जुम्लाका दुई उम्मेदवारले गरे:प्रतिज्ञा र संकल्प-पत्र सार्वजनिक

गाेल्डेन बुढा

जुम्ला ,४ फाल्गुन ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै जुम्लाको राजनीतिक माहोल क्रमश तातिँदै गएको छ। परम्परागत दल र वैकल्पिक शक्तिबीचको प्रतिस्पर्धा यसपटक जुम्लामा स्पष्ट रूपमा देखिन थालेको छ। यही सन्दर्भमा नेपाली काँग्रेस र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवारहरूले सार्वजनिक गरेका प्रतिज्ञा र संकल्पपत्रले जुम्लाको विकास बहसलाई नयाँ दिशातर्फ मोडेको छ।नेपाली काँग्रेस जुम्लाका उम्मेदवार दीप बहादुर शाहीले ‘समुन्नत जुम्ला, सुखी जुम्लाबासी’ नारासहित सार्वजनिक गरेको प्रतिज्ञा–पत्रमा परम्परागत लोकतान्त्रिक मूल्य, सुशासन र योजनाबद्ध विकासलाई मूल आधार बनाइएको छ। सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जुम्लाको भौगोलिक विकटता, विकासको असमान पहुँच र राज्यको कमजोर उपस्थितिका कारण उत्पन्न समस्यालाई राष्ट्रिय प्राथमिकतामा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।शाहीको प्रतिज्ञा–पत्रले जुम्लाको विकासलाई क्षेत्रगत होइन, समग्र र दीर्घकालीन दृष्टिले हेरेको देखिन्छ।

शिक्षा र स्वास्थ्यलाई आधारभूत अधिकारको रूपमा व्याख्या गर्दै उनले सामुदायिक विद्यालय सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र प्राविधिक विश्वविद्यालय स्थापनालाई जुम्लाबाट बाहिरिने युवाको पलायन रोक्ने उपायका रूपमा प्रस्तुत गरेका छन्। स्वास्थ्यतर्फ जिल्ला अस्पताल सुदृढीकरण, विशेषज्ञ सेवा विस्तार र दुर्गम बस्तीमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य अघि सारिएको छ।भौतिक पूर्वाधारतर्फ सडक सञ्जाललाई आर्थिक गतिविधिसँग जोड्ने, जलविद्युत् आयोजनामार्फत ऊर्जा आत्मनिर्भरता बढाउने, सिँचाइ र सञ्चार पूर्वाधार विस्तार गरी कृषिलाई बजारसँग जोड्ने योजना प्रतिज्ञा–पत्रमा समेटिएको छ। स्याउ, जडीबुटी र स्थानीय कृषि उत्पादनलाई व्यावसायिक बनाउँदै मूल्य शृंखला विकास गर्ने अवधारणाले जुम्लाको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको देखिन्छ।सांस्कृतिक पहिचान र पर्यटन विकासलाई पनि शाहीले आर्थिक रूपान्तरणसँग जोडेका छन्।

सिंजा उपत्यकासहित ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको संरक्षण, खस सभ्यताको प्रवर्द्धन र पर्यटन पूर्वाधार विकासलाई स्थानीय रोजगारी सिर्जनाको आधार मानिएको छ। पार्टीका प्रभावशाली नेता गगन कुमार थापाको मार्गदर्शनमा स्थिर र प्रभावकारी सरकार निर्माण हुने विश्वास व्यक्त गर्दै शाहीले अनुभवी राजनीतिक शक्तिमार्फत जुम्लाको मुद्दा समाधान गर्न सकिने दाबी गरेका छन्।उता, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषि धितालले प्रस्तुत गरेको विस्तृत संकल्पपत्रले भने जुम्लाको राजनीतिक बहसलाई वैकल्पिक धारमा लैजान खोजेको देखिन्छ। सोमबार बिहान पत्रकार भेटघाटमार्फत सार्वजनिक संकल्पपत्रमा उनले परम्परागत दलहरूको ‘आश्वासनमुखी राजनीति’लाई प्रश्न गर्दै वैचारिक स्पष्टता, नैतिकता र सेवामुखी राजनीतिलाई आफ्नो मुख्य आधार बनाएका छन्।तीन दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय धितालले जुम्लाको ऐतिहासिक, सांस्कृतिक र सामाजिक संरचनालाई गहिरो रूपमा बुझेको दाबी गर्दै विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित नराखी सामाजिक चेतना र आत्मसम्मानसँग जोड्नुपर्ने धारणा अघि सारेका छन्। सिञ्जा सभ्यता, खस पहिचान र ऐतिहासिक पुनर्जागरणलाई उनले जुम्लाको दीर्घकालीन राजनीतिक र सांस्कृतिक शक्ति निर्माणको आधार मानेका छन्।उनको संकल्पपत्रमा पर्यटन विकास, कृषि व्यावसायिकीकरण, शिक्षा र स्वास्थ्य सुधार, युवालाई स्थानीय स्तरमै रोजगारी, पारदर्शी शासन प्रणाली र जवाफदेही नेतृत्वलाई प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ। पूर्व माओवादी पृष्ठभूमिबाट आएका र विगतमा जनार्दन शर्मासँग निकट रहेको बताइने धितालले यसपटक नयाँ राजनीतिक दलमार्फत फरक राजनीतिक अभ्यासको दाबी गरेका छन्।‘दासता होइन, आस्थाको राजनीति’ भन्ने नारामार्फत धितालले राज्यसत्तालाई सेवाको माध्यम बनाउने र जनतासँग प्रत्यक्ष उत्तरदायी रहने राजनीतिक संस्कार विकास गर्ने लक्ष्य लिएको बताएका छन्।

जुम्लालाई नमुना जिल्ला बनाउने, आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने र सांस्कृतिक गौरव पुनर्स्थापना गर्ने उनको दृष्टिकोणले परम्परागत र वैकल्पिक राजनीतिबीच स्पष्ट भिन्नता देखाएको छ।यसरी, जुम्लामा एकातर्फ स्थापित लोकतान्त्रिक दलको अनुभव र संरचनामा आधारित विकास मोडेल प्रस्तुत भएको छ। भने अर्कातर्फ वैकल्पिक राजनीतिक चेतनासहितको परिवर्तनकारी दाबी अघि सारिएको छ। निर्वाचन नजिकिँदै जाँदा मतदाताले विकासको निरन्तरता र नयाँ राजनीतिक प्रयोगबीच कुन बाटोलाई रोज्छन्, भन्ने प्रश्न जुम्लाको राजनीतिक भविष्यसँग जोडिएर हेर्न थालिएको छ।

जुम्लाका दुई उम्मेदवारले गरे:प्रतिज्ञा र संकल्प-पत्र सार्वजनिक

मधेशको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता सहित बाँके–२

जुम्लाका दुई उम्मेदवारले गरे:प्रतिज्ञा र संकल्प-पत्र सार्वजनिक

जुम्लामा प्रतिनिधिसभा निर्वाचनका मतपत्र आइपुगे

Leave a comment

Your email address will not be published. Required fields are marked *