प्रहरी जवानको शंकास्पद मृत्यु, एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

सुर्खेत, ३१ वैशाख
सिम्ता गाउँपालिकाको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मंगलबार दिउँसो चौकीदेखि करिब ५ सय मिटर टाढा मृत अवस्थामा भेटिएका थिए । उनका आफन्तले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेका छन् । स्थानीय प्रहरी चौकीले ‘आत्महत्या’ भने पनि कुटपिटपछि गोली हानेर हत्या गरिएको उनीहरुको भनाइ छ ।
मृतकका दाजु यामबहादुर खड्काका अनुसार चौकीले सोमबारदेखि हराएको भन्दै मंगलबार बिहानमात्र परिवारलाई जानकारी गराएको थियो । ‘जानकारी पाउनेबित्तिकै खोज्ने क्रममा चौकी नजिकै शव भेटायौं,’ उनले भने, ‘चौकीले हराएको एक दिनपछि जानकारी दिनु र नजिकै शव भेटिनुले भाइको हत्या भएको हाम्रो अनुमान छ ।’ उनका अनुसार प्रहरी जवानको ऐंसेलुको झाङमुनि सुतेको अवस्थामा दाहिने हातमा पेस्तोल थियो । उक्त पेस्तोल चौकीका इन्चार्ज असई देवबहादुर थलालको हो । ढाडमा निलडाम हुनुका साथै बायाँ छातीमा सानो र दायाँ छातीमा ठूलो प्वाल रहेको खड्काले बताए ।

‘घटनास्थलमा हिलो नभए पनि जिउमा भने हिलो लागेको छ,’ उनले भने, ‘आत्महत्या गरेको मान्छेको हातमा पेस्तोल कसरी रहन सक्छ ?’ उनले असई थलालसहित चौकीका अन्य चार प्रहरीविरुद्ध किटानी जाहेरी दिने बताए । स्थानीयका अनुसार शव भेटिएको अघिल्लो राति चौकीमा भाले काटेर खाएका थिए । रातो भालेका प्वाँख अहिले पनि चौकीमै छन् । राति करिब ११ बजे पेस्तोल पड्केको आवाजसमेत सुनिएको स्थानीयबासीको भनाई उद्धृत गर्दै मृतकका दाजु यामबहादुरले बताए ।


चौकी नजिकै रक्सीको जर्किन पनि भेटिनुले घटनालाई थप रहस्यमय बनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज पन्तले सोमबार राति चौकीमा भाले काटेर खाएको थाहा भए पनि मदिरा सेवन गरेरनगरेको थाहा नभएको बताए । ‘यो घटनामा उहाँहरु (परिवार)ले जाहेर नदिए पनि हामीले गम्भीर रुपमा छानबिन थालिसकेका छौं,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि खास कुरा के हो भन्ने थाहा होला ।’
कर्णाली प्रदेश प्रहरी कार्यालयले एसएसपी राजेश बास्तोलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । कार्यालय प्रमुख डीआईजी बसन्त पन्तले प्रहरी जवानको मृत्युबारे प्रश्न उठेपछि घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको बताए । ‘हत्या हो वा आत्महत्या हो भन्ने कुरा छानबिनपछि थाहा होला,’ उनले भने, ‘निष्पक्ष छानबिन होस् भनेरै प्रदेशस्तरीय समिति गठन गरिएको हो ।’ मृतक जवानका दाजु यामबहादुरले भने आरोपित असईसहित चारजना प्रहरीहरु अहिले पनि चौकीमै रहेकोले निश्पक्ष अनुसन्धानमा प्रश्न उठाएका छन् । उनले आरोपितलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने बताए ।

याे पनि पढ्नुहाेस :

प्रहरी जवान मृत्युमा आफ्न्तको आशंका, अनुसन्धान जारी


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार