बाँकेमा उपचाररत ३५५ मध्ये १९ संक्रमितको अवस्था गम्भीर

सिराज खान
नेपालगञ्ज, १९ असोज ।
बाँकेमा दिनप्रतिदिन कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो समयमा हरेक दिन कोरोनाको लक्षण देखिएका संक्रमितको संख्या वृद्धि हुँदै गएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा हाल उपचाररत संक्रमितमध्ये ११२ जना संक्रमितमा कोरोनाका लक्षणहरू देखिएका छन् ।
भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको आइसोलेसन वार्डमा रहनुभएका बिरामीमध्ये १९ जनाको अवस्था गम्भीर रहेको छ । बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले २१ जना गम्भीर संक्रमित रहेकोमा दुई जनाको बिहीबार बिहान उपचारकै क्रममा मृत्यु भएको बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुई वटा कोभिड विशेष वार्ड सञ्चालनमा छन् । यी दुई वार्डमा कोरोनाको लक्षण देखिएका बिरामीलाई मात्र राखिएको छ । बिहीबारसम्म कोरोना विशेष वार्डमा भर्ना भएका ११२ जना संक्रमितमध्ये १९ जना सिकिस्त, ४२ जना मध्यम र ४९ जना सामान्य खालका छन् । स्वास्थ्य कार्यालयका अनुसार ८ वटा आइसीयूसहित ७२ बेड क्षमता रहेको भेरीको विशेष कोभिड आइसोलेसन अस्पतालमा अहिले ६० जना बिरामी उपचाररत रहेका छन् ।
तीमध्ये १८ जनाको अवस्था गम्भीर छ । ३७ जनाको मध्यम छ भने पाँच जनाको अवस्था सामान्य रहेको श्रेष्ठले बताए । यस्तै एक सय बेड क्षमताको कोहलपुर मेडिकल कलेजमा ५२ जना बिरामी उपचाररत् छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ भने पाँच जनाको अवस्था मध्यम र ४४ जनाको अवस्था सामान्य छ ।
स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा हालसम्म एक हजार ९१३ जना संक्रमित भेटिएकोमा एक हजार ५४२ जना निको भएर घर फर्किसक्नुभएको छ भने ३५५ जनाको अझै विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ । तीमध्ये १७ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।






