एमयूको चौथो दीक्षान्त समारोह आज स्थापनाको १६ वर्षमा आठ  हजार बढी विद्यार्थी उत्पादन

ओम शाही

सुर्खेत, ३ असार ।

मध्यपश्चिम विश्वविद्यालय (एमयू) को चौथो दीक्षान्त समारोह आज (बुधबार) हुँदैछ । दीक्षान्त समारोहसँगै एमयूको १८ औं विश्वविद्यालय सभा र १६ औं वार्षिकोत्सव समारोह पनि आजै हुनेछ । चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालयसभा–२०८३ को सञ्चार तथा प्रचार–प्रसार उपसमितिका संयोजक डाक्टर विष्णुकुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिष्टमा रहेका १९ सय २८ जना विद्यार्थी दीक्षित हुन लागेको बताए । 

उनका अनुसार कुल विद्यार्थी मध्ये चार सय ५५ विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन् । यी मध्ये चार सय २८ जनाले आफ्ना अभिभावकसहित उपस्थित हुने गरी आवेदन दिएको खड्काले बताए । ग्राजुएट स्कुल अन्तर्गत विभिन्न तहको शैक्षिकोपाधि हासिल गरेका विद्यार्थीहरूलाई दीक्षित गर्नेगरी तय भएको एमयूको ऐतिहासिक चौथो दीक्षान्त समारोहको अध्यक्षता नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नेछन् । 

दीक्षान्त समारोहमा सहभागी हुन मन्त्री पोखरेल वीरेन्द्रनगर आइसकेका छन् । उक्त समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् केदारभक्त माथेमाको प्रमुख आथित्यता रहनेछ । ‘दीक्षान्त समारोहमा ८ जेठ २०८३ सम्म ट्रान्सक्रिप्ट प्राप्त गरिसकेका ग्रेस लिष्टमा समाविष्ट विद्यार्थी मध्येबाट स्नातक तहमा सर्वोत्कृष्ट भएका एक जनाले कुलपति पदक प्राप्त गर्नेछन्,’ खड्काले भने । 

त्यस्तै, स्नातक तहमा सर्वोत्कृष्ट भएका एक जनाले उपकुलपति पदक, सबै ग्राजुएट स्कुलहरूबाट स्नातकोत्तर तहका लागि डीन लिष्टमा परेका पाँच जना र स्नातक तहबाट तीन गरी १४ जना विद्यार्थीले प्रमाणपत्रसहित पदक प्राप्त उनले बताए । संयोजक खड्का अनुसार चौथो दीक्षान्त समारोहसम्म आइपुग्दा ६ हजार तीन सय ७० विद्यार्थी दीक्षित भइसकेका छन् । 

चौथो दीक्षान्त समारोहबाट दीक्षित हुने विद्यार्थीको संख्या जोड्दा विश्वविद्यालय स्थापना भएको १६ वर्षको अवधिमा आठ हजार दुई सय ९८ विद्यार्थी दीक्षित भएका छन् । यस्तै, विश्वविद्यालय सभामा तीन एजेण्डमा छलफल हुनेछ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नारायणप्रसाद पौडेलले दीक्षान्त समारोहसँगै आयोजना हुने १८ औं विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको आम्दानी र खर्चको जानकारी गराइने छ । 

त्यस्तै, विश्वविद्यालयको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट स्वीकृतीको प्रस्तावसमेत सभामा प्रस्तुत गरिने छ । पौडेलले आगामी आर्थिक वर्षका लागि एक अर्ब ४९ करोड बराबरको बजेट प्रस्ताव गरिएको बताए । उनका अनुसार उक्त सभाले दीक्षित हुने विद्यार्थीको ग्रेस लिष्टसमेत पास गर्नेछ ।

यस्तो छ एमयूको इतिहाँस

३ असार २०६७ मा संघीय सरकारकाले मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ जारी गरेसँगै सुर्खेतको वीरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहने गरी एमयूको स्थापना भएको थियो । एमयू कर्णाली प्रदेशमा केन्द्रीय कार्यालय रहेको एकमात्र विश्वविद्यालय हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयहरू स्थापनाको ढोका २०४९ मा खुलेका थियो । 

राष्ट्रिय शिक्षा आयोग २०४९ ले नयाँ विश्वविद्यालय थप गर्ने अवधारणा सारेपछि २०५२ मा यस क्षेत्रका नागरिकले तत्कालीन जिल्ला विकास समिति सुर्खेतको नेतृत्वमा विश्वविद्यालय स्थापनाको औपचारिक यात्रा आरम्भ गरेको इतिहास छ । तत्पश्चात २०५३ सालमा जिल्लास्थित सबै सरोकारवालाहरूको साझा प्रयत्नका साथ विश्वविद्यालय स्थापनाको अभियानलाई अघि बढाउने निर्णय भएको थियो । तत्कालीन समयमा सुर्खेत जिविस सभापतिको नेतृत्वमा विकास क्षेत्र सुदृढीकरण समिति गठन भएको थियो । विश्वविद्यालय स्थापना अभियानको नेतृत्व गर्न पनि त्यसै समितिलाई दिइयो । 

