जानकी वाङ्मय प्रतिष्ठान गठनको तयारी तीव्र, ऐनको मस्यौदा अध्यक्ष खाँलाई हस्तान्तरण

बाँके,७ असार ।
बाँकेको जानकी गाउँपालिकामा भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र विकासलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यले गठन गरिने जानकी वाङ्मय प्रतिष्ठान सम्बन्धी ऐनको प्रस्तावित मस्यौदा गाउँपालिकाका अध्यक्ष छब्बन खाँलाई हस्तान्तरण गरिएको छ।
प्राध्यापक हरि तिमिल्सिनाले अध्यक्ष खाँलाई प्रतिष्ठान गठनसम्बन्धी ऐनको मस्यौदा हस्तान्तरण गर्दै स्थानीय साहित्य, कला र संस्कृतिको जगेर्ना तथा विकासका लागि प्रतिष्ठान प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय स्रष्टा, कलाकार तथा सांस्कृतिक अभियन्ताहरूलाई एउटै संस्थागत छातामुनि ल्याएर उनीहरूको प्रतिभा प्रवर्द्धन गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
मस्यौदा ग्रहण गर्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकी गाउँपालिकाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो। उहाँले आगामी असार १० गते बस्ने गाउँसभाबाट उक्त ऐन पारित हुने अपेक्षा व्यक्त गर्दै त्यसपछि जानकी वाङ्मय प्रतिष्ठान गठन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने जानकारी दिनुभयो।
अध्यक्ष खाँले प्रतिष्ठानले स्थानीय प्रतिभाको पहिचान, सृजनशीलताको विकास, मौलिक संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा साहित्यिक र सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै स्थानीय भाषाको संरक्षण, साहित्यिक कृतिहरूको प्रकाशन, सांस्कृतिक अनुसन्धान तथा विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालनमा प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो।
सोही अवसरमा प्रथम जानकी पर्यटन प्रवर्द्धन तथा साहित्यिक महोत्सव–२०८३ को प्रतीक चिन्ह अध्यक्ष छब्बन खाँ तथा गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीलाई हस्तान्तरण गरिएको थियो। महोत्सवले जानकी गाउँपालिकाको पर्यटन, साहित्यिक गतिविधि तथा सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्राध्यापक तिमिल्सिनाले महोत्सवले स्थानीय भाषा, कला, संस्कृति, पर्यटन तथा साहित्यिक सृजनाको प्रवर्द्धन गर्दै गाउँपालिकाको मौलिक पहिचान उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार महोत्सवमा साहित्यिक गोष्ठी, सांस्कृतिक प्रस्तुति, स्थानीय कला प्रदर्शन तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विविध कार्यक्रम समावेश गरिने तयारी भइरहेको छ।
जानकी गाउँपालिकाले स्थानीय भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई दीर्घकालीन तथा संस्थागत स्वरूप दिन प्रतिष्ठान गठनको तयारीलाई तीव्रता दिएको जनाएको छ। गाउँपालिकाको यो पहलले स्थानीय स्रष्टा, कलाकार र सांस्कृतिक सम्पदाको संरक्षणमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

जानकी वाङ्मय प्रतिष्ठान गठनको तयारी तीव्र, ऐनको मस्यौदा अध्यक्ष खाँलाई हस्तान्तरण

किर्डाक नेपालको २७औँ स्थापना दिवस : कर्णालीको

Leave a comment

Your email address will not be published. Required fields are marked *