प्रदेशसभालाई प्रधानमन्त्री ओलीको सम्बोधन कर्णालीलाई प्राथमिकतादेखि संविधान संशोधनसम्मको चर्चा

ओम शाही
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गरेका छन् । शुक्रबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौ अधिवेशनको चौधौं बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत पुगेका ओलीले प्रदेशसभामा सम्बोधन गर्दै कर्णाली संघीय सरकारको प्राथमिकतामा रहेको दावी गरे ।
कर्णालीमा संघीय सरकारले राष्ट्रिय गौरवका आयोजना कर्णाली कोरिडोर, भेरी कोरिडोर, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई प्राथमिकताका साथ अघि बढाएको बताए ।यद्यपी, यी आयोजना निर्माणको कामले सन्तोषजनक गति भने लिन नसकेको ओलीले स्वीकार गरे । कर्णालीका गेमचेन्जर परियोजना निर्माणमा भइरहेको विलम्बको विषय आफूले गम्भीरतापूर्वक लिएको बताउँदै ओलीले तोकिएकै समयमा परियोजना सम्पन्न गर्न सरकार लागि परेको दावी गरे ।
जुम्ला र सुर्खेतपछि कर्णाली राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेखको राकम कर्णालीमा झण्डै १० लाख जनसंख्यालाई समेट्ने गरी स्याटलाईट अस्पताल निर्माण अघि बढेको प्रधानमन्त्रीको भनाई थियो । यसले दैलेख र साविक कर्णाली तथा सुदुरपश्चिम प्रदेशका नागरिक गुणस्तरिय स्वास्थ्य सेवाको पहुँचमा पुग्ने विश्वास ओलीको थियो ।
कर्णालीलाई उर्जा समृद्धिको युगमा प्रवेश गराउनफुकोट कर्णाली, बेतन कर्णाली, तिला–१ र तिला–२ जलविद्युत आयोजना अघि बढाउँने प्रक्रियामा सरकार रहेको उनले बताए । आफू प्रधानमन्त्री रहेको बेला भारतीय नाकावन्दी पश्चात सुरु भएको दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणले अन्तिमरुप धारण गर्ने अवस्थामा पुग्नु समर्ग मुलुकका लागि सकारात्मक सन्देश रहेको ओलीको दावी थियो ।
प्रदेशसभामा सम्बोधन गर्नेक्रममाप्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पपछि बाँडिएको अस्थायी आवास निर्माणको रकममा बेथिति भएको खुलासासमेत गरे । प्रधानमन्त्री ओलीले भूकम्पले भत्केका वास्तविक संरचनाभन्दा बढीलाई अस्थायी आवासको रकम बाँडेर बेथिति गरिएको दावी गरे । ‘जाजरकोट जिल्लाको कुरा गर्ने हो भने, त्यहाँ कति घरधुरी छन् ?, त्यहाँ कति जनसंख्या छ ?,’ ओलीले भने, ‘३५÷३६ हजार घरधुरी भएको ठाउँमा ४८ हजार घरधुरीलाई किस्ता बाँडिएको छ ।
जिल्लामा त्यति घरधुरी नै छैनन् । सबै घर भत्किएका पनि होइनन् । बाँडियो ४८ हजारलाई भने, त्यहाँ बेथिति भएको छ ।’ वास्तविक अवस्था लुकाई भएको बेथितिलाई सरकारले गम्भीरतापूर्वक लिएको ओलीले बताए । जाजरकोट भूकम्पपछिको विस्तृत क्षतिको मूल्यांकन अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अस्थायी आवासको रकममा भएको बेथिति अध्ययन गरी तत्काल कारवाही गर्न सम्बन्धित जिल्लामा कार्यालय स्थापना गर्न लागेको बताए ।
यसका लागि गृहमन्त्री जिल्ला खटिन लागेको ओलीले सम्बोधनका क्रममा भने । भूकम्पपछिको पुनर्निमार्णमा बजेट व्यवस्थापन भइसकेको उल्लेख गर्दै ओलीले बाँकी रकम पनि यथासिंघ्र पठाइने दावी गरे । जाजरकोट भूकम्पबाट पाठ सिकेर बलिया पूर्वाधारहरु निर्माणमा सबैले हातेमालो गर्नुपर्ने प्रधानमन्त्री ओलीले आग्रह गरे ।
प्रधानमन्त्री ओलीले कांग्रेस–एमाले सम्मिलित सरकारले अघि बढाउन खोजको संविधान संशोधनको विषय एक दुई जना व्यक्ति वा सुमूहको स्वार्थ पुरा गर्र्न नभई समर्ग राष्ट्रको हित रहेको दावी गरे । जनभावना अनुसार विकासका अपेक्षा पुरा गर्न संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै ओलीले भने, ‘एमाले–कांग्रेस बिच सहकार्य हुँदा भएको सात बुँदे सम्झौताको दोस्रो बुँदामा संविधान संशोधनको विषय राखिएको छ । यो कसैको रहर र लहडको विषय होइन । यो समर्ग राष्ट्रिय आवश्यकतालाई पुरा गर्ने कदम हो ।’
‘शिक्षा युगस्तरीय र गुणस्तरीय नभए मुलुकपछि पर्छ’
प्रदेशसभालाई सम्बोधन गर्नुपूर्व मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी भएका प्रधानमन्त्री ओलीले प्रतिस्पर्धात्मक र सूचना प्रविधिको युगमा शिक्षा युगस्तरीय र गुणस्तरीय हुन नसके समग्र मुलुक नै पछि पर्ने बताए ।
दीक्षान्त समारोहलार्य सम्बोधन गर्दैप्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका हुन् । ‘जुन मुलुकले आफ्नो मुलुकमा रहेका स्रोतसाधनको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन । र, आजको भूमण्डलीकरणको युगमा युग अनुकूलको नागरिक निर्माण गर्न सक्दैन, त्यो मुलुक विकासको दौडमा पछाडि पर्ने निश्चित हुन्छ,’ उनले भने ।
