दाजुको प्रेरणाले निजामति सेवामा आए

टीकाराम ढकाल/प्रमुख प्रशासकीय अधिकृत
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

जो व्यक्ति समयअनुसार चल्न सक्छ, उसले मात्रै जीवनमा सफलता प्राप्त गर्छ । किनकी औपचारिक अध्ययनले मात्रै सफलता प्राप्त गर्न कठिन छ । समयको गतीमा दौडनेहरुका लागि क्याम्पसको पढाइले मात्र खासै अर्थ राख्दैन । ठिक यस्तै छ, टिकाराम ढकालको जीवन पनि । साइन्स अध्ययन गरेका ढकालले प्रशासनिक नेतृत्वमा पनि आफूलाई अब्बल सावित गरिसकेका छन् । निजामति क्षेत्रमा प्रवेश गरिसकेपछि ढकालले जनप्रशासन विषय पनि अध्ययन गरेका छन् । विस २०४१ साल चैत २१ गते बुवा रविलाल र आमा तुलसी ढकाल कोखबाट उनको जन्म भएको हो । वीरेन्द्रनगर–२ बाङ्गेसिलमका स्थानीय ढकाल हाल वीरेन्द्रनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपका कार्यरत छन् । प्रस्तुत छ, उनको जीवन र निजामित क्षेत्रको अनुभवबारे गरिएको कुराकानीको सम्पादित अंश ।

अध्ययन र बाल्यकाल
जन्मस्थान सुर्खेतकै गुटुमा भए पनि ढकालको बाल्यकाल विद्यापुरमा बित्यो । गुटुबाट परिवारसँगै बसाइ गरेर त्यहाँ पुगे । स्कुल जाने उमेर घरमै रमाए । किनकी बाआमाले छोरा बुझ्ने भएपछि मात्रै स्कूल पठाउने निर्णय गरेका थिए । जसकाकारण सानो उमेरमा स्कुल गएनन् । झण्डै आठवर्ष पुगेपछि मात्रै औपचारिक अध्ययन सुरु गरे । उनले कक्षा एकदेखि ८ सम्म जनता माध्यमिक विद्यालय विद्यापुर, जन माध्यमिक विद्यालय वीरेन्द्रनगरबाट नौँदेखि प्लसटुसम्म, अमृत साइन्स क्याम्पस काठमाडौंबाट स्नातक र पूर्वाञ्चल विश्वविद्यालबाट जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् ।

पढाइमा सधै प्रथम
स्कुलमा पाइला टेक्नु अघि नै टिकारामले पढाइका सामान्य विषयहरु बुझिसकेका थिए । कखरा एबीसीडी घरमै सिकेका थिए । सामान्य जोड घटाउ पनि सिक्न खासै मेहनत गर्नु परेन । किनकी ढकालका लागि घरमै गुरु समानका अभिभावकहरु थिए । बाआमाका सातौ सन्तान उनले दाजु र दिदीबाट कखरा र एवीसीडी सिकिसकेका थिए । जब स्कुलमा भर्ना भए त्यसपछि उनको पढाइमा कहिले ब्रेक लागेन । बरु पढाइमा आफूलाई अब्बल सावित गरे । कक्षा एकदेखि स्नातकोत्तरसम्म ढकाल सधै प्रथम भए । कक्षा ५ र ८ मा सुर्खेत जिल्ला प्रथम र एसएलसीमा सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम भए । प्लसटु, स्नातक र स्नातकोत्तरमा पनि उनको प्रथम स्थान छुटेन ।

बृत्ति र पुरस्कारबाटै पढाइ खर्च
टीकाराम पढाइमा मात्रै होइन, विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा उत्तिकै सक्रिय हुन्थे । प्रथम पुरस्कारबाट प्राप्त हुने कापि कलमले उनलाई पढाइमा सहज बनाउँथ्यो । अतिरिक्त क्रियाकलापको पुरस्कारले पकेट खर्च चलाउँथे । कबड्डी, फुटबल, कथा, कविता र गीत लेखनमा रमाउँथे । २०५६ सालमा भएको राष्ट्रव्यापी कविता प्रतियोगितामा नेपाल दोस्रो भए । देशभरबाट ६ सय वटा प्रतिस्पर्धी कविताले दोस्रो स्थान पायो ।

उबेला माध्यमिक तहसम्म शिक्षा निःशुल्क थियो । जसकाकारण एसएलसी पढ्दासम्म पढाइका लागि पैसाको जरुरत थिएन । जब प्लसटु पढ्ने समय आयो तब ढकाललाई छात्रबृत्तिले साथ दियो । भारतीय राजदुतावासको छात्रबृत्ति कोटामा प्लसटु सम्मको अध्ययन पुरा गरे । नेपालको पहिलो विज्ञान क्याम्पस अमृत साइन्स क्याम्पसमा ब्याचलर पढ्ने थाले । काठमाडौँमा बसेर अध्ययन थोरै पैसाले पुग्थेन । तर पनि आर्थिक समस्या बेहोर्नु परेन । किनकी सुख,दुखमा काँध थाप्ने भरासिला अभिभावक (दाइ यामलाल ढकाल) थिए । जागिर खाएपछि मात्रै स्नाकोत्तरमा पुरा गरे ।

सानाे छँदा डाक्टर बन्ने रहर
सानो छंदा टिकारामको सपना डाक्टर वा इन्जिनियर बन्ने थियो । पढाइमा पनि उत्तिकै अब्बल थिए । इन्जिनियर र डाक्टर पढ्न सक्ने क्षमता पनि थियो । तर क्षमता र इच्छा हुँदैमा सोचेको कहाँ पुग्छ र ? ‘सके डाक्टर न नसके इन्जिनियर बन्छु भनेको थिएँ तर समयले साथ दिएन’ बाल्यकाल सम्झदै उनी भन्छन्,‘ सोचे अनुसार भन्दा पनि समय र परिस्थितिअनुसार चल्नु पर्दाे रहेछ ।’ प्लसटुमा साइन्स विषय नै रोजे । चाहेको भए प्लस्टुपछि इन्जिनियर बढ्न सक्थे । हुन त उनी इन्जिनियर बन्नका लागि साइन्स पढेका होइनन् । ‘ उबेला तगडा विद्यार्थीहरुले अफ्ठेरो विषय पढ्नुपर्छ भन्ने बुझाइ थियो’ उनी भन्छन्, ‘मैले पनि रहरै रहरमा साइन्स विषय पढेको हुँ ।’ अहिले पनि पढाइभन्दा फरक पेशामा छन् । ब्याचलरसम्म साइन्स विषय अध्ययन गरेका ढकाल वीरेन्द्रनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।

निजामित क्षेत्रमा आउनुको पछाडि दाजु यामयालको हात छ । ‘म ब्याचलर पढ्दै गर्दा दाई अधिकृत हुनुभयो’ उनी भन्छन्, ‘उहाँले प्रेरणाले म पनि निजामति क्षेत्रमा आएँ ।’ परीक्षा दिएको म पनि उहाँकै प्रेरणाका कारण निजामति क्षेत्रमा आए ।’ लोकसेवा आयोगमा पनि पहिलो पटकमै सफलता हात प¥यो । ब्याचलर सकेपछि केही समय कैलाली शिक्षक भएका ढकाल दश वर्षदेखि निजामति क्षेत्रमा छन् । संघीयताको कार्यान्वयनसँगै सरकारले काजको रुपमा कर्णाली प्रदेश सभामा खटायो । २०७५ सालमा खुल्ला प्रतिस्पर्धाबाट उपसचिवमा उत्तिर्ण भए । उपसचिव भएपछि झण्डै आठ महिना गुर्भाकोट नगरपालिका विताए । २०७६ बैशाखदेखि वीरेन्द्रनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।

जागिर सेवा गर्ने थलो
पढाइका हिसावले ढकाल साइन्सको विद्यार्थी । स्नातकोत्तरपछि थप अध्ययन र रोजगारी गर्न सम्भवतः विदेश जान्थे होला । तर समयले उनलाई विदेश जान दिएन । ‘निजामति क्षेत्रमा नआएको भए पढ्ने बहानामा अहिले विदेशमा हुन्थ्यँे होला’ उनी भन्छन् ‘ दाजुको प्रेरणा र समयले कर्मचारी बनायो, अब आफ्नै ठाउँमा सेवा गरेर रमाउँछ । निजामति क्षेत्रमा एक दशक पार गर्दैगर्दा यो क्षेत्र उनको अनुभवमा सेवा गर्ने थलो हो ।  ‘जागिर पैसा कमाउने थलो होइन, यो त एउटा दैनिकी चलाउने बहाना मात्रै हो ’ उनी भन्छन्,‘जागिरमा सन्तुष्ट हुने कि नहुने, त्यो फरक विषय हो ।

तर मलाई आफ्नो क्षेत्रमा सेवा गर्न पाउँदा गर्भ लाग्छ ।’ कर्णाली प्रदेशको सबैभन्दा ठूलो नगरपालिकाको प्रशासनिक नेतृत्व गर्न पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छन् । प्रदेशको राजधानी र सबैभन्दा ठूलो नगरपालिका भएका नाताले पनि वीरेन्द्रनगरले विकास निर्माण र सेवा प्रवाहका सन्दर्भले नागरिकका अपेक्षाहरु सम्बोधन गर्नसक्नु पर्ने उनको बुझाइ छ । अहिले सुर्खेतकै माटोमा हुर्केका राजनीतिक (जनप्रतिनिधि) र प्रशासनिक (कर्मचारी) नेतृत्व भएको बेला वीरेन्द्रनगरले विकास निर्माणमा काँचुली फेर्नुपर्ने समय भएको उनको तर्क छ । (२०७७ साउन ३२ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकको साताको  राष्ट्सेवक स्तम्भमा प्रकाशित)

Leave a comment

Your email address will not be published. Required fields are marked *