चार वर्षमा बड्डिचौर–खम्बागाडे सडकको भौतिक प्रगति जम्मा ४० प्रतिशत

ओम शाही
सुर्खेत, ८ जेठ ।
निर्माण सम्झौता भएको चार वर्ष बित्नै लाग्दा सुर्खेतको बराहताल गाउँपालिका–५, बड्डिचौर बजारबाट सुरु भई पञ्चपुरी नगरपालिकाको खम्बागाडे जोड्ने १३ किलोमिटर सडकले पूर्णता पाउन सकेको छैन । राष्ट्रिय प्राथमिकता प्राप्त मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने यो खण्डलाई कर्णाली प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएर स्तरोन्तीको कार्य थालेको थियो ।
१४ असार २०७९ मा पूर्वाधार विकास निर्देशनालय सुर्खेत र अनक/जयदेवी जेभी बाँकेबीच सम्झौता भई निर्माण कार्य अघि बढेको थियो । सम्झौता अनुसार ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागत रहेको यो आयोजना दुई वर्ष अर्थात २०८१ असारसम्म पूर्ण भइसक्नु पर्ने थियो । तर, सम्झौता समाप्त भई म्याद थप भएको दुई वर्षसमेत सकिदा सडकको भौतिक प्रगति जम्मा ४० प्रतिशत हाँसिल भएको छ ।
सडकको क्षेत्राधिकारमा पर्ने रुख र जग्गाभोगाधिकारको टुङ्गो लगाउन संघीय सरकारको ढिलाई र निर्माण व्यवसायीको लापरवाहीले सडक निर्माणको काम चार वर्षपछि धकेलिएको छ । वन सम्बन्धिका कानुनी अल्झन पुरा हुन समय लागेपछि निर्देशनालयले २०८१ असारमा पहिलो पटक २०८३ जेठसम्म म्याद थप गरेको थियो । सुरुमा कानुनी अल्झन देखाएर काम नगरेको निर्माण कम्पनीले सबै खाले बाधा हट्दासमेत सडक स्तरोन्तीको कामलाई सन्तोषजनक गती दिन सकेको छैन ।
पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक इन्जिनियर सूर्यबहादुर शाहीले आयोजनाले सबै खाले कानुनी अल्झन पार गरिसकेको भएपनि निर्माण व्यवसायीले अपेक्षाकृत काम गर्न नसकेको बताउछन् ।
शाही भन्छन्, ‘सुरुवाती चरणमा रुख कटान र जग्गाभोगाधिकार लिनुपर्ने प्रक्रियामा संघीय सरकारले ढिला गर्दा केही समय लाग्न गयो । गएको भदौमा निर्माण व्यवसायीलाई सबै बाधाहरू फुकाएर साइट उपलब्ध गराइसकेको अवस्था हो । सँगै विद्युतका पनि सबै समस्या समाधान भइसकेका छन् । तर, उहाँहरुले दिएको कार्ययोजना अनुसार काम भएको छैन ।’
उनका अनुसार हालसम्म १३ किलोमिटर मध्ये ६ किलोमिटरमा मापदण्डअनुसार ग्राभेल बिच्छ्याउने काम सम्पन्न भएको छ । बाँकी सात किलोमिटर खण्डमा नाला, कल्भर्ट, टेका पर्खाल र ग्राभेल बिछ्याउन बाँकी छ । तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न पटक–पटक ताकेता गरेपनि निर्माण व्यवसायीले अटेर गरिरहेको उनको दावी छ ।
