किन भइरहेको छ रानीसैनमा बाजुरा र हुम्लावासीबीच तनाव ?

ओम शाही
सुर्खेत, ६ जेठ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार केही दिन अघि बाजुराको हिमाली गाउँपालिका–३, र हुम्लाको खार्पुनाथ गाउँपालिका–२, को सिमा लाम्पाटा च्याचौर क्षेत्रमा (यो क्षेत्र रानीसैनका नामले चिनिन्छ, जहाँ बहुमूल्य जडीबुटी र वन्यजन्तु पाइन्छन्, यो क्षेत्र पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र पनि हो) प्रहरी चौकी स्थापनाको काम अघि बढेको थियो ।
प्रहरी चौकी निर्माणको काम बाजुराको हिमाली गाउँपालिकाले थालेको थियो । तर, हुम्लाको खार्पूनाथ गाउँपालिका–२, राय र थाली गाउँका बासिन्दाले प्रहरी चौकी निर्माणमा अवरोध गरे । लाम्पाटा पुगेका राय र थाली गाउँका स्थानीयले हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, ३ नम्बर वडाका वडा सदस्यसहितका व्यक्तिमाथि हातपात गरे । हिमाली गाउँपालिकाका उपाध्यक्ष राजकला सार्कीले राय र थाली गाउँका स्थानीयको हातपातबाट पालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, ३ नम्बरका वडा सदस्य पेमागारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मिनु कुँवर र प्रहरी सहायक हवल्दार रमेश धामीमाथि सांघातिक आक्रमण गरेर घाइते बनाएको बताइन ।
उनका अनुसार घाइते चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको छ । उक्त घटनापछि रानीसैन भ्रणमा निस्केका धनगढी उपमहानगर पालिकाका मेयर गोपाल हमालसहित हिमाली गाउँपालिकाको टोली फर्किएको छ । उपाध्यक्ष सार्कीले मेयर हमालसहितको टोलीलाई धम्काएर रानीसैन जान नदिएको बताइन । यद्यपी, मेयर हमालको टोलीलाई रानीसैन जानबाट रोकिएको भने होइन ।
मेयर हमालको टोली नपुग्दै सो क्षेत्रमा विवाद सुरु भइसकेको थियो । यस विषयमा आफुहरुलाई कुनै अवरोध नगरिएको मेयर हमालले भनिसकेका छन् । रानिसैन क्षेत्र घुम्न गएको भ्रमण टोलीले भिडियो, फोटो लिन खोजेपछि विवाद भएको भनिएको छ । तर, विवादको चुरो भने रानीसैन क्षेत्रमा (हिमाली गाउँपालिकाले अस्थायी प्रहरी चौकी स्थापना गर्न खोज्दा भएको हो । जुन क्षेत्रलाई हुम्लाको खार्पुनाथ गाउँपालिको आफ्नो क्षेत्र मान्छ ।
हिमाली गाउँपालिका उपाध्यक्ष सार्कीले रानीसैन क्षेत्र हिमाली गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने भएकाले लाम्पाटामा प्रहरी चौकी स्थापना गर्न लागिएको दावी गरिन । उनी भन्छिन्, ‘हुम्लाका बासिन्दा रानीसैन आफ्नो भएको भन्दै पर्यटकीय प्रवद्र्धनका लागि गएको टोली र प्रहरीमाथि आक्रमण र कुटपिट गरेका छन् । यस क्षेत्रमा अत्यधिक मात्रामा बहुमूल्य जडीबुटी र वन्यजन्तु हुम्लीहरुले चोरी पैठारी गर्छन् । त्यही चोरी प्रठारी रोक्न र पर्यटन प्रवद्धन गर्न प्रहरी चौकी स्थापना गर्न लागिएको थियो ।’
उनका अनुसार दुवै पक्षले आफ्नो दावी गरेका रानीसैन क्षेत्रमा यसअघि ठुलो विवाद थिएन । २०७४ सालमा स्थानीय तह स्थापना भइसकेपछि हिमाली गाउँपालिकाले रानीसैन क्षेत्रमै कार्यपालिकाको बैठक आयोजना गरेको थियो । अहिले रानीसैन क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाएर जडिबुटि र वन्यजन्तुको चोरी निकासी रोक्न प्रहरी चौकी स्थापना गर्न थलिएको हिमाली गाउँपालिकाको दावी छ । विवाद यही विन्दुबाट सुरुवात भएको देखिन्छ । हुम्लावासीले दावी गरेको क्षेत्र कानुनी प्रमाणका आधारमा आफ्नो रहेको उपाध्यक्ष सार्की बताउँछिन् ।
