डोकोको दुःख घटाउँदै पातारासीमा कृषि एम्बुलेन्स सञ्चालनको तयारी

काली बहादुर परियार
जुम्ला ,२७ साउन ।

बिहानको झिसमिसे उज्यालो भुइँमा झर्न नपाउँदै पातारासीका गाउँहरूमा महिलाको चहलपहल सुरु हुन्छ। घरको चुलो देखि गोठ सम्मको काम सकेर उनीहरू खेतबारीतिर लाग्छन् ।

दिनभरि माटो सँग संघर्ष गर्छन्, पसिना बगाउँछन् र खेतबारीमा उत्पादन भएको सागसब्जी, सिमी, आलु, फापर, स्याउ लगायतका कृषि उपज बोकेर बजारतर्फ लाग्छन् । तर उनीहरूको यात्राको सबैभन्दा पीडादायी पक्ष उत्पादन गर्नु होइन, उत्पादन गरेको वस्तु बजारसम्म पुर्‍याउनु हो ।

पिठ्युँमा डोको, डोकोभित्र आफ्नै हातले फलाएको कृषि उपज र मनभित्र परिवारको आवश्यकता पूरा गर्ने सपना बोकेर हिँड्ने पातारासीका महिलाको यो बाध्यता अब विस्तारै अन्त्य हुने संकेत देखिएको छ।

पातारासी गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज सहज रूपमा बजार सम्म पुर्‍याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

कृषि उत्पादनमा जिल्लामै आफ्नो छुट्टै पहिचान बनाउँदै गएको पातारासीमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय किसानका लागि एउटा सामान्य सवारी साधन थप्ने विषय मात्र होइन, वर्षौ देखि डोको र भारीको भरमा कृषि बजार सँग जोडिएका ग्रामीण महिलाको जीवनमा नयाँ आशा थप्ने प्रयासका रूपमा हेरिएको छ ।

पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाका अनुसार कृषि एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । किसानले उत्पादन गरेको वस्तु बजार सम्म पुर्‍याउन कठिनाइ भइरहेकाले पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको उनले बताइन् ।

उनका अनुसार यही दशैँलगत्तै कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
पातारासीका महिलाहरूले अझै पनि डोकोमा कृषि उपज बोकेर बजार सम्म पुर्‍याउनुपर्ने बाध्यता रहेकाे उपाध्यक्ष रोकायाकाे भनाइ छ ।

उनीहरूको यही बाध्यता अन्त्य गर्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेकाे राेकायाले बताइन् ।
उत्पादन गर्ने हात, भारी बोक्ने काँध
पातारासीको कृषि अर्थतन्त्रमा महिलाको योगदान ठूलो छ ।

खेत जोत्ने देखि बीउ छर्ने, गोडमेल गर्ने, बाली भित्र्याउने, कृषि उपज संकलन गर्ने र बजारका लागि तयार पार्ने सम्मका अधिकांश काममा महिलाको प्रत्यक्ष सहभागिता हुने गरेकाे छ ।

तर उत्पादन पछि बजार सम्म पुग्ने क्रममा उनीहरूले भोग्दै आएको पीडा झनै गहिरो छ।
एकातिर घरधन्दा, अर्कोतिर खेतबारीको जिम्मेवारी। त्यसै माथि उत्पादन गरेको वस्तु बजार सम्म पुर्‍याउने थप बोझ उस्तै छ ।

बिहानै देखि साँझ सम्म निरन्तर श्रम गरे पछि पनि उनीहरूको श्रमको उचित मूल्य पाउने बाटो सहज छैन । कतिपय महिलाले खेतबारीमा उत्पादन भएको वस्तु डोकोमा बोकेर लामो दूरी हिँड्नुपर्ने अवस्था छ ।

उकालो–ओरालो बाटो, भारीको बोझ र मौसमको अनिश्चितता बीच उनीहरू बजार पुग्छन् । कहिले काही बजार पुग्दा उत्पादनको मूल्य घटिसकेको हुन्छ। कतिपय अवस्थामा बाटोमै कृषि उपज बिग्रिने वा क्षति हुने समस्या पनि हुन्छ ।

यसले किसानको मेहनत र आम्दानी बीच ठूलो खाडल सिर्जना गरिरहेको छ । किसानले उत्पादन गरेको वस्तुको मूल्य केवल बजारमा बिक्री भएपछि निर्धारण हुँदैन ।