विश्वविद्यालय स्थापनाको औपचारिक नेतृत्व तत्कालीन सभापति गोविन्दबहादुर मल्ल र बालकृष्ण बिसीले गरेका थिए । त्यसपछि स्थानीय निकाय नेतृत्वविहीन भएपछि नागरिक समाजको तर्फबाट गठित मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनार्थ मूल समितिका अध्यक्ष भूषणकुमार मानन्धरले नेतृत्व गरे । 

यसबीचमा विश्वविद्यालय स्थापनाका लागि आवश्यक आर्थिक सहयोग जुटाउन चन्दा, दान दातव्य आदि संकलनका लागि महायज्ञ सञ्चालन, राजनैतिक समर्थन जुटाउने प्रयास, मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमै स्थापना हुनुपर्ने र ऐन पास गराउन पटक–पटक डेलिकेसन जाने, बहस गर्ने आदि विभिन्न गतिविधिहरूमा यी समितिहरू क्रियाशील भए । मौद्गल्य सेवा समाज नेपालले विश्वविद्यालय स्थापनार्थ श्रीमद्भागवदत् धनधान्याञ्चल महायज्ञ सञ्चालन गरी करोडौं बराबरको चल–अचल सम्पत्ति समेत विश्वविद्यालय समितिलाई हस्तान्तरण गरेको थियो । 

निरन्तरको जनदबाबकै कारणले विभिन्न समयमा तीनवटा कार्यदल गठन गरिए– (१) नेपाल अधिराज्यको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा विश्वविद्यालय स्थापना सम्बन्धमा सम्भाव्यता अध्ययन कार्यदल (२०५९), (२) प्रस्तावित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रारम्भिक प्रारूप तयार गर्न गठित कार्यदलको प्रतिवेदन (२०६१) र (३) प्रस्तावित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तयारी समितिको प्रतिवेदन (२०६४) । 

उपयुक्त तीन वटै कार्यदलले मध्यपश्चिम क्षेत्रमा एउटा विश्वविद्यालय आवश्यक रहेको औल्याएका थिए । यसरी निरन्तरको प्रयत्न, प्रयास र प्रतिस्पर्धाको प्रतिफल पुष्पकमल दहाल (प्रचण्ड) प्रधानमन्त्री भएको समय १६ फागुन २०६५ मा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनाको साइत जुरेको थियो । 

त्यसपछि ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७’ वि.सं. २०६७/३/३ मा प्रमाणीकरण भइ जारी भएपछि विश्वविद्यालयका शैक्षिक गतिविधि सुरु भएका थिए । विश्वविद्यालयको स्वरूप दिन उपकुलपतिको रूपमा प्राडा पदमलाल देवकोटा नियुक्त भए । 

यसरी स्थापना भएको विश्वविद्यालयमा हाल सात वटा ग्राजुएट स्कुल अन्तर्गत सुर्खेतस्थित केन्द्रीय विभागहरू, ललितपुरस्थित एमआइसीडी, कर्णाली र लुम्बिनी प्रदेशमा गरी १० वटा आंगिक क्याम्पस छन् । यस्तै, काठमाडौँमा एक सम्बन्धन प्राप्त क्याम्पसमा विभिन्न विषयको अध्ययन, अध्यापन भइरहेको छ । ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेजअन्तर्गत नौ विषयमा स्नातक र १५ विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालित छन् । 

त्यस्तै, दर्शनाचार्यसहितको विद्यावारिधि कार्यक्रमसँगै ग्राजुएट स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत स्नातकतर्फ बीबीएस, बीबीए, बीएचएम, बीटीटीएम र स्नातकोत्तरतर्फ एमबीएस, एमबीए, एमपीए, दर्शनाचार्य र विद्यावारिधि कार्यक्रम एमयुमा सञ्चालित छन् । विश्वविद्यालयले ग्राजुएट स्कुल अफ एजुकेसन अन्तर्गत आठ विषयमा स्नातक र सात विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको छ । यस्तै, ग्राजुएट स्कुल अफ इन्जिनियरिङअन्तर्गत स्नातकतर्फ तीन र स्नातकोत्तरतर्फ दुई कार्यक्रम सञ्चालित छन् । 

त्यस्तै, ग्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीमा स्नातकतर्फ ६ र स्नातकोत्तरतर्फ दुई, ग्राजुएट स्कुल अफ ल अन्तर्गत स्नातकतर्फ पाँच वर्षे बीएएलएलबी र ग्राजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेष्ट्रीमा स्नातकतर्फ बीएस्सीएजी कार्यक्रम विश्वविद्यालयले सञ्चालन गरिरहेको छ ।

एमयूको चौथो दीक्षान्त समारोह आज  स्थापनाको १६ वर्षमा आठ   हजार बढी विद्यार्थी उत्पादन

सम्पादकीय : बजेटको आकार होइन कार्यान्वयनमा ध्यान

एमयूको चौथो दीक्षान्त समारोह आज  स्थापनाको १६ वर्षमा आठ   हजार बढी विद्यार्थी उत्पादन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पेस

Leave a comment

Your email address will not be published. Required fields are marked *