फेरि धमाधम ठडिन थाले ‘मान्छे निल्ने’ छाउगोठ
सुर्खेत, १ भदौं ।
महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन् । देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो । दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो । छाउगोठमा सुतेकी उनलाई सर्पले टोकेको थियो । यो २०७४ असार महिनाको घटना हो । आफन्त र परिवारको दबावमा गोठमा सुत्न बाध्य पारिएकी तुलसीको छाउगोठमा सुतेकै कारण ज्यान गुम्यो ।
सोही वर्ष स्थानीय २४ वर्षिया लालसरा विकको पनि छाउगोठमै मृत्युभयो । उनी पनि महिनावारी भएपछि घरदेखि टाढा रहेको छाउगोठमा सुतेकी थिइन् । आफन्त र परिवारको दबावमा छाउगोठमा सुतेकी उनले पनि आफ्ना ज्यान जोगाउन सकिनन् । अनर्थ हुने र देउता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण महिनावारीको समयमा घरभित्र बस्न नदिदा उनको प्राण गुम्यो । असुरक्षित छाउगोठमा किशोरी र महिलाको ज्यान जाँदासमेत जिल्लामा छाउगोठमा बस्ने र बसाल्नेक्रम रोकिएको छैन ।
इन्सेकका अनुसार पछिल्लो २५ बर्षयता दैलेखमा १३ जना महिला तथा किशोरीहरुले छाउगोठमै ज्यान गुमाएका छन् । दैलेखमा मात्र होइन, कर्णालीका अधिकांश जिल्लामा अहिले पनि महिनावारी बार्ने प्रचलन कायमै छ । महिनावारी बार्ने नाममा महिला तथा किशोरीहरुलाई अहिले पनि तिनै मान्छे नै निल्ने अर्थात ज्यानमारा छाउगोठमा राख्ने गरिन्छ ।
जसकोकारण महिला तथा किशोरीहरुले अकालमै ज्यान गुमाउने गरेका छन् । केहीवर्ष अघि सुर्खेतको गुटुमा स्थानीय निर्मला बर्तौलाको छाउगोठमै ज्यान गयो । महिनावारी भएपछि घरदेखि टाढा रहेको छाप्रोमा सुतेकी उनको मध्यरातको चिसोले कठ्याङग्रीएर ज्यान गएको थियो । माथि उल्लेखित घटनाहरु पछिल्लो समय कर्णालीमा छाउगोठमै ज्यान गुमाएका प्रतिनिधिमुलक घटना हुन् । अधिकांश घटनाको तथ्याकं नराखिएको र गाउँमै लुकाइने भएकाले पनि अधिकांश यस्ता घटनाहरु बाहिर नआउने गरेको महिला अधिकारकर्मीहरु बताउँछन् । केही समय अघिमात्र सुर्खेतको बराहताल गाउँपालिकामा एक किशोरीमाथि सामुहिक बलात्कार भयो । पीडित किशोरी पनि घरदेखि टाढा रहेको छोगोठमा सुतेकी थिइन् ।
छाउगोठमा सुतकै कारण ज्यान गुमाउने, बलात्कृत हुने, चिसोले कठ्याङग्रीने, जंगली जनावरको आक्रमणमा पर्ने र सर्पले डस्ने लगायतका समस्याबाट यहाँका महिला तथा किशोरीहरु पीडित भइरहेका छन् । छाउगोठमै महिला तथा किशोरीको ज्यान जान थालेपछि गतवर्षबाट सरकारले छाउगोठ भत्काउने अभियान थाल्यो । सोही अभियान अन्तर्गत कर्णालीमा पनि हजारौं छाउगोठ भत्काइए । सुर्खेतमा मात्र करिब दुई हजार छाउगोठ भत्काइयो ।
तर यो अभियान सेलाएसँगै गाउँमा फेरि छाउगोठहरु व्यूँतिन थालेका छन् । महिला र किशोरीहरु महिनावारीको समयमा घरभित्र बस्न पाएका छैनन् । बरु छाउगोठहरु भत्किाएपछि कतिपय महिलाहरु महिनावारीको बेलामा अहिले पनि पाँच दिनसम्म अस्थायी रुपमा स्याउला र पातले बारेर घरबाहिरै बस्ने गरेका छन् । यसबाट महिला तथा किशोरीहरु थप असुरक्षित बनेका छन् ।