मध्यपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आजको युग कृत्तिम बौद्धिकतायुक्त प्रविधि र सिर्जनशीलताको युग भएको उल्लेख गर्दै उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अबौँ पुँजी विदेश पलायन हुनु चिन्ताजनक रहेको बताए । उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा पुगेका देशका कर्णधारको व्यवस्थित शिक्षा आर्जन, सुरक्षा र स्वदेश फिर्तिलाई सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले मुलुकमा रहेका विश्वविद्यालयले समयानुकूल विषय र कार्यक्रमका माध्यमबाट शिक्षा लिनैका लागि विदेसिनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । ‘ऐन, नियम र कार्यव्यवस्था प्रणालीअन्तर्गत रही आफ्नो शैक्षिक, प्राज्ञिक स्वतन्त्रताको बुद्धिमत्तापूर्ण उपयोग गर्दै सरकारसँग सहयोग लिने र आवश्यकताका आधारमा निजी प्रतिष्ठानहरूलाई उच्च शिक्षा प्रदानको गतिलो साझेदार बनाएर जान सकेमा उच्च शिक्षामा सरकारले राखेको अपेक्षा र विश्वविद्यालय स्थापनाको उद्देश्य पूरा हुन्छ,’ ओलीले भने ।
शिक्षा केबल डिग्री प्राप्त गर्नु मात्र नभई जीवनलाई सही दिशा दिने मार्ग रहेको उनले बताए । दीक्षित भएका विद्यार्थीलाई ओलीले आफ्नै देशमा नवीनतम् काम गर्नुपर्ने बताए ।ओलीले विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहका अवसरमा विभिन्न तह र सङ्कायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित गराएका थिए ।
समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै सङ्कायबाट स्नातक तहका दुई हजार एक सय ८९, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हाँसिल गरेका एक हजार छ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थी दीक्षित भएका हुन् ।
कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अग्रज प्राध्यापक प्रा डा महेन्द्र पि लामा प्रमुख अतिथि थिए । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले नेपाल सरकारको सहयोग, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विश्वविद्यालय एवं सङ्घसंस्थाको सहकार्यमा थप नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने बताए ।
भूकम्प पीडितलाई तत्काल राहत
प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पपीडितहरूलाई तत्काल राहत पु¥याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।प्रदेशसभालाई विशेष सम्बोधन गर्दै भूकम्प पीडितलाई तत्काल राहत पु¥याउने बताएका हुन् ।आइतबार नै जाजरकोट, रुकुम पश्चिम र सल्यानमा कार्यालय स्थापना गरेर भूकम्प पीडितका लागि काम सुरु गर्ने ओलीले बताएका हुन् ।
‘आइतबार गृहमन्त्री आएर कार्यालय स्थापना गर्दै हुनुहुन्छ, उनले भने, पीडितलाई स्थानीस्तरबाटै राहत उपलब्ध गराउने लक्ष्य सरकारको छ’ उनले भूकम्प पीडितका नाममा केही बेथिति भएको बताए । जाजरकोटमा सबै घर ४८ हजार छैनन्, पहिलो किस्ता ४८ हजारलाई बाँड्यौँ,’ उनले भने ‘यो बेतिथि हो, यस्ता घटनाहरूलाई अवसरको रूपमा लिनु हुँदैन ।’ ओलीले ‘प्रधानमन्त्री जोडिएका सबै कार्यक्रमको नाम परिवर्तन गरेर प्रधानमन्त्री लेखिएको ठाउँमा ‘राष्ट्रिय’ शब्द राखिने बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत प्रधानमन्त्री शब्द जोडिएका नाम हटाएर राष्ट्रिय राख्ने तयारी छ,’ उनले भने अब प्रधानमन्त्री कृषि आधुनिकीकरणको ठाउँमा राष्ट्रिय कृषि आधुनिकीकरण, प्रधानमन्त्री रोजगार कार्यक्रमको ठाउँमा राष्ट्रिय रोजगार कार्यक्रम राख्ने बताए ।प्रधानमन्त्रीका नाममा, मुख्यमन्त्रीका नाममा, मेयर–अध्यक्षको नाममा कार्यक्रम राख्न जरुरी नरहेको उनको भनाई थियो ।
मध्यपश्चिम प्रदेश भनेपछि
ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई मध्यपश्चिम प्रदेशका मुख्यमन्त्री भनेका छन् । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा सुरुमै उनले मध्यपश्चिम प्रदेशका मुख्यमन्त्रीज्यू भन्दै सम्बोधन सुरु गरेका थिए ।
उनले रोष्टमबाटै कर्णालीका मुख्यमन्त्री भन्नुपर्नेमा मध्यपश्चिमका मुख्यमन्त्री भनेपछि पछाडीबाट आवाज आउन थाल्यो मध्यपश्चिम होइन कर्णाली हो कुलपतिज्यू । त्यसपछि प्रधानमन्त्री ओली बोल्न छोडेर थोरै अड्किए । उनले फेरि हाँस्दै भने, कर्णाली भन्नुपर्ने उता मध्यपश्चिम गइसके छ ।
यस समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री, आर्थिक मामिला मन्त्री लगायत अन्य मन्त्रीहरू उपस्थित थिए। प्रधानमन्त्री ओलीको यस्तो भुलले समारोहमा उपस्थित सांसद, मन्त्री तथा अन्य अतिथिहरूलाई हाँसोको माहोल बनेको थियो।






