भवानीका सञ्चालकलाई उत्कृष्ट महिला उद्यमी पुरस्कार

सुर्खेत, १२ असार ।
भवानी छापाखाना, सुर्खेत तथा विसी ग्रुप अफ कर्णालीका सञ्चालक हिमकुमारी उपाध्यायलाई उत्कृष्ट महिला उद्यमी पुरस्कार प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले विहिबार वीरेन्द्रनगरमा एक कार्यक्रमवीच सञ्चालक उपाध्यायलाई नगद एक लाखसहित उत्कृष्ट महिला उद्यमी पुरस्कार वितरण गरिएको हो ।
स्थानीय स्रोत साधनको प्रयोगबाट भवानी छापाखाना वीरेन्द्रनगर–१२ सुर्खेतमा स्थापना गरी स्थानीय स्तरमा रोजगारी सृजना गर्दै आर्थिक विकास र समृद्धिमा पुर्‍याएको योगदानको सम्मान तथा उच्च मुल्याङ्कन गर्दै सुर्खेत जिल्लाबाट उत्कृष्ट महिला उद्यमीको रुपमा छनौंट गरी ‘महिला उद्यमी पुरस्कार २०८२’ प्रदान गरिएको छ । सामाजिक विकास मन्त्रालय मन्त्री घनश्याम भण्डारी, मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठ, महाशाखा प्रमुख सुवर्ण कुमार खड्काद्धारा हस्ताक्षरसहितको सम्मान पत्र र नगद रकम प्रदान गरिएको थियो ।
सोही अवसरमा कर्णालीका अन्य ६ जना महिला उद्यमीहरुलाई समेत पुरस्कृत गरिएको छ । जाजरकोटबाट शिला विश्वकर्मा (नेपाली), जे एफ.रत्न पत्थर प्रशोधन केन्द्र, तारा विक रुकुम पश्चिमबाट सुसाङ्क फर्निचर उधोग, कालीकोटबाट दुर्गा कठायत पचाल झरना जडिबुटी प्रशोधन उधोग, डोल्पाबाट पम्फा बुढा पुष्पा अल्लो प्रशोधन कटाई बुनाई उधोग, हुम्लाबाट कलाशादेवी चौलागाई पानीखाला स्याउ तथा नर्सरी फर्म, जुम्लाबाट पार्वती महत हिमालयन एग्रो फार्म पुरस्कृत तथा सम्मानित भएका छन् ।

