कोरोना रोकथाममा एउटै मन्त्रालयद्वारा ३१ करोड खर्च

सुर्खेत, २१ भदौ ।
कर्णालीमा कोरोना संक्रमण नियन्त्रणका लागि एउटै मन्त्रालयले झण्डै ३१ करोड बजेट खर्च गरेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना रोकथाममा हालसम्म ३० करोड ८७ लख ४० हजार खर्च गरेको छ । गत आर्थिक वर्षमा मास्क, सेनिटाइजर, स्प्रे, पीपीई सेट, जनशक्ति व्यवस्थापन, मेसिनरी औजार खदिर र स्वास्थ्यकर्मीको जोखिम भत्तामा सो रकम खर्च भएको छ ।

खर्च भएको बजेटमध्ये सबैभन्दा बढी अर्थात २३ करोड ४८ लाख ६९ हजार रुपैयाँ विभिन्न अस्पतालहरुले खर्च गरेको छन् । दश वटै जिल्लाका जिल्ला अस्पताल अर्थात जनस्वास्थ्य सेवा कार्यालय र कोरोना विशेष अस्पतालले यो रकम खर्च गरेका हुन् । सामाजिक मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश अस्पताल सुर्खेतले मात्रै ६ करोड ६२ लाख ३८ हजार रुपैयाँ खर्च गरेको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले ९६ लाख ५२ हजार, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले एक करोड ४१ लाख १८ हजार, सल्यानले एक करोड १५ लाख ५७ हजार, रुकुमपश्चिमले ९७ लाख, दैलेखले एक करोड ७९ लाख एक हजार, कालिकोटले एक करोड २५ लाख ५२ हजार जुम्लाले ३६ लाख ४६ हजार रकम खर्च गरेका छन् ।

त्यस्तै जनस्वास्थ्य सेवा कार्यालय मुगुले ७४ लाख, हुम्लाले ५६ लाख, डोल्पाले ४४ लाख ७५ हजार, मेहलकुना अस्पतालले ८२ लाख, प्रदेश आयुर्वेद औषधालयले सात लाख, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले तीन करोड १५ लाख रुपैयाँ कोरोना प्रतिकार्यमा खर्च गरेका छन् । अस्पतालहरुका लागि कुल विनियोजित बजेटमध्ये २३ प्रतिशत बजेट भने फ्रिज गएको छ ।

कोरोनाबाट सुर्खेतका एक पुरुषको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट सुर्खेत एक व्यक्तिको काठमाडौंँमा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाका ४२ वर्षीय ति पुरुषको वीरेन्द्र छाउनी अस्पताल काठमाडौंँमा मृत्यु भएको हो । उपचारका क्रममा बिहीबार राती बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । कोरोना संक्रमण पुष्टि भएको २४ घण्टा नवित्दै उनको मृत्यु भएको हो ।

२४ वटा आइसोलेसनमा एक करोडभन्दा बढी खर्च
कर्णाली प्रदेशभर हाल दुईसय ३३ वटा आइसोलेसन छन् । तर प्रदेश सरकारले व्यवस्थापन गरेका विभिन्न २४ वटा आइसोलेसनको व्यवस्थापनमा मात्र हालसम्म एक करोडभन्दा बढी रकम खर्च भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार २४ वटा आइसोलेसन व्यवस्थापनमा एक करोड २५ लाख रुपैयाँ खर्च भएको हो ।

जसअनुसार सल्यानको वनगाडकुपिन्डे नगरपालिकाको देवस्थल स्वास्थ्य चौकीको आइसोलेसन व्यवस्थापनमा मात्रै दश लाख रुपैयाँ खर्च भएको छ । बागचौर नगरपालिकाको थारमार र कपुरकोट गाउँपालिकाको धनवाङ स्वास्थ्य चौकीको आइसोलेसन व्यवस्थापनमा पाँच/पाँच लाख खर्च गरिएको छ ।

त्यस्तै जाजरकोटको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीको आइसोलेसन, नलगाड नगरपालिकाको दल्ली स्वास्थ्य चौकीको आइसोलेसन र रुकुमपश्चिमको आठविसकोट नगर अस्पतालको क्वारेन्टाइन व्यवस्थापनमा पनि पाँच/पाँच लाख रुपैयाँ खर्च भएको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन, लेकवेशी नगरपालिकाको दशरपुर स्वास्थ्य चौकीको आइसोलेसन, सिम्ता गाउँपालिकाकाको बजेडीचौर स्वास्थ्य चौकीको आइसोलेसन, चौकुने गाउँपालिकाको गुटु स्वास्थ्य चौकीको आइसोलेसन, गुर्भाकोट गाउँपालिकाको मेहलकुना अस्पतालको आइसोलेसन र वीरेन्दनगर नगरपालिकाको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आइसोलेसन व्यवस्थापनमा पनि पाँच/पाँच लाख रुपैयाँ खर्च गरिएको छ ।

त्यस्तै दैलेखको नारायण नगरपालिकाको नारायण क्याम्पस, ठाँटीकाँध गाउँपालिकाको लकान्द्रा, नौमुले गाउँपालिकाको नौमुले, आठविस नगरपालिकाको राकम र दुल्लु नगरपालिकाको दुल्लु अस्पतालको आइसोलेसन व्यवस्थापनमा पनि पाँच/पाँच लाख रुपैयाँ खर्च गरिएको छ ।

त्यस्तै कालिकोटको नरहरी नाथ गाउँपालिकाको कुमालगाउँ, रास्कोट नगरपालिकाको रास्कोट र जुम्लाको तातोपानी गाउँपालिकाको तातोपानी र सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीको आइसोलेसन पनि क्रमश पाँच/पाँच लाख रुपैयाँ खर्च गरिएको मन्त्रालयले जनाएको छ ।

साढे १२ लाख मास्क सहयोग
कोरोनापछि कर्णाली प्रदेशले साढे १२ लाखभन्दा बढी मास्क सहयोग प्राप्त गरेको छ । विभिन्न संघसंस्था र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरी १२ लाख ५२ हजार ३० सेट मास्क सहयोग उपलब्ध गराएका हुन् । जसमध्ये विभिन्न साझेदार संघसंस्थाले ४० हजार सर्जिकल मास्क र दुईसय थान एननाइटीन मास्क सहयोग गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ लाख ९५ हजार सर्जिकल मास्क र दुई हजार तीन सय ३० सेट एननाइटिन मास्क कर्णाली प्रदेशलाई उपलब्ध गराएका हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *