कर्णालीबाट ‘ग्लोकल २० अन्डर २०’ मा छनौट भए किशोर न्यौपाने

सुर्खेत, २७ साउन ।
कर्णाली प्रदेशबाट किशोर न्यौपाने ‘ग्लोकल २० अन्डर २०–२०२६’ मा छनोट भएका छन् । २० वर्षमुनिका युवामध्ये नेतृत्व, नवीनता र समुदायमा पु¥याएको प्रभावका आधारमा छनोट गरिने उक्त सूचीमा कर्णालीबाट न्यौपाने मात्र समावेश भएका हुन् । जलवायु न्यायको क्षेत्रमा सक्रिय न्यौपानेले अनुमति वा सहयोगको प्रतीक्षा नगरी आफ्नै खर्चमा वातावरण संरक्षणसम्बन्धी प्रारम्भिक अभियान सुरु गरेका थिए । त्यसयता पाँच वर्षमा उनले सञ्चालन गरेको जलवायु न्याय परियोजनाले कर्णालीमा वातावरण संरक्षण र जलवायु सचेतनाका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।

उनको अभियानअन्तर्गत हालसम्म तीन हजार दुई सय ३० भन्दा बढी वृक्षरोपण गरिएको छ । त्यस्तै, कर्णाली प्रदेशमै पहिलोपटक ‘ट्र्यास कलेक्सन रेस’ अर्थात् फोहोर संकलन दौड आयोजना गरिएको थियो । वातावरण संरक्षणलाई युवाको सक्रिय सहभागितासँग जोड्दै सञ्चालन गरिएको उक्त अभियानले सरसफाइ र जलवायु परिवर्तनसम्बन्धी सचेतना विस्तारमा योगदान पु¥याएको छ ।
न्यौपानेको अभियानले विद्यालय तहमा समेत व्यापक पहुँच बनाएको छ । उनका गतिविधिमार्फत कर्णालीका ५८ साझेदार विद्यालयका २० हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। विद्यालयमा वातावरण संरक्षण, जलवायु परिवर्तन र जिम्मेवार नागरिक सहभागिताका विषयमा अभियान सञ्चालन हुँदै आएको जनाइएको छ । वातावरणीय अभियानलाई संस्थागत बनाउन न्यौपानेले स्थानीय तह, वन कार्यालय र जलाधारसम्बन्धी निकायसँग समेत कार्यगत सम्बन्ध स्थापित गरेका छन् । सरकारी निकायसँगको सहकार्यले उनका अभियानलाई समुदायस्तरबाट नीतिगत तहसम्म जोड्न सहयोग गरेको छ ।


कर्णालीको वातावरणीय समस्या र संरक्षणका विषयलाई प्रदेश सरकारको ध्यानाकर्षण गराउने क्रममा उनले कर्णालीका मुख्यमन्त्रीसमक्ष बुलबुले ताल पुनःस्थापना तथा संरक्षणका लागि प्रत्यक्ष अपिलसमेत गरेका छन्। बुलबुले ताल कर्णालीको महत्वपूर्ण प्राकृतिक तथा पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण आवश्यक रहेको उनको अभियानले जोड दिँदै आएको छ । आफ्नै स्रोतबाट सुरु गरेको वातावरणीय अभियानलाई पाँच वर्षसम्म निरन्तरता दिँदै वृक्षरोपण, सरसफाइ, विद्यालयस्तरीय सचेतना र नीतिगत पैरवीसम्म विस्तार गरेका न्यौपानेको कामलाई ग्लोकलले नेतृत्व र सामाजिक प्रभावको उदाहरणका रूपमा मूल्यांकन गरेको छ ।

कर्णालीबाट ‘ग्लोकल २० अन्डर २०’ मा छनौट भए किशोर न्यौपाने

युवा, प्रविधि र पुस्तकालयलाई जोड्दै कोहलपुरमा प्रेरणात्मक

Leave a comment

Your email address will not be published. Required fields are marked *