मुद्रण उधोगमा करोडौंको लगानी पचासबढी रोजगारी

उधोग :– भवानी छापाखाना
ठेगाना : वीरेन्द्रनगर–६, सुर्खेत । उधोग : वीरेन्द्रनगर औधोगिक क्षेत्रभित्र
उधोग दर्ता मिति : २०५६/०५/२१ गते
उधोग दर्ता नं. : ४४३/२०५६/०५७
कुल पुँजी : एक करोड, स्थिर पुँजी : ६० लाख, चालु पुँजी : ४० लाख
सम्पर्क नं. : ९८५१३२९१३९/९८५८०६७९९९
सुर्खेतको वीरेन्द्रनगरकै पुरानो भवानी छापाखानाको सञ्चालक छिन् हिमकुमारी उपाध्याय । सानो उद्यमशिलताबाट सुरु भएको उनको उधोगमा हाल २५ करोड रुपैयाँ बराबरको लगानी रहेको उनी बताउँछिन् तर कुनै बेला उनलाई साँझबिहानको छाक टार्न पनि धौंधौं हुन्थ्यो । ती दिन धेरै पुराना होइनन्, मात्रै १५–१६ वर्षअघि ।
पत्रिका बिक्री गर्ने ‘हकर’ हिमा कसरी करोडौं लगानी गरेर उधोगपति बन्न सफल भइन् ? उनको संघर्षपूर्ण कथा धेरैका लागि प्रेरणादायक बन्न सक्छ । २०४७ चैत्र ११ गते सुर्खेतको कल्याण गाविस–८ मा जन्मिएकी हिमा कक्षामा सधैं प्रथम हुन्थिन् । कक्षामा प्रथम भएबापत उनले केही नगद पुरस्कार पाउने गर्थिन् । ‘२ कक्षामा प्रथम हुँदा मैले पुरस्कारबापत पाएको पैसाले घरमा भाले र एउटा पोथी कुखुरा किनेर पाले । आमाले घर खर्च चलाउन गाउँमा केरा संकलन गरेर बिक्री गर्नुहुन्थ्यो । स्कूल बिदाको दिनमा म पनि आमासँगै केरा संकलन गरेर घरदेखि ३ घण्टाको पैदल यात्रामा वीरेन्द्रनगर आएर बेच्थ्यौं,’ उनले बाल्यकाल सम्झिइन्, ‘केरा बेचेर नाफा भएको पैसा मेरो हातमा हुन्थ्यो, त्यो क्षणमा म धेरै खुशी हुन्थे । मनमनै सोच्थे – यो पैसा म जस्तै पैसा अभावले पढ्न नपाएका र दुःखीहरूलाई दिन पाए हुन्थ्योझै लाग्थ्यो ।’
प्राथमिक शिक्षा गाउँ नजिकैको स्कूलबाट पास गरेपनि बाँकी पढाइका लागि उनलाई सहज थिएन । घरदेखि ३ घण्टा टाढाको हिँडाइपछि मात्र माध्यामिक स्कूल पुग्नुपर्थ्यो । उनले दुःख कष्ट भोग्दै माध्यमिक शिक्षा हासिल गरिन् । गाउँमा एसएलसी पास गरेका कोही महिला उतिबेला रहेनछन् तर उनले भने एसएलसी पास गरिन् । एसएलसी परीक्षा सकिएपछि खाली समयको सदुपयोग गर्न खोलाको बालुवा संकलन गर्ने काम गरेको समेत उनले बताइन् ।
गाउँमा केरा संकलन गर्ने काम प्रभावकारी नभएपछि उनले झुप्रा खोलामा बालुवा संकलन गर्ने काम गर्न थालिन् । ‘खोलामा गएर वालुवा संकलन गर्दै उच्च शिक्षा पढ्ने सोच बनाएँ । बालुवा संकलन गर्ने काम यति गाह्रो थियो कि दिनभर बालुवा बनाएपछि साँझ त्यो हातले खाना खान त के, चम्चा समाउन सक्थेनँ तर बाध्यता दैनिक बालुवा संकलन नगरे उच्च शिक्षा पढ्ने सपना अधुरै हुने भएकाले काम गरिरहें,’ उनी सम्झिन्छिन्, ‘खोलामा मैले काम गरेको देख्दा मान्छे कानेखुशी गर्थे र भन्थे – नानी तिमी त यत्रो पढेको मान्छे किन यहाँ यसरी बालुवा बनाउन आएको ? जागिर खाए हुने नि ! बालुवा संकलन गर्‍यो भने मात्र दैनिक हजार रुपैयाँ कमाइ हुन्थ्यो ।’
उनी जवान हुँदै जाँदा बिहे गर्न र फकाउन समेत धेरै आए तर पढाइका कारण वास्ता गरिनन् । पछि उनले २०६७ मंसिर २९ गते पारिवारिक सहमतिमै पुख्यौली घर जाजरकोट भई हालको वीरेन्द्रनगर–१० पदमपुर बस्ने पेशाले पत्रकारिता गर्ने दिपक कुमार बुढा क्षेत्रीसँग अन्तरजातीय विवाह गरिन् । दिनभर नकमाए साँझ भोकै बस्नुपर्ने अवस्था दिपकको पनि थियो । ‘विवाहपछि म सहकारीको फिल्ड प्रतिनिधिको रुपमा हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड लाटीकोइलीमा काम गर्थें, जसबाट आएको पैसाले ४ जनाको परिवारलाई पाल्न त के साँझबिहान खानसम्म पुग्दैनथ्यो, म सधै एक्लै रुन्थें । भोलि के खाने र खुवाउने ? के अब जिन्दगी यसरी नै चल्ला त भनेर सोच्थें,’ उनले भनिन्, ‘समय बित्दै गयो, दिन फेरिने छाँटसम्म थिएन । आफू त भोकै बस्न सकिन्थ्यो तर घरमा नन्द, देवरलाई के खुवाउनु ? कहिले चामल हुन्थ्यो, दाल हुन्थेन, दाल हुन्थ्यो, तेल हुन्थेन कतिदिन चल्ला यसरी लाग्थ्यो । जिन्दगीमा पेटभर खाने दिन कहिल्यै आउँदैन, कहिलेकाहीँ आमाले चामल, पिठो, दाउरा पठाइदिनुहुन्थ्यो । खाना त यस्तै थियो, जब कलेजको शुल्क, किताब, कपडा, चार्डबाड आउँथ्यो अभिसाप नै भएर आउँथ्यो । कति रात त दुवै बुढाबुढी रोएरै बसिदिन्थ्यौं ।’
श्रीमान्‌लाई ग्राफिक डिजाइन, टाइप, प्रिन्ट सम्बन्धीको काम आउँथ्यो । घर सल्लाह गरेर घरमै भएको कम्यूटरमा केही सरसामान जोडेर कम्प्यूटर डेक्सटप सुरु गर्ने योजना बनायौं । समय बित्दै जाँदा पत्रिका बिक्री गर्ने व्यवसाय शुरू गर्ने योजना बनाइएको हिमाले बताइन् । ‘२०६८ वैशाखदेखि अल्फा कम्युनिकेसन कर्नर नाममा फर्म दर्ता गरी राष्ट्रिय पत्रिका (कान्तिपुर, गोरखापत्र, नागरिक) को वितरण शुरू गर्‍यौं । एकातिर मेरो सहकारीको जागिर, अर्कोतर्फ पत्रिका बिक्री गर्ने कार्य आफैंमा चुनौतीपूर्ण थियो । त्यसमा पनि महिलाले पत्रिका बोकेर घरघर पुर्‍याउन जाने अर्को चुनौती थियो,’ उनी भन्छिन्, ‘म त्यो गर्मीमा दिनभर साइकलमा पत्रिका बाँड्थें । सुर्खेतमा पत्रिका बाँड्ने पहिलो महिला सम्भवतः म नै थिएँ । एकातिर सहकारीको जागिर र एकातिर पत्रिका बाँड्नुपर्ने म बिहान सहकारीको पैसा उठाउन जान्थें अनि दिउँसो पत्रिका बाँड्न । पत्रिका बाँड्न जाँदा मलाई धेरैले खिल्ली उडाउँथे तर मलाई त्यसको कुनै पर्वाह थिएन । किनकि म काममा विश्वास राख्थे । बिस्तारै पत्रिकाको ग्राहक पनि बढ्दै गए र दिनमा १०–२० रुपैयाँ खुद्रा बिक्रीबाट पनि कमाउँथें ।’
नियमित सेवा राम्रो भएकाले साउनबाट पत्रिकाको माग बढ्यो । उनी नागरिक, कान्तिपुर, गोरखापत्र गरेर दिनमा ४५० पत्रिका बाँड्न थालिन् । उनको कमाइ बिस्तारै कोठा भाडा तिर्न सक्ने हुन थाल्यो । ‘राम्रो गर्नुपर्छ, केही नयाँ गर्नुपर्छ भनेर सधै नयाँ योजना बारे सोचिरहन्थ्यौं । पसल शुरू गरेको पनि बर्षदिन पुग्न थालेको थियो, अलि–अलि पैसा जम्मा गरेका थियौं । त्यसैले एउटा बाइक किन्ने, सहकारीको जागिर पनि छाड्ने र धेरै टाढासम्म बाइकमै पत्रिका बाँड्ने सोचका साथ बाइक किन्यौं,’ उनले भनिन् ।
यसैबीच हिमाको परिवारमा नयाँ योजना अगाडि बढ्यो । ‘नागरिक पत्रिकामा सुर्खेतको सबैभन्दा पुरानो छापाखाना भवानी छापाखाना बिक्रीमा भनेर विज्ञापन रहेछ । मेरो श्रीमान् गएर कुरा गर्नु भएछ । मूल्य १२ लाख भनेछन् । यत्रो पैसा त कहाँ पाउनु ? सोधी हेरेको पो भनेर वास्ता गर्नु भएनछ । केही दिनपछि कुरा गर्दा उहाँले मलाई सबै कुरा भन्नुभयो,’ उनले भनिन्, ‘१ वर्षभित्र पूरा रकम नबुझाएपछि दिएको पेश्की रकम पनि पच गराउने र छापाखाना पनि आफैं फिर्ता लिने गरी कागजी सहमति भयो । २०६९ साउन १ गतेबाट हामीले जिम्मा लियौं ।’


छापाखानामा हात हालेपछि हिमाको जिन्दगीले नयाँ मोड लियो । उनले छापाखानाको मेसिन चलाउन पनि सिकिन् । ‘धेरै दिनसम्म श्रीमानले रातिमा मेसिनको कालो पुछ्ने र मैले मेसिन चलाएर रातभर पत्रिका छाप्थ्यौं । नानी पेटमा ५ महिना हुँदासम्म मैले मेसिनमा काम गरें । अनि त कर्मचारीहरू पनि नियमित आउन थाले । नयाँ खालको व्यवस्थापन गर्‍यौं छापाखानामा । महिलालाई नै व्यवस्थापनको प्रमुख बनाइदिएँ,’ उनले भनिन् । नयाँ कर्मचारी थप्दा पनि महिला कर्मचारी नै थपिन् उनले । व्यवसायिक यात्राका दौरान अझै पनि उनलाई के विश्वास छ भने महिलालाई दिएको जिम्मेवारी पुरुषलाई दिएको जिम्मेवारीभन्दा कयौं गुणा सफलतापूर्वक निर्वाह गर्न सक्छन् । ‘महिलालाई प्रमुख बनाएपछि व्यवस्थापन पक्ष बलियो भएको छ,’ उनले भनिन् ।
छापाखाना जिम्मा लिएको १ वर्ष पूरा नहुँदै ८ महिनामा २०६९ चैत्र मसान्तमा छापाखानाको सबै ऋण चुक्ता गरिएको उनले स्मरण गरिन् । त्यसपछि छापाखानाको पूर्ण स्वामित्व हिमाको नाममा आयो । २०७० असार मसान्तसम्म उनले अन्यत्रको सबै ऋण चुक्ता गर्न सफल भइन् ।
‘सबै ऋण तिरेको ७ महिनापछि २०७० माघमा एउटा नयाँ अफ्सेट प्रेस मेशिन ८ लाखमा थपें । व्यवसाय शुरू गरेको १३ वर्ष पुग्दैछ,’ उनले सम्झिइन्, ‘पत्रिका बिक्रीबाट शुरू भएको व्यवसाय छापाखाना साहुसम्म पुगेको छ । छापाखाना गरेको सबै सम्पत्ति जोड्दा अहिले झण्डै २५ करोडको लगानी पुगेको छ । छापाखाना प्रविधिमा आवश्यक पर्ने फोरकलर हाइडल मेसिन ३ वटा, ग्लु व्याण्डिङ, लेमिनेसन, वाइरो व्याण्डिङ जस्ता सबै खालका मेसिन सामाग्रीमा लगानी गरेको छु ।’ २०७१ सालमा वीरेन्द्रनगर औधोगिक क्षेत्रभित्र जग्गा भाडामा लिएर उधोगका मेसिनरी औजार तथा पूर्वाधारहरु तयार गरिएको थियो । वि.सं. २०७३ सालदेखी वीरेन्द्रनगर औधोगिक क्षेत्रभित्रबाट छापाखानाका सम्पूर्ण उत्पादन सुरु गरिएको थियो । हाल करिव ३ करोडको लागतमा अफिस र स्टोर भवन निर्माण सम्पन्न भएको छ ।
हिमाले २०७२ असोज १ गतेदेखि करीब ३० लाख रुपैयाँको लगानीमा जाजरकोटमा सिद्धिविनायक अफ्सेट प्रेस खोलेर सेवा विस्तार गरेकी थिइन । त्यसै वर्ष २०७६ असारदेखि डोल्पा सदरमुकाम दुनैमा समेत त्रिपुरासुन्दरी अफ्सेट प्रेस सञ्चालनमा ल्याइएको थियो । संघीयतापछि जाजरकोट सदरमुकामको छापाखानाको राम्रो व्यापार नभएपछि २०८० सालदेखी सोही मेसिन औजार कोहलपुर–११ एनटीभी रोडमा आफ्‌नै घरमा पश्चिम नेपालकै सबैभन्दा ठुलो जर्मन प्रविधिको २८ह४० साइजको हाइडल मेसिनसहित अन्य ४ वटा मेसिनबाट रारा प्रिन्टिङ प्रेसको नामबाट छापाखाना सञ्चालित छ ।’


२०६९ सालदेखि म व्यवसायमा आवद्ध भएर व्यवसायीक यात्रामा जोडिएको आज १५ बर्षभयो । मेरो उधोगका अहिले पनि मासिक सात हजारदेखि ६० हजार सम्म तलव लिने ५५ जना स्टाफ/कर्मचारी रहेका छन् । हाम्रो विसी ग्रुप अन्तगरत रहेका २० वटा विभिन्न व्यवसायीक फर्महरुमा मात्रै करिव एक सय जनाभन्दा बढीलाई रोजगारी दिएका छौं । वीरेन्द्रनगर–६ बुद्धपथमा कार्यालय, वीरेन्द्रनगर औधोगिक क्षेत्र भित्र उधोग स्थापना गरिएको छ । छापाखाना व्यवसायमा मेरो अहिले २५ करोड लगानी भैसकेको छ । काठमाण्डौ, बुटवलपछि सबैभन्दा ठुलो लगानी र नयाँ प्रविधिका मेसिनसहित म एक महिला भएर पनि आँट र साहस गरेर छापाखाना व्यवसायमा विभिन्न चुनौतिहरुको सामना गर्दै अवसर र भविष्यको खोजिमा दौडिरहेको छु । आफ्नो सफलतामा श्रीमान्‌को मुख्य भूमिका, उत्साह र साथ रहेको उनले बताइन् ।
‘श्रीमान्‌ले युगआव्हान राष्ट्रिय दैनिक, गंगामाला ट्राभल्स एण्ड टुर्स प्रा.लि., भवानी अटो वर्कसप, सिद्धिविनायक आयल स्टोर, भवानी अर्डर सप्लायर्स जस्ता फर्मको कारोबार हेर्नुहुन्छ भने मैले भवानी छापाखाना, मेलिना कागज प्रशोधन उधोग, रारा प्रिन्टिङ प्रेस, अल्फा डिजिटल कलर प्रिन्टर्स जस्ता फर्महरुको कारोबार हेर्दै आएको छु ।’ हामीसंग रहेका झण्डै १९/२० वटा व्यवसायीक फर्महरुको साझा विसी फाउण्डेशन ग्रुप सञ्चालनमा रहेको छ यसबाट हामी सामाजिक कार्यहरु गर्दै आएका छौं । बार्षिक आम्दानीको केही अंक सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक कार्य गर्दै आएका छौं ।
आगोमा आधा शरिर जलेर सिम्ताबाट प्रदेश अस्पताल उपचारमा ल्याइएको ७ बर्षिय बालक, कोहलपुरमा क्यान्सरबाट पीडित बालक, आर्थिक अभावमा स्टाफ नर्स पढ्न नपाएकी दलित किशोरीलाई नगद आर्थिक सहयोग गरिएको केही प्रतिनिधिमूलक सहयोग हुन । त्यसैगरी भूकम्प प्रभावित जाजरकोट जुनिचाँदे गा.पा.–१ सरस्वती प्राथमिक विद्यालयका १२५ जना बालबालिकालाई दुई लाख पचास हजार बराबरको न्यानो कपडा, शैक्षिक सामाग्री वितरण गरिएको थियो । आफूले माध्यमिक शिक्षा लिएको सरस्वती मावि कल्याणलाई उच्च मावि बनाउन उनले ५१ हजार १५१ रुपैयाँ आर्थिक सहयोग गरिन् । प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पताल बनाउन २५ हजार ५५५ रुपैयाँ र सुर्खेतमा सञ्चालित वृद्धाश्रमको ५ हजार रुपैयाँ सहयोग गरेर आजीवन सदस्य बनेको उनले बताइन् । सुर्खेतमा आएको बाढीका पीडित लगायतका थुप्रै ठाउँमा आर्थिक सहयोग गरेकी छन् उनले ।

मैले प्राप्त गरेका सम्मान तथा पुरस्कार
१. म एक कर्मठ महिला ‘केयर नेपालले देशभरीबाट १० जना सफल उद्यमी महिलाहरु मध्य ॅसफल महिला उद्यमी अभिप्रेणा अभियान–२०७३ बाट सम्मानित,
२. अन्तर्राष्ट्रिय नारी दिवस–२०७३ मा एम्नेष्टि इन्टरनेशनल नेपाल, लयर्स समूह–६९ सुर्खेतबाट ॅसफल महिला उद्यमी सम्मान–२०७३ बाट सम्मानित,
३. न्यू विजनेश ऐज (आर्थिक अभियान) द्धारा ॅन्यू बिज विजनेश ओमेन समिट अवार्ड–२०२१’ बाट सम्मानित ।
४. नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयबाट “राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७८” बाट नगद १ लाखसहित सम्मानित ।
५. महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा ॅराष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार–२०८०’ द्वारा नगद १ लाख सहित सम्मानित ।
६. वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालय सुर्खेतबाट ॅबर्ष उत्कृष्ट उद्यमी सम्मान–२०८१
७. कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट ॅउत्कृष्ट महिला उद्यमी पुरस्कार–२०८२’ द्धारा नगद एक लाखसहित सम्मानित

देशभित्रै सम्भावनाको खोजी गर्दै १९ बर्षकै युवा अवस्थामा उच्च मावि र क्याम्पस तह पढ्दै व्यवसायको सुरुवात गरेकी थिइन । व्यवसायमा आवद्ध भएको १५ बर्षमा व्यवसायका विभिन्न क्षेत्रमा कर्णाली प्रदेशमा आफ्‌नो छुट्टै पहिचान स्थापित गर्न सफल भएकी छन् । २० हजारबाट सुरुभएको कम्प्यूटर डेक्सटप, पत्रिका विक्रि कर्नर अहिले जर्मनमा निर्मित अत्याधुनिक हाइडलवर्क फोरकलर, ट्राभल्समा सुविधासम्पन्न फोरह्‌वील गाडीसम्म पुगेको छ । छापाखानामा २५ करोड र अन्य व्यवसायिक क्षेत्रमा मात्रै १५ करोडबढीको लगानी भैसकेको छ । ‘गुडने–उड्ने–पढ्ने लेख्ने : लाउने–खाने–हाँस्ने खेल्ने’ मुल मन्त्रलाई आत्मसाथ गरी व्यवसायका क्षेत्रमा चौतर्फी बृद्धि विकास गरिँदै लगिएको छ ।
गुडने–उड्ने :– गंगामाला ट्राल्भस एण्ड टुर्स प्रा.लि. को माध्यमबाट जमिनमा गुडाउनेदेखी आकाशमा उडाउने सम्मका विभिन्न पर्यटकीय गतिविधिहरु एक दशकदेखी गरिँदै आएको छ ।
पढ्ने–लेख्ने : सुर्खेतमा भवानी छापाखाना, कोहलपुरमा रारा प्रिन्टिङ प्रेसबाट शैक्षिक गतिविधिजन्य कार्यहरु गरिँदै आएको छ । आम सञ्चार माध्यम युगआव्हान राष्ट्रिय दैनिक तथा युगन्यूज मिडिया ग्रुप (युगन्युज डट कम, जब कर्णाली डट कम, टेण्डर कर्णाली डट कम, इबजार डट कम) माध्यमबाट पढ्ने, लेख्ने शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आइएको छ ।
लाउने–खाने : कर्णाली प्रदेशको पहाडी जिल्लामा पाईने स्थानीय कच्चा पदार्थमा आधारित अल्लो, केरा, भाँगोमा आधारित रहेर गार्मेन्ट उधोगका लागि आवश्यक पर्ने कपडा उत्पादनको प्रारम्भिक चरण धागो उत्पादनमा अध्ययन–अनुसन्धान जारी छ संगै कपडा बुन्ने तान मेसिन खरिद गरी जडान गरिएको छ । केही समयमा त्यसले उधोगको रुप ग्रहण गर्नेछ । दाजु कर्ण बहादुर बुढाको स्वामित्वमा रहेको र विसी ग्रुपमा आवद्ध सामेल एग्रीकल्चर प्रा.लि. को माध्यमबाट दैनिक उपभोग्य तरकारी उत्पादनतर्फ अग्रसर हुँदै अत्याधुनिक टनेल प्रविधिमा आधारित व्यवसायीक तथा बेमौसमी तरकारी उत्पादनलाई अगाडी बढाइएको छ । भने हस्पिटालिटीको क्षेत्रमा प्रवेश गर्नका लागि अध्ययन भैरहेको छ ।
हाँस्ने–खेल्ने : पर्यटकीय गतिविधिका साथै कला, साहित्य, गीत, संगितलाई थप व्यवसायीक बनाउँदै फनपार्क, चिल्ड्रेन पार्क जस्ता मनोरञ्जनका विभिन्न क्षेत्रमा पनि लगानीलाई विस्तार गर्ने आगामी योजना रहेको छ ।