पर्याप्त जनशक्ति र उपकरण परिचालन गर्न निर्माण व्यवयायी जिम्मेवार नबन्दा तोकिएको कार्यतालिका अनुसार काम हुन नसकेको निर्देशनालयको दावी छ । चार वर्षसम्म पनि १३ किलोमिटर सडक बनाउन नसकेको अनक/जयदेवीले पुनः एक वर्षको समय मागेको छ । कम्पनीले कार्ययोजनासहित एक वर्षको म्याद थप गर्न दिएको निवेदन उपर आवश्यक छलफल भइरहेको शाहीको भनाई छ । उनका अनुसार स्पष्ट कार्ययोजना र सर्तसहित दोस्रो पटक म्याद थप गरिने छ भने, तोकिएको समयभित्र सन्तोषजनक काम अघि नबढाए जुनसुकै बेलापनि सम्झौता रद्द गर्नेगरी कानुनी प्रक्रिया थालिने छ ।
५० को दशकमा पश्चिम सुर्खेतलाई जिल्ला सदरमुकाम वीरेन्द्रनगरसँग जोडन यो सडक निर्माण गरिएको थियो । तर, स्तरीय सडक नहुँदा पश्चिम सुर्खेतका नागरिक हिलाम्मे र धुलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् । पश्चिम सुर्खेतलाई राष्ट्रिय राजमार्गसँग जोडेको मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डिचौर–खम्बागाडे खण्डको १३ किलोमिटर बाहेक अन्यत्र खण्डमा सडक स्तरोन्तीको काम सम्पन्न भइसकेको छ ।
एक वर्षभित्र निर्माण सक्ने प्रतिवद्धता
निर्माण व्यवसायी अनक/जयदेवीले आगामी २०८४ असारसम्म सडकलाई पूर्णता दिने दावी गरेको छ । बिहिबार सडकको पछिल्लो अवस्थाका बारेमा अनुगनम गर्न गएको निर्देशनालयको टोलीसँगको छलफलमा अनकका प्रतिनिधि शंकर राउतले सडक निर्माणको काम विभिन्न प्राविधिक तथा प्रशासनिक समस्याका कारण अपेक्षाअनुसार अघि बढ्न नसकेको दावी गरे ।
जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका प्रमुख तथा निर्देशनालयको संयूक्त अनुगमन टोलीसँगको छलफलमा अनकका प्रतिनिधि राउतले सुरुमा रुख कटानमा समय लागेको र त्यसपछि विद्युत्का पोल व्यवस्थापनको काम थपिएपछि निर्माण प्रक्रिया लम्बिएको दावी गरे । अनुगमन टोलीले यस वर्षको मनसुन अगावै सुर्खेतको पश्चिम क्षेत्रमा यातायात सेवालाई निरन्तर र सहज बनाउन ग्राभेल, नाला लगायतका संरचना तत्काल निर्माण गर्न कम्पनीलाई निर्देशनसमेत दिएको छ ।
राउतले निर्माणका लागि आवश्यक ग्राभेल ढुवानीमा समेत समस्या उत्पन्न हुदा काम प्रभावित भएको बताए । साथै, पछिल्लो समयको इन्धन संकटले निर्माण कार्य थप प्रभावित भएको बताउदै उनले भने, ‘हामीलाई दैनिक दुई हजार लिटर इन्धन आवश्यक पर्नेमा जम्मा ६ सय लिटर मात्रै उपलब्ध हुँदा नियमित रूपमा काम सञ्चालन गर्न कठिन भएको अवस्था छ ।’
निर्माण सामग्रीको मूल्य पनि अत्यधिक बढेकाले योजना प्रभावित भएको उनको दावी छ । ‘सोचेअनुसार अवस्था भएको भए अहिलेसम्म ६ किलोमिटर सडक पिच गर्ने तयारी गरेका थियौं,’ उनले भने । उनका अनुसार कालोपत्र गर्न क्रसरसमेत सञ्चालनमा ल्याएर बेस मेटेरियल तयारी गरिएको थियो । तर, इन्धन र निर्माण सामग्रीको मूल्य अत्यधिक बढेपछि चालु आर्थिक वर्षभित्र अपेक्षाकृत काम गर्न नसकिने उनले स्वीकार गरे । उनले नजिकिदै गरेको मनुसुनलाई लक्षित गरेर नियमित यातायात सञ्चालनमा ल्याउन बाँकी स्थानमा ग्राभेल, नला तथा कल्भर्ट निर्माण कार्यलाई तिव्रता दिने प्रतिवद्धा जनाए ।






