रास्वपाले लुम्बिनीका जिल्लामा विविध कार्यक्रमसहित मनाउँदै अन्तर्राष्ट्रिय युवा दिवस

कपिल अन्जान
कोहलपुर, २७ साउन
अन्तर्राष्ट्रिय युवा दिवस–२०८३ (अगस्त १२) को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्ला समितिहरूले युवालाई केन्द्रमा राखेर विविध सामाजिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
‘युवा सामाजिक उत्तरदायित्व, नेतृत्व विकास र मानवीय सेवामा’ जोड दिने उद्देश्यसहित श्रावण २३ गतेदेखि ३० गतेसम्म प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम आयोजना गरिएको रास्वपा लुम्बिनी प्रदेशले जनाएको छ ।
कार्यक्रमअन्तर्गत वातावरण संरक्षण, सरसफाइ, वृक्षारोपण, रक्तदान, स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य सचेतना, लागुऔषधविरुद्ध अभियान, साइबर सुरक्षा, स्वरोजगार तथा नेतृत्व विकासलगायतका गतिविधि सञ्चालन भइरहेका छन् ।
दाङ जिल्लाका १० वटै स्थानीय तहमा एकैसाथ बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ । त्यस्तै, गुल्मीमा मानसिक स्वास्थ्य, तनाव तथा क्रोध व्यवस्थापनसँगै साइबर सुरक्षा र सामाजिक सञ्जालको जिम्मेवार प्रयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भएको छ ।

बाँकेमा विद्यालयस्तरीय कार्यक्रम, योग शिविर तथा धार्मिक स्थल सरसफाइ, प्युठानमा सबै स्थानीय तहमा सरसफाइ र ट्राफिक सचेतना, कपिलवस्तुमा युवा स्वरोजगार, कृषक समस्या सहजीकरण तथा सामाजिक सद्भाव र्याली आयोजना गरिएको छ ।
बर्दियामा लागुऔषधविरुद्ध विद्यालय तथा समुदायस्तरीय प्रशिक्षण, पश्चिम नवलपरासीमा म्याराथन तथा वैदेशिक रोजगारी र डिजिटल ठगीविरुद्ध सचेतना, रोल्पामा आत्मनिर्भर बन्ने अभिमुखीकरण, ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा सडक मर्मत अभियान सञ्चालन भएका छन् ।
पाल्पामा ‘रूपान्तरणकारी नेतृत्व’सम्बन्धी अभिमुखीकरण तथा धार्मिक स्थल सरसफाइ र अर्घाखाँचीमा विपन्न परिवारलाई खाद्यान्न वितरण तथा शान्ति बगैँचा सरसफाइका कार्यक्रम तय गरिएको छ । रूपन्देहीमा भने युवा दिवसको अवसरमा विभिन्न कार्यक्रमसँगै बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना भएको छ । जिल्लामा दन्त परीक्षण, वृक्षारोपणलगायतका कार्यक्रम पनि सञ्चालन भएका छन् ।
रास्वपा लुम्बिनी प्रदेशका महामन्त्री सि.एम. उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रम रुपन्देहीमा प्रभातफेरी आयोजना गरी समापन गरिनेछ । प्रभातफेरीमा रास्वपा लुम्बिनी प्रदेश कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहनेछ ।
कार्यक्रम समन्वयको भूमिकामा रहेका केन्द्रीय सदस्य तथा सांसद केपी खनाल र केन्द्रीय सदस्य जमुना शर्माको समेत प्रभातफेरीमा उपस्थिति रहने महामन्त्री उपाध्यायले बताए ।
उनका अनुसार युवा दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई युवाको सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता, मानवीय सेवा र आत्मनिर्भरता विकास गर्ने अवसरका रूपमा मनाउने प्रयास गरिएको छ ।

युवा दिवसका कार्यक्रममार्फत युवालाई समाजका विद्यमान समस्या समाधानमा प्रत्यक्ष सहभागी गराउने, सकारात्मक नेतृत्व विकास गर्ने र सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्य रहेको रास्वपा लुम्बिनी प्रदेशले जनाएको छ ।
प्रदेशका जिल्लाहरूमा सञ्चालन भइरहेका कार्यक्रमको विविधताले वातावरण संरक्षणदेखि जनस्वास्थ्य, सामाजिक सचेतना, डिजिटल सुरक्षा, स्वरोजगार र नेतृत्व विकाससम्मका विषयलाई युवासँग जोड्ने प्रयास गरिएको देखिन्छ ।






