प्रहरी जवान मृत्युमा आफ्न्तको आशंका, अनुसन्धान जारी

सुर्खेत, ३० बैशाख ।
सिम्ताको आग्रीगाउँ स्थित देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मृत्यु घटनाको प्रारम्भिक अनुसन्धान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिल्लीराज पन्त र अनुसन्धान अधिकृत प्रहरी निरिक्षकको उपस्थितिमा प्रारम्भिक अनुसन्धान गरिएको छ ।

मंगलबार दिउँसो १ः३० बजे घटनास्थल पुगेको जिल्लाको टोलीले प्रारम्भिक अनुसन्धान गरेको हो । प्रारम्भिक अनुसन्धान सकिएपछि मृतकको लास पोष्टमाटमका लागि प्रदेश अस्पताल ल्याइदैछ । मंगलबार साँझसम्म पोष्टमाट्मका लागि प्रदेश अस्पताल ल्याउने तयारी भएको छ ।

एक थान पेस्तोल र सात राउण्ड गोलीसहित फरार भएको भनिएका प्रहरी जवान आज (मंगलबार) विहान ९ः०० बजे प्रहरी चौकी नजिकै मृत भेटिएका थिए । प्रहरी जवान नरेन्द्र खड्का मृत्यु घटनास्थलको प्रकृति अनुसार उनका घरपरिवारबाट आशंका गरिएको छ । मृतकको घटना स्थलमा भएको पोजिसन अनुसार घटना थप रहस्यमय भएको मृतकका दाजु खड्ग बहादुर खड्काले जानकारी दिनुभयो ।

चौकी कमाण्डरले प्रयोग गर्ने पेस्तोल घटनामा प्रयोग हुनु, घटना स्थलमा मृतकको दाइने हातमा तीन औलाले पेस्तोल समाएकै अवस्थामा मृतक उत्तानो परेर सुतेको, दुवै खुट्टामा चप्पल लगाएको, हात दुवै सिधा बनाएको, दाइने कन्चटमा पेस्तोलको गोली लागेर बाँयाँबाट निस्केको, घटना स्थलमा मृतकले कुनै हलचल नगरेर सुताएको जस्तो देखिएकाले घटनामा थप आशंका उत्पन्न भएको मृतकका दाजु खड्ग बहादुर खड्काले जानकारी दिनुभएको छ । गोली लागेपछि उसको छटपटाहट नहुनु, मृतकको लास भएको स्थानमा एकदम थोरै मात्र व्लड देखिएपछि घरपरिवारसमेत सशंकित भएको उहाँको भनाई छ ।

मृतकको घटना स्थलमा उत्तानो परेर सुतेको, दायाँ हातमा पेस्तोत, दायाँ कन्चटमा गोली लागेको र बाँयाँ हाततिर मृत लासको टाउकोको अनुहार फर्किएको अवस्थामा रहेको प्रत्यक्षदर्शीको भनाई छ । उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरिक्षकको नेतृत्वमा प्रहरी टोली रहेको छ । केही बर्ष अगाडी उक्त प्रहरी चौकी स्थानीय युवाहरुबाट कब्जा गरिएको थियो । प्रहरी चौकीको हाताभित्र मादक पदार्थ (रक्सी) खाएर केही बचेको अवस्थामा जर्किन भेटिएको, चौकीभित्र कुखुराकाटी खाएको देखिएको अपुष्ट जानकारी आएको छ । मृतक प्रहरी जवान सुर्खेत जिल्ला लेकबेशी नगरपालिका वडा नं. ३ दशरथपुर घर भई हाल सिम्ता गाउँपालिका वडा नं. ३ स्थित आग्रीगाउँ प्रहरी चौकिमा कार्यरत रहेका थिए ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त कुमार पन्तले जिल्लाको टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धान, मृतकको पोष्टमाटम रिपोर्टबाट घटनाको विस्तृत विवरण आउने बताउनुभयो । घटनामा आफ्न्तले आशंका गरेपनि त्यसको वास्तविकता प्रहरी अनुसन्धानबाट खुल्ने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया