जुम्लामा बढ्दो लागूऔषध दुरुपयोग, किशोर–युवा बढी प्रभावित

गाेल्डेन बुढा

जुम्ला,१२ असार।
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा शुक्रबार जुम्लाको सदरमुकाम खलंगामा सप्ताहव्यापी सचेतना कार्यक्रम सुरु गरियो। कार्यक्रममा सहभागी सरोकारवालाले लागूऔषध नियन्त्रण सुरक्षा निकायको एकल प्रयासबाट सम्भव नहुने भन्दै परिवार, विद्यालय, स्थानीय तह, समुदाय र नागरिकको साझा जिम्मेवारी तथा प्रभावकारी समन्वय अपरिहार्य रहेको जाेड दिए।प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले लागूऔषध नियन्त्रणमा परिवार पहिलो जिम्मेवार पक्ष भएको उल्लेख गर्दै जुम्ला–कालिकोट सीमा क्षेत्रमा निगरानी थप कडा बनाइएको बताए। उनले लागूऔषध नियन्त्रणका लागि प्रहरीको सक्रियतासँगै नागरिकस्तरको सचेत सहभागिता पनि उत्तिकै आवश्यक रहेको बताए।चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष बृर्खबहादुर कार्कीले लागूऔषध नियन्त्रणलाई प्रहरीको मात्र दायित्वका रूपमा हेर्न नहुने धारणा राखे। कानुन सबैका लागि समान रूपमा कार्यान्वयन हुनुपर्ने र समुदाय स्वयं पनि नियन्त्रण अभियानमा सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

 

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण शर्माले लागूऔषध दुरुपयोगले व्यक्तिको स्वास्थ्य मात्र नभई परिवार, सामाजिक सम्बन्ध र समग्र समुदायमा दीर्घकालीन नकारात्मक असर पार्ने भएकाले विद्यालय तहदेखि नै निरन्तर सचेतना आवश्यक रहेको बताए। सप्ताहव्यापी कार्यक्रममार्फत लागूऔषधका असर, रोकथामका उपाय र कानुनी व्यवस्थाबारे नागरिकलाई जानकारी गराउँदै विशेषगरी युवालाई सुरक्षित भविष्यतर्फ उन्मुख गराउने उद्देश्य राखिएको छ।यद्यपि सचेतनामूलक अभियान निरन्तर सञ्चालन भइरहे पनि जिल्ला प्रहरी कार्यालय जुम्लाका तथ्यांकले लागूऔषधको कारोबार र प्रयोग घट्न नसकेको देखाउँछन्। प्रहरी निरीक्षक निर्देश बरालका अनुसार पछिल्ला वर्षहरूमा लागूऔषध कारोबार र प्रयोगमा नयाँ पुस्ताको संलग्नता उल्लेखनीय रूपमा बढेको छ। परिवार तथा अभिभावकको हेलचक्र्याइँ, कमजोर निगरानी र सामाजिक नियन्त्रणको कमीका कारण किशोर तथा युवा उमेर समूह लागूऔषधको लतमा फस्दै गएको उनको भनाइ छ।प्रहरीका अनुसार हालसम्म जुम्लामा लागूऔषधसम्बन्धी ७१ वटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७८/०७९ मा ७, आर्थिक वर्ष २०७९/०८० मा १२, आर्थिक वर्ष २०८०/०८१ मा १६ तथा आर्थिक वर्ष २०८१/०८२ मा ब्राउन सुगर र चरेससम्बन्धी २३ वटा मुद्दा दर्ता भएका थिए। चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म १३ वटा मुद्दा दर्ता भइसकेका छन्।चालु आर्थिक वर्षमा चन्दननाथ नगरपालिकाबाट ११ जना, तातोपानी गाउँपालिकाबाट १ जना र हिमा गाउँपालिकाबाट १ जना पक्राउ परेका छन्। ती क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।प्रहरीको विश्लेषणअनुसार लागूऔषधको प्रयोग आइतबार र मंगलबार बढी हुने गरेको छ भने साँझ ६ बजेदेखि राति १२ बजेसम्म प्रयोगको दर उच्च देखिएको छ। उमेरगत रूपमा हेर्दा १६ देखि ३५ वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित छ। त्यसमा पनि १६ देखि २५ वर्ष उमेर समूहको संख्या उल्लेखनीय छ। तथ्यांकअनुसार १६ वर्षमुनिका ४ जना, १६ देखि २५ वर्षका २५ जना र २६ देखि ३५ वर्षका ७ जना लागूऔषधसम्बन्धी घटनामा संलग्न भेटिएका छन्।

पेसागत अवस्थालाई हेर्दा चालु आर्थिक वर्षमा पक्राउ परेकामध्ये विद्यार्थी १४ जना, बेरोजगार ११ जना, कृषक ५ जना, अन्य ३ जना, व्यापारी २ जना र सहचालक १ जना रहेका छन्। यसले लागूऔषधको समस्या केवल अपराधको विषय मात्र नभई सामाजिक, शैक्षिक र पारिवारिक चुनौतीका रूपमा विस्तार हुँदै गएको संकेत गरेको छ।स्थानीयका अनुसार लागूऔषधको बढ्दो प्रयोग अहिले जुम्ला समाजकै गम्भीर चिन्ताको विषय बनेको छ। विशेषगरी कर्णाली राजमार्गअन्तर्गतका विभिन्न नाकाबाट लागूऔषध भित्रिने क्रम बढ्दै गएको भन्दै प्रहरीले सीमा क्षेत्रमा थप कडाइ, निगरानी र अन्तरनिकाय समन्वय आवश्यक रहेको जनाएको छ।लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। २५ बोटसम्म गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना तथा २५ बोटभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद वा पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। त्यसैगरी एक पटक सजाय पाइसकेपछि पुनः लागूऔषधसम्बन्धी अपराध दोहोर्‍याउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान ऐनमा उल्लेख छ।

जुम्लामा बढ्दो लागूऔषध दुरुपयोग, किशोर–युवा बढी प्रभावित

हानिकारक सामाजिक विकृति अन्त्य गर्न धार्मिक अगुवा

जुम्लामा बढ्दो लागूऔषध दुरुपयोग, किशोर–युवा बढी प्रभावित

जुम्लाका ३६८ भेडापालक किसानलाई गोठालो भत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *