महाधिवेशनको कलह र नेतृत्व रस्साकस्सीले कांग्रेस फुटको संघारमा, कर्णालीको बहुमत खड्काकै लाइनमा

ओम शाही
सुर्खेत, २६ पुस ।
यति बेला नेपाली कांग्रेस आन्तरिक कलहमा छ । विशेष गरी जेन–जी आन्दोलनपछि नेतृत्व हस्तान्तरणको विषय कांग्रेसमा पेचिलो बनिरहेको छ । नियमित महाधिवेशनको चरणबाट बाहिरिएको कांग्रेसमा आगामी २१ फागुनको निर्वाचन अगावै नियमति वा विशेष महाधिवेशन गर्नुपर्ने आवाज अन्ततः टुटफुटको जोखिम नजिक पुगेको छ ।
निकै रस्साकस्सीपछि कांग्रेस महामन्त्रिद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ पौषमा विशेष महाधिवेशन आह्वान गरेपछि आन्तरिक कलह सतहमा आइपुगेको हो । देशैभरबाट विशेष महाधिवेशनमा सहभागिता जनाउने वा नजनाउने विषयमा कांग्रेसीहरुले विज्ञप्तीबाजीलाई तीव्र बनाएका छन् ।
विशेष महाधिवेशन गर्नेगरी इतर समूह तयारीमा जुटेपछि संस्थापनले यसलाई रोक्ने रणनीति बनाएको छ । बिहीबार कार्यसम्पादन समितिको बैठकबाट विशेष महाधिवेशनको औचित्य नभएको भन्दै यस्तो गतिविधिले पार्टी विभाजनसम्म पुग्ने चेतावनी दिएको छ ।
तर, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका नेता कार्यकर्ता विशेष महाधिवेशन सफल बनाउने तयारीमा छन् । संस्थापनपक्ष विशेष महाधिवेशनका लागि आउने प्रतिनिधिलाई रोक्न खोजिरहेको छ । दुई पक्षबीच भइरहेको रस्साकस्सीले पार्टी विभाजन हुने डर पनि कांग्रेसभित्र देखिएको छ ।
कांग्रेस संस्थापन समूहको नेतृत्व कार्यवाहक सभापित पूर्णबहादुर खड्काले गरिरहेका छन् । अन्य प्रदेशबाट विशेष महाधिवेशनमा सहभागिता जनाउने विषय पेचिलो बन्दा कर्णालीको बहुमत कांग्रेस राजनीति भने उनै खड्काको लाइनमा चलिरहेको छ । प्रदेश सभापति, जिल्ला सभापति, महाधिवेशन प्रतिनिधिसहितका बहुमत नेता तथा कार्यकर्ता विशेष महाधिवेशनको विपक्षमा रहेको कांग्रेस स्रोत बताउँछ । कांग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमन बहादुर शाही भन्छन्, ‘अहिलेको परिस्थितीमा विशेष महाधिवेशनभन्दा पनि राष्ट्रियसभा र २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा लागौं भन्ने छ ।
केही साथिहरुले महाधिवेशनको पक्षमा हस्ताक्ष्र गर्नु भएको विषय आएको थियो । अहिले उहाँहरुले पनि नाम फिर्ता लिनु भएको छ । एकाध साथीहरु विशेषतर्फ लाग्नु भएको छ ।’ कर्णालीमा कांग्रेसका तीन सय १२ महाधिवेशन प्रतिनिधि छन् । यसमध्ये झण्डै एक सय १३ जना मात्रै प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा छन् । यसअघि विषेश महाधिवेशनको पक्षमा कर्णालीबाट एक सय ३९ जनाले हस्ताक्षर गरेका थिए । यी मध्ये धेरैले हस्ताक्षर फिर्ता लिएको जनाइएको छ ।
१४ औं महाधिवेशनमा दैलेखबाट ५२ जना महाधिवेशन प्रतिनिधि थिए । यी मध्ये महाधिवेशन प्रतिनिधि रहेका भूपेन्द्रबहादुर शाहीका अनुसार २८ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेर केन्द्रमा पठाएका छन् । कालिकोटबाट महाधिवेशन प्रतिनिधि रहेका हर्ष बम भन्छन् ‘कालिकोटमा २५ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ११ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । ‘हामी महाधिवेशनका लागि काठमाडौं पुगसकेका छौं । कांग्रेसको नीति र नेतृत्व बदल्न विशेष महाधिवेशन सफल बनाउनै पर्छ ।’
५२ जना महाधिवेशन प्रतिनिधि रहेको सुर्खेतमा ६ जना विशेष महाधिवेशनको पक्षमा रहेको एक नेताले बताए । जाजरकोटबाट २७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा पाँच जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । यस्तै, जुम्लाबाट २६ जना महाधिवेशन प्रतिनिधि मध्ये १९ जना विषेश महाधिवेशनमा सहभागि हुन काठमाडौं पुगेका छन् ।
सल्यानमा २६ महाधिवेशन प्रतिनिधि मध्ये जिल्ला सभापति केशबहादुर विष्टसहित १० जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् भने रुकुम पश्चिमका २७ जना महाधिवेशन प्रतिनिधिमध्ये पाँच जना विशेष महाधिवेशनका पक्षमा खुलेका छन् । ‘पाँच जनाले महाधिवेशनको पक्षमा हस्ताक्षर गुर्न भएको थियो, त्यस मध्ये केही मात्रै सहभागी हुने देखिएको छ,’ कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले भने । हुम्लामा २५ महाधिवेशन प्रतिनिधि रहदा तीन जना विशेष महाधिवेशन पक्षधर छन् ।
त्यस्तै, कांग्रेस मुगुका उपसभापति हरिजंग शाहीका अनुसार मुगुबाट २६ जना महाधिवेशन प्रतिनिधि रहदा हालसम्म १६ जना विशेष महाधिवेशनमा खुलेका छन् । कांग्रेस रुपान्तरणको पक्षमा रहेकाले आफु पनि विषेश महाधिवेशनको पक्षमा रहेको शाहीले बताए । यस्तै, डोल्पामा २४ महाधिवेशन प्रतिनिधिमा १६ जना विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।
महाधिवेशनमा सहभागी नहुन आग्रह
नेपाली कांग्रेस कर्णाली प्रदेश अन्तर्गत नौ जिल्लाका सभापतिहरु विशेष महाधिवेशनमा सहभागित नुहन अपिल गरेका छन् । उनीहरुले पार्टी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा सहभागी नहुन सम्पूर्ण पार्टी पंक्तिलाई अपिल गरेका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत आह्वान गरिएको विशेष महाधिवेशनले पार्टी र मुलुक दुवैलाई दुर्घटनातर्फ लैजाने भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण कर्णालीका जिल्ला सभापतिहरुले गरेका छन् । कर्णालीका १० जिल्ला मध्ये सल्यानका केशरबहादुर विष्ट भने विशेष महाधिवेशन पक्षधर देखिएका छन् ।
महाधिवेशनको विपक्षमा देखिएका सभापतिहरुमा सुर्खेतका खड्गप्रसासद पोखरेल, दैलेखका मणिराम रेग्मी, जाजरकोटका वेदराज सिंह, जुम्लाका कर्णबहादुर शाही, मुगुका ऐनबहादुर शाही, हुम्लाका मोहनविक्रम सिंह, रुकुम पश्चिमका प्रेमप्रकाश ओली, कालिकोटका अम्बबहादुर शाही, डोल्पाका कार्यवहाक सभापति लवकुमार शाही, सल्यानका उपसभापती सन्तोष केसी छन् ।
उनीहरुले नेपाली कांग्रेसलाई मुलुकको लोकतान्त्रिक आन्दोलनको गौरवशाली धरोहरका रूपमा चित्रण गर्दै पार्टी नेतृत्वले वर्तमान अवस्थामा काँग्रेस मुलुककै सबैभन्दा ठूलो राजनीतिक शक्ति रहेको बताएका छन् । पार्टीको निर्णायक भूमिकाबाटै आगामी आम निर्वाचनको परिणाम प्रभावित हुने भएकाले काँग्रेसले आफ्नो जिम्मेवारी पूर्णरूपमा निर्वाह गर्दै पार्टी एकतालाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
‘काँग्रेसका अनुसार पार्टीको प्रमुख कार्यभार भनेको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु र लोकतन्त्रको मेरुदण्ड मानिने आम निर्वाचनलाई सफल बनाउनु हो,’ संयूक्त विज्ञप्तीमा भनिएको छ, ‘सोहीअनुसार केन्द्रीय कार्यसमितिबाट प्रकाशित कार्यतालिकाअनुसार नियमित १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यसको विकल्पका रूपमा प्रस्तुत गरिएको विशेष महाधिवेशन स्वतः निष्क्रिय भइसकेको छ ।’
विज्ञप्तीमा पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा जोड दिँदै काँग्रेसले व्यक्तिको चाहनाअनुसार पार्टी सञ्चालन हुन नसक्ने स्पष्ट पारिएको छ । नियमित महाधिवेशन र आम निर्वाचनलाई असर गर्ने गरी आह्वान गरिएको विशेष महाधिवेशनले पार्टी एकतालाई गम्भीर क्षति पुर्याउने र मुलुकलाई समेत अस्थिरतामा धकेल्ने पार्टीको ठम्याइ उनीहरुको छ ।
विज्ञप्तीका केन्द्रीयदेखि स्थानीय तहसम्मका सबै पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भातृ तथा शुभेच्छुक संघ–संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिका सदस्यहरूलाई पार्टीको आधिकारिक निर्णयको सम्मान गर्न आग्रह गरिएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मिति २०८२ पौष १८ गतेको निर्णयबाट विशेष महाधिवेशनको कुनै औचित्य नरहेको स्पष्ट भइसकेको भन्दै पार्टीले आधिकारिक निर्णयबिना आह्वान गरिएको कुनै पनि विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह गरिएको छ ।
कोहलपुर नगरपालिकाको हिउँदे अ






