जब्दीघाटमा नयाँ पुल बन्ने पक्का, स्थानीयमा खुसीको लहर

बर्दिया, ६ जेठ ।
बर्दियाको बबई नदीस्थित जब्दीघाटमा नयाँ पुल निर्माण हुने प्रक्रिया अघि बढेसँगै स्थानीयवासीमा खुसी छाएको छ । लामो समयदेखि जोखिम मोलेर डुङ्गाबाट नदी तर्न बाध्य नागरिक अब सुरक्षित र सहज आवतजावतको आशामा उत्साहित बनेका छन् ।
अर्थ मन्त्रालयले गुलरिया नगरपालिका–४ र बारबर्दिया नगरपालिका–११ जोड्ने पुल निर्माणका लागि एक अर्ब १८ करोड रुपैयाँको बहुवर्षीय स्रोत सुनिश्चित गरेपछि पुल निर्माणको बाटो खुलेको हो । यससँगै गुलरिया र बारबर्दिया जोड्ने बहुप्रतीक्षित पुल अब निर्माण चरणमा प्रवेश गर्ने भएको छ ।
सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्ट ले स्रोत सुनिश्चितताको पत्र प्राप्त भइसकेको र अहिले लागत अनुमान तथा बिडिङ डकुमेन्ट स्वीकृतिको काम भइरहेको जानकारी दिए । उनका अनुसार अबको दुई साताभित्र पुल निर्माणका लागि ठेक्का आह्वान गरिनेछ भने चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया सम्पन्न गरिने लक्ष्य राखिएको छ । पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सरकारले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मै पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो । २०८१ पुसमा बहुवर्षीय स्रोत सुनिश्चितता प्राप्त भए पनि सार्वजनिक खरिद अनुगमन कार्यालयबाट आवश्यक ‘स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट’ समयमै तयार नहुँदा ठेक्का प्रक्रिया अघि बढ्न सकेको थिएन । पुल ‘डिजाइन एन्ड बिल्ट’ मोडेलमा निर्माण हुने भएकाले पूर्वतयारीका प्राविधिक प्रक्रिया पूरा गर्न ढिलाइ भएको बताइएको छ ।
पुल निर्माणको खबरले स्थानीय बासिन्दा निकै उत्साहित भएका छन् । वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य नागरिक अब सुरक्षित सडक सञ्जालसँग जोडिने अपेक्षामा छन् । बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारू ले पुल नहुँदा स्थानीयले धेरै सास्ती खेप्नुपरेको उल्लेख गर्दै अब ढिलाइ नगरी निर्माण कार्य सुरु गर्नुपर्ने बताए । उनले भने, “जब्दीघाटमा पुल नहुँदा बिरामी, विद्यार्थी र सर्वसाधारणले निकै दुःख पाए । अब पुल बन्ने निश्चित भएपछि स्थानीयवासीमा ठूलो राहतको अनुभूति भएको छ ।”
स्थानीयवासी रामप्रसाद चौधरीले पनि पुल निर्माणको खबरले गाउँमा खुसी छाएको बताए । उनले भने, “वर्षायाममा नदी तर्न निकै डर लाग्थ्यो । डुङ्गाकै भर पर्नुपर्थ्यो । अब पुल बनेपछि यात्रा सुरक्षित र सहज हुने आशा गरेका छौं ।” त्यस्तै स्थानीय महिला माया पुनले पुलले बर्दियाको विकासमा नयाँ गति ल्याउने विश्वास व्यक्त गरे । उनले भने, “गुलरिया पुग्न अहिले धेरै समस्या हुन्छ । पुल बनेपछि व्यापार, शिक्षा र स्वास्थ्य सेवामा सहजता आउनेछ । हामी धेरै खुसी भएका छौं ।”
पुल निर्माण सम्पन्न भएपछि बारबर्दिया नगरपालिका सिधै सदरमुकाम गुलरियासँग जोडिनेछ । पुरानो पुल क्षतिग्रस्त भएपछि हाल स्थानीयवासी डुङ्गामार्फत नदी पार गर्न बाध्य छन् । नयाँ पुल निर्माणसँगै बर्दियाका हजारौं नागरिकको दैनिकी सहज बन्ने अपेक्षा गरिएको छ ।






