गैरसरकारी संस्था महासंघको जुम्लाको अध्यक्षमा टेकबहादुर रावत

गाेल्डेन बुढा

जुम्ला,२४ जेठ ।
जिल्लाभित्र क्रियाशील गैरसरकारी संस्थाहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै सामाजिक विकास, सुशासन र नागरिकका सरोकारका मुद्दामा एकीकृत आवाज उठाउने उद्देश्यसहित गैरसरकारी संस्था महासंघ जिल्ला शाखा जुम्लाले नयाँ नेतृत्व चयन गरेको छ।आइतबार सम्पन्न महासंघको छैटौं जिल्ला साधारणसभाले टेकबहादुर रावतको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा भरत नेपाली, सचिवमा लोकेन्द्र न्यौपाने, कोषाध्यक्षमा मुनि प्रसाद न्यौपाने तथा कमल महत, उत्तम श्रेष्ठलगायत सदस्य रहने गरी सात सदस्यीय जिल्ला पदाधिकारी समिति गठन गरिएको महासंघले जनाएको छ।साधारणसभाले जिल्लाको सामाजिक तथा विकास निर्माण प्रक्रियामा गैरसरकारी संस्थाहरूको भूमिका, सुशासन प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा नागरिकमुखी कार्यक्रमहरूको प्रभावकारिताका विषयमा गहन छलफल गरेको छसहभागीहरूले विकासका साझा सवालमा संस्थाहरूबीच समन्वय, सहकार्य र एकीकृत पहलको आवश्यकता झन् बढ्दै गएको निष्कर्ष निकालेका थिए।

 

नवनिर्वाचित अध्यक्ष रावतले महासंघलाई जिल्लाको विकास र सामाजिक रूपान्तरणको प्रभावकारी संयन्त्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले गैरसरकारी संस्थाहरूको हकहित संरक्षण, क्षमता विकास, अनुभव आदानप्रदान तथा साझा मुद्दामा सशक्त पैरवी गर्न महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।“गैरसरकारी संस्थाहरूलाई केवल कार्यक्रम कार्यान्वयन गर्ने निकायका रूपमा होइन, सामाजिक उत्तरदायित्व, सुशासन र नागरिक सहभागिताका संवाहक संस्थाका रूपमा स्थापित गर्न आवश्यक छ,” अध्यक्ष रावतले भने, “सामाजिक विकासदेखि वातावरण संरक्षण, विपद् व्यवस्थापन, मानव अधिकार, समावेशीकरण र सामाजिक न्यायका क्षेत्रमा महासंघलाई थप सक्रिय बनाइनेछ।”उनका अनुसार जिल्लामा कार्यरत संस्थाहरूबीचको सहकार्यलाई मजबुत बनाउँदै विकासका साझा एजेन्डामा एकीकृत प्रयास अघि बढाइनेछ।

 

यसले संस्थागत दोहोरोपन घटाउने, स्रोत–साधनको प्रभावकारी उपयोग गर्ने तथा स्थानीय आवश्यकता अनुरूप कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साधारणसभामा बोल्दै निवर्तमान अध्यक्ष अमरबहादुर रोकायाले महासंघले विगतका वर्षहरूमा जिल्लाका विभिन्न गैरसरकारी संस्थाहरूलाई एउटै साझा छातामुनि ल्याएर संस्थागत एकता निर्माणमा महत्वपूर्ण योगदान दिएको बताए। उनले आगामी नेतृत्वले पारदर्शिता, उत्तरदायित्व र संस्थागत सुदृढीकरणलाई थप मजबुत बनाउँदै महासंघलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।“महासंघ सबै गैरसरकारी संस्थाहरूको साझा छाता संगठन हो,” रोकायाले भने, “यसलाई समयको मागअनुसार थप सशक्त, उत्तरदायी र परिणाममुखी बनाउने जिम्मेवारी अब नयाँ नेतृत्वको काँधमा आएको छ।”नयाँ कार्यसमिति चयन भएसँगै महासंघले आगामी कार्ययोजना निर्माण गरी जिल्लाभित्र कार्यरत गैरसरकारी संस्थाहरूलाई थप व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। विकास, सुशासन र सामाजिक रूपान्तरणका सवालमा साझा आवाज निर्माण गर्ने महासंघको भूमिका आगामी दिनमा अझ महत्वपूर्ण बन्ने सरोकारवालाहरूको विश्वास छ।

गैरसरकारी संस्था महासंघको जुम्लाको अध्यक्षमा टेकबहादुर रावत

बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता

Leave a comment

Your email address will not be published. Required fields are marked *