छाउगोठको स्थानमा ‘छाउघर’
सुर्खेतको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अहिले पनि करिब ६० प्रतिशत महिला तथा किशोरीहरु महिनावारीको सयममा घरभित्र बस्दैनन् । प्रहरीले छाउगोठ भत्काएपछि स्थानीयले अहिले पनि महिला तथा किशोरीलाई महिनावारीको बेलामा घरभित्र बसाल्दैनन् ।
बरु छाउगोठको ठाउँमा धमाधम ‘छाउघर’ हरु निर्माण भइरहेका छन् । छाउगोठ भन्दा प्रहरीले भत्काउने त्रासका कारण स्थानीयले घरदेखि अलग्गै छाउघर बनाउन थालेका छन् । घरदेखि टाढा निर्माण गरिएका यस्ता गोठलाई महिला र किशोरीहरुले सामुहिक रुपमा प्रयोग गर्छन् । चौकुने गाउँपालिकास्थित घाटगाउँकी माता विकले भनिन्, ‘अहिले पनि घरभित्र बस्दैनौं, हाम्रो टोलमा महिनावारी हुँदा सबैले प्रयोग गर्नेगरी छाउघर बनाएका छौं ।’ त्यही छाउघरमा महिनावारी भएकाहरु सुत्ने गरेको उनले जनाइन् ।
जिल्लाको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा यस्ता गोठहरु लुकिछिपी बनाउन थालिएको छ । स्थानीयले छाउघर नाम दिए पनि सुरक्षित भने नभएको महिला अधिकारकर्मीहरुको भनाइ छ । दैलेखमा पनि छाउगोठ त भत्काइए । तर महिलाहरु थप असुरक्षित बनेका छन् । अलग्गै रहेका गोठ भत्काइए पनि महिनावारीको समयमा महिलाहरु अहिले गाईभैसीं बाँध्ने गोठ, बाख्राको खोर, परालको टौवा र कतिपय खुला आकाशमुनी नै बस्न बाध्य छन् ।
नाम मात्रका अभियान
महिला तथा किशोरीलाई महिनावारीको बेलामा पनि घरभित्र बसाल्ने अभियान प्रभावकारी हुन सकेका छैनन् । स्थानीय, प्रदेश र संघ सरकारले मात्र होइन, गैरसरकारी संस्थाहरु पनि छाउगोठ उन्मुलनको अभियानमा छन् । तर ति अभियानहरु प्रभावकारी हुन सकेका छैनन् ।
दैलेखको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले नगरको लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखा मार्फत अभियान्ताहरु परिचालन गर्ने तयारी गरिएको बताए । ‘अघिल्लो बर्ष छाउगोठ भत्काउने अभियान चल्यो, छाउगोठहरु भत्काउने अभियान चलाएर मात्रै हुँदैन, अब ठोस योजना अघि सार्नुपर्छ ।’ नागरिकहरुलाई त्रसाउनेभन्दा पनि मनको डर भगाउने खालका कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।
यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले अभियान जारी रहेको बताए । उनले भने,‘महिला समूह र स्वयम्सेविकालाई चेतनामुलक अभियानमा खटाएका छौं, सासु र बुहारीबिच गोलमेच सम्मेलन नै हुन्छ । यो कुप्रथा हटाउन छाउगोठ भएका परिवारलाई सामाजिक सुरक्षा भत्ता र सिफारिसबाट बञ्चित गरेका छौं, पहिलाको जस्तो गोठमै त बस्दैनन्, घरमै रहेको अर्को कोठासम्म बसाल्न थालेका छन् ।’