बालिका मृत्युको निष्पक्ष छानविन हुनुपर्ने माग

सुर्खेत, २७ फागुन ।
सुर्खेतको वीरेन्द्रनगरमा एक बालिकाको बलात्कारपछि हत्या भएको भन्दै मानव अधिकारसम्बद्ध संघ–संस्थाहरूले निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् । जिल्लाको गुर्भाकोट नगरपालिका–६, घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१, बस्दै आएकी १६ वर्षीया बालिकामाथि २३ फागुन २०८२ मा वीरेन्द्रनगर–४, स्थित सहिद पार्क नजिकको जङ्गलमा बलात्कारपछि हत्या भएको उनीहरुले दावी गरेका छन् ।
मंगलबार मानवअधिकारका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरूले उक्त घटनालाई अत्यन्त दुःखद, अमानवीय र निन्दनीय भएको भन्दै निष्पक्ष छानबिन गरी संलग्न दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न प्रशासन समक्ष माग गरेका छन् । साथै पीडित परिवारलाई शीघ्र न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।
अधिकारकर्मीहरूले महिला तथा बालिकामाथि हुने यौन हिंसा र अपराधका घटनाको रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी तथा सचेतनामूलक कार्यक्रमहरूलाई अझ सुदृढ बनाउन राज्यका निकायलाई ध्यानाकर्षण गराएका छन् ।
घटना बारे इन्सेक, एड्भोकेसी फोरम, दलित महिला संघ (फेडो), दलित सेवा संघ, मानव अधिकार रक्षक सञ्जाल सुर्खेत लगायतका विभिन्न संघ–संस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् ।
उनीहरूले सुरक्षित, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि राज्यका निकाय, नागरिक समाज तथा आम नागरिक सबैको साझा प्रतिबद्धता र सक्रिय भूमिका आवश्यक रहेको पनि बताएका छन् । साथै यस विषयमा जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला सरकारी वकिल कार्यालय सुर्खेत र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयको समेत ध्यानाकर्षण गराइएको जनाइएको छ ।
के हो घटना ?
२३ फाुगनमा वीरेन्द्रनगर नगरपालिका–४, स्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिसा विक बेहोस अवस्थामा फेला परेकी थिइन । सोही दिन प्रहरीले विकको बलात्कारपछि हत्या गरेको आरोपमा १६ वर्षीय बालकलाई घटनास्थलबाटै गिरफ्तार गरेको थियो ।
थप अनुसन्धानका लागि २४ फागुनमा अन्य १५, १६ र १७ वर्षीय बालकहरुलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्ष मोहनजंग बुढथापाले दिए । मृतक बालिका कक्षा ११ मा अध्ययनरत थिइन् । मृतकका आफन्तहरूले सामुहिक बलात्कारपछि हत्या भएको भन्दै दोषीहरुलाई कारबाहीको माग गरिरहेका छन् ।






