१५ शैयाका अस्पतालका भवन बनेपनि बजेट अभावले सञ्चालनमा चुनौती

बाँके,२७ साउन ।
बाँकेका स्थानीय तहमा १५ शय्याका आधारभूत अस्पताल निर्माणले गति लिए पनि भवन निर्माणपछि अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण, औषधि र नियमित खर्च व्यवस्थापन मुख्य चुनौती बनेको छ ।
संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने अभियानअन्तर्गत बाँकेका अधिकांश स्थानीय तहमा अस्पतालका भवन निर्माण भइरहेका छन् । केही स्थानीय तहमा भवन निर्माण सम्पन्न भइसकेका छन् भने केहीमा निर्माण अन्तिम चरणमा पुगेको छ। तर, भौतिक संरचना तयार भएपछि त्यसलाई नियमित र दिगो रूपमा सञ्चालन गर्ने विषय स्थानीय तहका लागि थप जटिल बन्दै गएको छ ।
नेपालगन्जबाट पश्चिममा रहेको जानकी गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न गरिसकेको छ । तर, अस्पताल सञ्चालनका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र उपकरण व्यवस्थापन गर्न पर्याप्त आर्थिक स्रोत नभएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले संघीय सरकारले आवश्यक बजेट उपलब्ध नगराए स्थानीय तहको आफ्नै स्रोतबाट १५ शय्याको अस्पताल सञ्चालन गर्न कठिन हुने बताए । “हामी आफैंले अस्पताल चलाउन सम्भव छैन ।  बजेट माग गरेका छौँ। बजेट नआए गाउँपालिकाले चलाउने स्थिति छैन,” उनले भने ।
खजुरा गाउँपालिकामा पनि १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले आगामी मंसिरसम्म अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । हाल प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइँदै आएको स्वास्थ्य सेवालाई विस्तार गर्दै एमबीबीएस चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली थप गरेर अस्पताल सञ्चालन गर्ने योजना गाउँपालिकाको छ ।
नेपालगन्जबाट करिब सात किलोमिटर दूरीमा रहेको खजुरामा अस्पताल सञ्चालन चुनौतीपूर्ण भए पनि संघीय सरकारको नीति कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले बताए ।
“नेपालगन्जबाट नजिक दूरीमा रहेको यो ठाउँमा अस्पताल चलाउन चुनौती छ । तर, संघीय सरकारको नीति कार्यान्वयन गर्नैपर्छ,” उनले भने, “हामीले यहाँ सुत्केरीलाई केन्द्रित गरेर अस्पताल सञ्चालन गर्ने सोच बनाएका छौँ ।”
जिल्लाको पूर्वी तथा भारतीय सीमासँग जोडिएको नरैनापुर गाउँपालिकाले १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरिसकेको छ । तर, आवश्यक जनशक्ति र उपकरणको अभावमा अस्पताल सञ्चालनमा आउन सकेको छैन ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जनशक्ति तथा उपकरण व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसँग अनुरोध गरिएको बताए । “हामीकहाँ भवन बनेको छ, तर जनशक्ति र उपकरण छैन,” उनले भने, “राज्यले जनशक्ति र उपकरणको व्यवस्था गरिदियो भने हाम्रो ठाउँमा आधारभूत अस्पताल सञ्चालन गर्न सकिन्छ ।”
गाउँपालिकाको वार्षिक आन्तरिक आम्दानी करिब ४० लाख रुपैयाँ मात्रै रहेको उल्लेख गर्दै अध्यक्ष शाहले १५ शय्याको अस्पताल सञ्चालनमा वार्षिक दुईदेखि तीन करोड रुपैयाँसम्म खर्च लाग्ने भएकाले स्थानीय स्रोतबाट मात्रै अस्पताल धान्न कठिन हुने बताए ।
राप्ती सोनारी गाउँपालिकाले भने साविक बैजनापुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी विगत पाँच–छ वर्षदेखि अस्पताल सञ्चालन गर्दै आएको छ । एमबीबीएस चिकित्सकसहित स्वास्थ्य सेवा दिँदै आएको उक्त अस्पतालका लागि थप १५ शय्याको भवन निर्माण गरिएको छ ।
नयाँ भवन तयार भए पनि अस्पताल सञ्चालनको आर्थिक भार स्थानीय तहको आन्तरिक स्रोतबाट मात्रै धान्न कठिन हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार अस्पताल सञ्चालनलाई सहज बनाउन दातृ निकायको सहयोग खोजिएको छ ।
“अस्पताल सञ्चालनका विषयमा एउटा संस्थासँग प्रक्रिया अगाडि बढाएका छौँ । संस्थाबाट सहयोग प्राप्त भए गाउँपालिकालाई आर्थिक भार कम पर्नेछ,” उनले भने । कोहलपुर नगरपालिकाले भने विगतदेखि नै नगर अस्पताल सञ्चालन गर्दै आएको छ। नगरपालिकाले आधारभूत तहको १५ शय्याको अस्पताल सञ्चालनका लागि छुट्टै भवन निर्माण गरिसकेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।
उहाँका अनुसार नगर अस्पतालबाट विशेषज्ञ स्वास्थ्य सेवा पनि प्रदान भइरहेको छ । नयाँ भवनबाट स्वास्थ्य सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउने नगरपालिकाको योजना छ । यता बैजनाथ गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पतालको भवन निर्माण अझै पूरा हुन सकेको छैन । ठेकेदारले निर्माणमा ढिलाइ गर्दा निर्धारित समयमा अस्पताल सञ्चालनमा ल्याउन नसकिने अवस्था आएको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए ।
“ठेकेदारले काममा ढिलाइ गर्दा भवन समयमा बन्न सकेन। हामीले ठेकेदारलाई ताकेता गरिरहेका छौँ,” उनले भने, “भवन बने पनि अस्पताललाई दीर्घकालीन रूपमा सञ्चालन गर्न स्थानीय सरकारलाई चुनौती छ ।”
अस्पताल सञ्चालनको नियमित खर्च धान्नुपर्दा स्थानीय तहले विकास निर्माणका लागि छुट्याउने बजेटसमेत प्रभावित हुन सक्ने उनको भनाई छ ।
डुडुवा गाउँपालिकाले भने हाल पाँच शय्याको आधारभूत अस्पताल आफ्नै स्रोतबाट सञ्चालन गरिरहेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय स्रोतबाट अस्पताल सञ्चालन गरिए पनि आवश्यक जनशक्ति, औषधि, उपकरण तथा अन्य व्यवस्थापन खर्च जुटाउन चुनौती रहेको बताए ।
“हामीले आफ्नै स्रोतबाट अस्पताल चलाइरहेका छौँ,” उहाँले भन्नुभयो, “अस्पताल सञ्चालन गर्न स्थानीय तहलाई त्यति सजिलो छैन ।”नेपालगन्ज उपमहानगरपालिकाले भने १५ शय्याको आधारभूत अस्पताल निर्माणभन्दा नगर स्वास्थ्य केन्द्र र वडास्तरमा रहेका बर्थिङ सेन्टरलाई प्राथमिकतामा राखेको छ ।
नगर प्रमुख प्रशान्त विष्टका अनुसार नगर स्वास्थ्य केन्द्र र बर्थिङ सेन्टरलाई थप सुविधासम्पन्न बनाउने काम भइरहेको छ । उपमहानगरपालिकाले नेपालगन्जस्थित भेरी अस्पताललाई समेत आवश्यक सहयोग गर्दै आएको उहाँले बताए ।
बाँकेका स्थानीय तहको अवस्थाले आधारभूत अस्पताल निर्माणको चुनौती भवन निर्माणमा मात्र सीमित नभएको देखाएको छ । भवन निर्माणका लागि संघीय सरकारबाट बजेट प्राप्त भए पनि अस्पताल सञ्चालनका लागि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी, उपकरण, औषधि र नियमित खर्चको व्यवस्थापन स्पष्ट नहुँदा स्थानीय तह अन्योलमा छन् ।
विशेषगरी सीमित आन्तरिक आम्दानी भएका स्थानीय तहका लागि १५ शय्याको अस्पताल सञ्चालनको वार्षिक खर्च ठूलो आर्थिक भार बन्ने देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिका अनुसार अस्पताल सञ्चालनका लागि संघ र प्रदेश सरकारले आवश्यक जनशक्ति, उपकरण र आर्थिक स्रोतको सुनिश्चितता गर्न आवश्यक छ ।
स्थानीय तहले आफ्नै स्रोतबाट अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था रहे शिक्षा, सडक, खानेपानीलगायत अन्य विकास कार्यक्रमका लागि छुट्याइएको बजेटमा समेत दबाब पर्न सक्ने उनीहरूको भनाई छ ।
त्यसैले अब आधारभूत अस्पताल निर्माणको प्राथमिकता भवन निर्माणमा मात्र सीमित नराखी चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी, आवश्यक उपकरण, औषधिको नियमित आपूर्ति र दीर्घकालीन सञ्चालन खर्चको सुनिश्चिततातर्फ केन्द्रित गर्नुपर्ने देखिएको छ ।
बाँकेका स्थानीय तहमा निर्माण भइरहेका आधारभूत अस्पतालले नागरिकलाई घरनजिकै स्वास्थ्य सेवा पाउने अपेक्षा बढाएका छन् । तर, ती संरचनालाई प्रभावकारी र दिगो स्वास्थ्य संस्थाका रूपमा सञ्चालन गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट जिम्मेवारी, जनशक्ति र स्रोत व्यवस्थापनको सुनिश्चितता आवश्यक देखिएको छ ।
१५ शैयाका अस्पतालका भवन बनेपनि बजेट अभावले सञ्चालनमा चुनौती

डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै 

१५ शैयाका अस्पतालका भवन बनेपनि बजेट अभावले सञ्चालनमा चुनौती

ग्यास पर्याप्त, माग अस्वाभाविक

Leave a comment

Your email address will not be published. Required fields are marked *