हानिकारक सामाजिक विकृति अन्त्य गर्न धार्मिक अगुवा र सहजकर्तालाई तालिम

सुर्खेत, १२ असार ।
सुर्खेतको वीरेन्द्रनगरमा विभिन्न धार्मिक समूहभित्र रहेका सामाजिक समस्या र विसंगतिहरूलाई सम्बोधन गर्ने उद्देश्यका साथ तीन दिने प्राविधिक तालिम सम्पन्न भएको छ । युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रस्टको आयोजनामा सञ्चालित ‘फेथ एण्ड डेभलपमेन्ट’ (विश्वास र विकास) परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । वीरेन्द्रनगरमा बसोबास गर्ने मुख्य चार धार्मिक समुदाय (हिन्दु, मुस्लिम, क्रिस्चियन र बौद्ध) का सहजकर्ताहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।


समाजमा विद्यमान विभिन्न सामाजिक सवालहरू जस्तै— छुवाछुत तथा विभेद, छाउपडी प्रथा, र युवाहरूमा बढ्दो लागूऔषध दुव्र्यसनी (ड्रग युज) जस्ता विकृतिहरूको पहिचान यसअघि नै गरिएको थियो । ती समस्याहरूको गहिरो विश्लेषण गर्दा कतिपय अवस्थामा धार्मिक आस्था र परम्परागत विश्वास पनि जोडिएको पाइएकाले धार्मिक अगुवाहरूकै माध्यमबाट समाज सुधारको पहल थालिएको युनाइटेड मिसन टु नेपाल कर्णाली प्रदेश क्लस्टरका टिम लिडर रमेश थिङले जानकारी दिए । उनका अनुसार विभिन्न धार्मिक समुदायका व्यक्तिहरुलाई राखेर पहिलो पटक सामाजिक विकृति अन्त्यमा साझा धारण बनाउन तालिम दिइएको हो । धार्मिक समूहभित्रैबाट सकारात्मक सन्देश प्रवाह गर्न सके समाजमा गहिरो गरी स्थापित भएका समस्याहरूलाई प्रभावकारी रूपमा समाधान गर्न सकिने छलफलको निष्कर्षका आधारमा यो परियोजना विकास गरिएको उनले बताए ।


‘कुनै पनि एक धार्मिक समूहको व्यक्ति अर्को धार्मिक समूहमा गएर छलफल चलाउँदा धार्मिक परिवेश (कन्टेक्स्ट) नमिल्ने र धर्मग्रन्थका कुराहरू थाहा नहुने व्यावहारिक चुनौती रहन्छ । त्यसैले, सम्बन्धित धार्मिक समूहकै व्यक्तिले आफ्नै समुदायभित्र छलफल चलाउनु उपयुक्त हुने भएकाले उहाँहरूकै सिफारिसमा सहजकर्ताहरू छनोट गरिएको हो,’ उनले भने । तालिम प्राप्त गरेपछि यी सहजकर्ताहरूले आ–आफ्नो समुदायमा फर्केर आफ्नै धर्मग्रन्थमा उल्लेख भएका सकारात्मक र मानवीय कुराहरूलाई जोड्दै सामाजिक मुद्दाहरूमा नियमित बैठक र छलफलहरू चलाउने छन् । यसले समुदायमा सचेतना अभिवृद्धि गर्नुका साथै आ–आफ्नो क्षेत्रका समस्या समाधानका लागि ठोस कार्ययोजना बनाई कार्यान्वयन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । आयोजकका अनुसार धार्मिक अगुवाहरूको अनुमति र समन्वयमा गठन गरिएका समूहहरूबाट प्रत्येक धार्मिक समुदाय (हिन्दु, मुस्लिम, क्रिस्चियन र बौद्ध) का ४÷४ जना गरी कुल १६ जना सहजकर्ताहरू तालिममा सहभागी भएका थिए । तालिममा समस्याको पहिचान कसरी गर्ने, त्यसलाई समाधानको दिशामा कसरी लैजाने र समुदायमा छलफल कसरी सहजीकरण गर्ने भन्ने जस्ता प्राविधिक विषयहरूमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो ।

हानिकारक सामाजिक विकृति अन्त्य गर्न धार्मिक अगुवा र सहजकर्तालाई तालिम

भवानीका सञ्चालकलाई उत्कृष्ट महिला उद्यमी पुरस्कार

Leave a comment

Your email address will not be published. Required fields are marked *