अस्पष्ट नीतिका कारण पत्रकारिता क्षेत्रमा चुनौती थपिँदै : महासंघ पुर्व अध्यक्ष झा

भालुबाङ्ग,२४ जेठ ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रविधिको तीव्र विकास र त्यसअनुसार स्पष्ट तथा प्रभावकारी नीति निर्माण हुन नसक्दा पत्रकारिता क्षेत्र दिनप्रतिदिन जटिल बन्दै गएको बताउनुभएको छ।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा आइतबारदेखि अर्घाखाँचीको सितगंगा नगरपालिका–८, सातमारामा सुरु भएको तीनदिने क्षमता विकास कार्यक्रममा बोल्दै उहाँले आधुनिक प्रविधिको विस्तारसँगै पत्रकारितामा नयाँ अवसर सिर्जना भए पनि त्यसको व्यवस्थापन र नियमनमा कमजोरी देखिँदा चुनौतीहरू थपिएको उल्लेख गर्नुभयो।


“प्रविधि जति तीव्र गतिमा अगाडि बढिरहेको छ, त्यसलाई व्यवस्थित गर्ने नीति र संयन्त्र त्यति नै प्रभावकारी हुन सकेको छैन। यसले पत्रकारितामा नयाँ जटिलता र चुनौतीहरू सिर्जना गरिरहेको छ,” झाको भनाइ थियो।
उहाँले नीति निर्माण गर्ने निकाय र सञ्चार क्षेत्रबीच आवश्यक समन्वय तथा आपसी समझदारीको अभाव रहेको पनि औँल्याउनुभयो। “नीति निर्माण पक्ष र पत्रकारिता क्षेत्रबीच कतिपय विषयमा अझै स्पष्टता आवश्यक छ। दुवै पक्षबीच संवाद, सहकार्य र विश्वासको वातावरण निर्माण गर्न सकिए मात्रै स्वस्थ, जिम्मेवार र उत्तरदायी सञ्चार वातावरण विकास गर्न सकिन्छ,” उहाँले बताउनुभयो।
कार्यक्रममा मन्त्रालयकी सचिव सुशिला अर्यालले प्रदेश सरकारले सञ्चार क्षेत्रको विकास तथा पत्रकारहरूको क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षका विभिन्न कार्यक्रमहरू नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नीति, विधि र कानुनी प्रक्रियाभित्र रहेर कार्यान्वयन गरिने जानकारी दिनुभयो।
सचिव अर्यालले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधार स्तम्भ भएकाले पत्रकारहरूको पेशागत दक्षता अभिवृद्धि, क्षमता विकास तथा सञ्चार संस्थाहरूको सुदृढीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। आगामी आर्थिक वर्षमा समेत महासंघसँगको सहकार्यलाई निरन्तरता दिँदै थप प्रभावकारी र परिणाममुखी कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो।


सचिव अर्यालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
मन्त्रालयका वरिष्ठ उपसचिव सुरेशराज आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शाखा अधिकृत भूपबहादुर मल्लले गर्नुभएको थियो।
तीनदिने प्रशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पदाधिकारी तथा सदस्य, प्रदेशका १२ वटै जिल्लाका अध्यक्ष, सचिव र सल्लाहकारसहित ४० जना पत्रकारको सहभागिता रहेको छ। कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, सूचना प्रविधि विज्ञ किरण कौशल, महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं तथा उपाध्यक्ष रामप्रसाद आचार्यले प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
पत्रकारहरूको ज्ञान, सीप र पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमले बदलिँदो सञ्चार परिवेशमा पत्रकारितालाई थप जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अस्पष्ट नीतिका कारण पत्रकारिता क्षेत्रमा चुनौती थपिँदै : महासंघ पुर्व अध्यक्ष झा

कर्णाली छोरी सञ्जालको प्रदेश अध्यक्षमा संगिता दमाई

Leave a comment

Your email address will not be published. Required fields are marked *