यता हुम्लाको खार्पुनाथ गाउँपालिकाले भने रानीसैन क्षेत्र आफ्नै भएको दावी गर्छ । बाजुराको हिमाली गाउँपालिकाले हुम्लाको स्वामित्व रहेको दाबी गरिएको जग्गामा अनुमति विना प्रहरी चौकी निर्माण गर्न खोजेपछि विवाद सिर्जना भएको बताउछन् खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावत । उनले उक्त क्षेत्रका बासिन्दाले परापूर्व कालदेखि तिरो तिरेर भोगचलन गर्दै आएको क्षेत्रलाई बाजुरा पक्षले गुगल म्यापका आधारमा आफ्नो जनाउदै आएको दावी गलत रहेको उनी बताउछन् ।
‘हुम्ला र बाजुराको सिमाना भनेको कवाडी खोला हो, बाजुराले पारी र हामीले खोलावारी भोगचलन गरिरहेका छौं । कवाडीको तल कर्णाली कोरिडोरदेखि माथि रानीसैनसम्मको क्षेत्र पहिलेदेखि नै हामीले भोगचलन गर्दै आएका छौं,’ अध्यक्ष रावतले भने । हुम्ला सर्केगाड गाउँपालिकाको वडा नम्बर ३ को रिप, खार्पुनाथ गाउँपालिका २ र ३ को थाली र राय, सिमकोट गाउँपालिकाको वडा नम्बर ८ को स्याडा, नाम्खा गाउँपालिकाको खगाल गाउँ र रानीसैन क्षेत्र पहिलेदेखि नै हुम्लाले भोगचलन गर्दै आएको उनको दावी छ । ‘रानीसैन क्षेत्रमा बसोवास गर्ने स्थानीयहरुले नाम्खा गाउँपालिकाको वडा नम्बर ३ लाई कर तिरेर बसोवास गर्ने गरेका थिए । उनीहरु त्यस क्षेत्रमा भेडा, बाख्रा चराउने, उत्तरबाट नुन र दक्षिणबाट चामल ल्याएर आउने गरेका थिए । तर, उनीहरु हुम्लाका वासिन्दा थिएनन्, जो अहिले रानीसैनमा बसेका छन्,’ रानीसैन क्षेत्र आफ्नो भएको दावी प्रस्तुत गर्दै अध्यक्ष रावत भन्छन् । अहिले हिमाली गाउपालिकाले त्यहाँ सुदुरपश्चिम प्रदेश सरकारबाट बजेट व्यवस्थपन गरेर कवाडी खोलावारी (अध्यक्षको दावी अनुसार सो क्षेत्र हुम्ला जिल्लामा पर्दछ) प्रहरी भवन बनाउन थालेपछि विवाद सिर्जना भएको हो ।
अध्यक्ष रावतले गृहमन्त्रालयको अनुमति बिनै जबरजस्ती प्रहरी चौकी स्थापना गर्न लागिएपछि स्थानीयले विरोध जनाएको दावी गर्छन । प्रहरी चौकी स्थापनापूर्व आफुरुहले हुम्ला र बाजुराका सिडियो तथा प्रहरी प्रमुखहरुले अनुगमन गरेर आएको थाहा पाएपछि टेलिफोन वार्तामार्फत प्रहरी चौकीको भनव बनाउने भएपनि कुवाडी खोलापारी बनाउन सुझाव दिएको उनको दावी छ । यस विषयमा हुम्ला र बाजुराका सांसदले गृह सचिवसँग बसेर गरिएको सहमति हिमाली गाउँपालिकाले नमानेको उनी बताउछन् ।
विवाद बढ्दै गएपछि दुवै जिल्लाका सुरक्षा निकाय र जनप्रतिनिबिच प्राप्त प्रमाणहरुका आधार छलफल गरेर समस्याको हल गर्न लागिएको उनले बताए । बाजुरा र हुम्लाका सिमावती क्षेत्रका यी दुई पालिकाका जनप्रतिनिधिहरुका आफ्नै दावीले थप विवाद चर्किने देखिन्छ । दुवै पालिकाले भोगचलनका प्रमाण आफुहरुसँग रहेको दावी गरिरहदा बढ्न सक्ने थप विवादको अन्त्य गर्न संघीय सरकारले तत्काल कदम चाल्नुपर्ने बाजुरा र हुम्लाका प्रमुख जिल्ला अधिकारीहरु बताउछन् ।
बाजुरका प्रमुख जिल्ला अधिकारी निरौला भन्छन्, ‘दुई जिल्लाको सिमा विवाद पहिले देखि नै रहेछ । बाजुरा पक्षबाट अहिले अस्थायी प्रहरी पोस्ट बनाउन खोज्दा विवाद सतहमा आएको देखिन्छ । अब संघीय सरकार र राजनीतिक नेतृत्व तहबाट सिमा विवाद तुरुन्तै समाधान गरिदिनु पर्दछ ।’ तत्काललाई विवाद साम्य भएपनि यथासिंघ्र सिमा समस्या समाधान नभए यसले भविष्यमा पालिकाबीचको द्वन्द्व थप बढ्ने निश्चित रहेको सरोकारवालाहरु बताउछन् ।