त्यसको पछाडि किसानको श्रम, बीउ, मल, सिँचाइ, जमिन, समय र बजारसम्म पुर्‍याउँदाको यातायात खर्च जोडिएको हुन्छ । तर ग्रामीण किसान, विशेषगरी महिलाले आफ्नै काँधमा बोकेर बजार पुर्‍याउँदा उनीहरूको श्रमको मूल्य हिसाबमा आउँदैन ।

कृषि एम्बुलेन्स सञ्चालन भएपछि यो अवस्थालाई केही हदसम्म परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।पातारासीको उत्पादनले बजार तान्दैछ
पछिल्लो समय पातारासी गाउँपालिकामा उत्पादित कृषि वस्तुले जिल्लाको बजारमा राम्रो स्थान बनाउँदै गएको छ ।

पातारासीको माटोमा उत्पादन हुने विभिन्न कृषि उपजको माग बढ्दै गएपछि किसानहरू पनि व्यावसायिक कृषितर्फ आकर्षित भइरहेका छन् ।
तर बजारको माग र उत्पादनको क्षमता बढे पनि ढुवानीको समस्या समाधान हुन नसक्दा किसानले अपेक्षित लाभ लिन सकेका छैनन् ।

किसानले उत्पादन बढाउने, बजार खोज्ने र राम्रो मूल्य पाउने सपना देखिरहेका बेला ढुवानीको समस्याले उनीहरूको यात्रामा अवरोध सिर्जना गर्दै आएको छ । यही समस्यालाई सम्बोधन गर्न पालिकाले कृषि एम्बुलेन्सको अवधारणा अघि सारेको हो ।

कृषि एम्बुलेन्सले खेतबारीमा उत्पादन भएको कृषि उपज संकलन गरेर बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउने अपेक्षा गरिएको छ । यसले किसानको ढुवानी खर्च घटाउनुका साथै कृषि उपज समयमै बजार पुर्‍याउन सहयोग गर्ने विश्वास गरिएको उपाध्यक्ष जनमायाँ राेकायाकाे भनाइ छ।

महिलाको काँध हलुका हुने आशा
पातारासीका महिलाका लागि कृषि एम्बुलेन्स एउटा गाडी मात्र होइन, उनीहरूको काँधबाट वर्षौ देखि नहटेको भारी बिसाउने माध्यम बन्न सक्ने अपेक्षा गरिएको छ ।

डोकोमा भारी बोकेर घण्टौँ हिँड्नुपर्ने बाध्यता हट्नु भनेको महिलाको शारीरिक श्रम घट्नु मात्र होइन, उनीहरूले बचत गरेको समयलाई परिवार, बालबालिका, शिक्षा, स्वास्थ्य तथा थप उत्पादनमा लगाउन सक्ने अवसर पनि हो ।

कृषि उपज ढुवानीको जिम्मेवारी सहज हुँदा महिलाले बजारमा आफूले उत्पादन गरेको वस्तुको मूल्यबारे जानकारी लिन, व्यापारी सँग प्रत्यक्ष सम्पर्क गर्न र आफ्नो उत्पादनको उचित मूल्य खोज्न समेत थप अवसर पाउन सक्छन् ।

अहिले सम्म ग्रामीण महिलाको श्रम खेत देखि घरसम्म सीमित देखिए पनि उनीहरू वास्तवमा स्थानीय अर्थतन्त्रका महत्वपूर्ण आधार रहेकाे छ ।
उनीहरूले उत्पादन गरेका वस्तुले परिवारको भान्सा धानिरहेको छ ।

स्थानीय बजार चलाइरहेको छ र गाउँको अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ।
त्यसैले कृषि एम्बुलेन्सलाई महिला किसानको श्रमलाई सम्मान गर्ने एउटा पूर्वाधारका रूपमा समेत लिन सकिन्छ ।

उत्पादन मात्रै होइन, बजार पनि चाहिन्छ
कृषिमा आत्मनिर्भर बन्ने चर्चा धेरै हुने गरे पनि किसानले उत्पादन गरेको वस्तु उचित मूल्यमा बिक्री हुने वातावरण निर्माण नगरे सम्म कृषि क्षेत्र दिगो बन्न कठिन रहेकाे छ ।

डोकोको दुःख घटाउँदै पातारासीमा कृषि एम्बुलेन्स सञ्चालनको तयारी

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको

डोकोको दुःख घटाउँदै पातारासीमा कृषि एम्बुलेन्स सञ्चालनको तयारी

नापतौल यन्त्र दर्ता तथा नवीकरण शिविरमा दुई

Leave a comment

Your email address will not be published. Required fields are marked *