अन्तमा :–
पर्यटनतर्फ ट्राभल्स एण्ड टुर्सको क्षमता बृद्धि गरी देशभित्र र विदेशी देश बाहिरका पर्यटकलाई गुडाउने–उडाउने, यात्रादेखि बास, गासदेखि कपाससम्मको सुविधा उपलब्ध गराउने योजना छ । कर्णालीमै रहेका कच्चा पदार्थमा आधारित शुद्ध लोक्तामा आधारित नेपाली हातेकागज, अल्लो–केरा–बाँस–भाँगोबाट धागो उत्पादन गर्नका लागि उधोग स्थापना तथा सञ्चालन, बैकल्पिक शौर्य उर्जा, जलविद्युतका क्षेत्रमा लगानी गर्नुका साथै व्यवसायका विभिन्न क्षेत्रहरुको अध्ययन, अनुसन्धान पहिचान गरी बर्षेनी लगानी बढाउने, रोजगारीको सृजना गर्दै करिव एक हजार व्यक्तिलाई प्रत्येक्ष रोजगारी दिने र बार्षिक १०० करोड बढीको व्यवसायीक कारोबार गर्ने दिर्घकालिन योजना रहेको छ । विसी ग्रुप फाउण्डेशनलाई सामाजिक कार्य गर्ने गरी संस्थागत रुपमा अगाडी बढाउने र बार्षिक कमाईको केही प्रतिशत सामाजिक उत्तरदायित्वतर्फ सेवामूलक, मानविय सहायताका कार्य, सिमान्तकृत तथा जोखिममा रहेका महिला तथा बालबालिकाको क्षेत्रमा खर्च गर्ने मेरो सपना रहेको छ । (सम्वाददातासंग गरिएको कुराकानीमा आधारित)

भवानीका सञ्चालकलाई उत्कृष्ट महिला उद्यमी पुरस्कार

व्यक्तित्व चर्चा : दानीज्ञानी हुन जनकराज शर्मा

भवानीका सञ्चालकलाई उत्कृष्ट महिला उद्यमी पुरस्कार

भवानीका सञ्चालकलाई उत्कृष्ट महिला उद्यमी पुरस्कार

Leave a comment

Your email address will not be published. Required fields are marked *