाई मात्रै प्रवेश दिने निर्णय भएको छ’ उनले भने, ‘अत्यावश्यक कामका लागि आउनेलाई पनि स्वाव संकलन गर्दै आएका छौँ ।’ प्रदेश कोरोना संकट व्यवस्थापन समितिको बैठकले विदेश तथा संक्रमित क्षेत्रबाट आएका नागरिकलाई राख्नका लागि क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो ।
क्वारेन्टाइन नहुँदा स्वाव संकलन गरेर पठाउनुपर्छ
क्वारेन्टाइन नहुँदा स्वाव संकलन गरेका नागरिकलाई गन्तव्यतर्फ पठाउने गरिएको छ । अत्यावश्यक कामले आउने नागरिकको कोरोना परीक्षणका लागि बबई नाकामै स्वाव संकलन गरिन्छ । तर क्वारेन्टानमा राखिदैन । ‘नियमित कामले आउनका लागि अनिवार्य रुपमा कोरोना नेगेटिभ भएको रिपोर्ट चाहिन्छ’ जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले भने, ‘तर अत्यावश्यक कामले आएकालाई सबैको स्वाव संकलन गरेर प्रवेश दिइएको छ ।’
अत्यावश्यक कामले आएकालाई स्वाव संकलन गर्ने र सम्झाएर छोड्ने गरिएको हो । त्यस्तै तेल, खाद्यान्न, तरकारीका सवारी चालक र सहचालकको स्वाव संकलन प्रवेश दिने गरिएको छ । तर भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकलाई भने वीरेन्द्रनगरको खुल्ला मञ्चको क्वारेन्टाइनमा राख्ने जनस्वास्थ्य प्रमुम वाग्लेले बताए ।







