कर्णाली छोरी सञ्जालको प्रदेश अध्यक्षमा संगिता दमाई निर्वाचित

सुर्खेत ,२४ जेठ ।
कर्णाली प्रदेशका १० जिल्लाका छोरीहरूको प्रतिनिधित्व रहने गरी गठन गरिएको कर्णाली छोरी सञ्जालको प्रदेश अध्यक्षमा कालिकोटकी संगिता दमाई निर्वाचित भएकी छन्। कर्णाली छोरी सम्मेलन–२०८३ अन्तर्गत आयोजित प्रदेशस्तरीय भेलाले दमाईको नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा जुम्लाकी सुष्मा हमाल, सचिवमा दैलेखकी मुना शर्मा, सहसचिवमा रुकुम पश्चिमकी विजया पुन मगर र कोषाध्यक्षमा सुर्खेतकी गौमाया अधिकारी चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा सुर्खेतकी पद्मा राजी, हुम्लाकी ल्हामु तामाङ, जाजरकोटकी समीरा गौतम, डोल्पाकी कल्पना सार्की, मुगुकी सरस्वती बुढा र सल्यानकी डुनिका बस्नेत रहेका छन्। कर्णालीका छोरीहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि र सशक्तीकरणलाई लक्षित गर्दै आयोजित कर्णाली छोरी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको हो। सम्मेलनमा प्रदेशका १० वटै जिल्लाबाट सहभागी छोरीहरूले आफ्नो भोगाइ, चुनौती र सफलताका कथाहरू प्रस्तुत गरेका थिए।नवनिर्वाचित प्रदेश अध्यक्ष दमाईले कर्णालीका छोरीहरूको हक, अधिकार, शिक्षा, स्वास्थ्य र नेतृत्व विकासका सवाललाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले प्रदेशका सबै जिल्लाका छोरीहरूलाई सञ्जालमा आबद्ध गर्दै उनीहरूको आवाज नीतिगत तहसम्म पुर्याउन पहल गर्ने बताइन्।उनले अघिल्लो कार्यकालमा ६ सय६९ जना छोरीहरु संजालमा आवद्द भइसकेको बताईन् ।






