जुम्ला रास्वपाकाे अध्यक्षमा मक्कर भण्डारी

गाेल्डेन बुढा
जुम्ला,२४ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाले प्रथम जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। पार्टीको जिल्ला संगठनलाई संस्थागत र थप सक्रिय बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनबाट मक्करबहादुर भण्डारी सभापतिमा चयन भएका छन्।नवनिर्वाचित कार्यसमितिमा उपसभापतिमा सुनिलबहादुर रोकाय, सचिवमा जगतबहादुर खत्री तथा सहसचिवमा दानबहादुर बुढा चयन भएका छन्।
समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्दै पेमा टाँसी लामा तामाङ, शान्ते कामी, भीमबहादुर बुढा र सीता रोकाय सदस्यमा चयन भएका छन्।अधिवेशनले जिल्ला नेतृत्व चयनसँगै निर्वाचन क्षेत्रस्तरीय संरचनासमेत गठन गरेको छ। निर्वाचन क्षेत्र नं. १ को उपसंयोजकमा इन्द्रबहादुर बुढा, सचिवमा फुर्वा छिरिङ तामाङ तथा खुला सदस्यमा जनकराज खत्री चयन भएका छन्। त्यसैगरी अर्को क्षेत्रीय समितिको उपसंयोजकमा कमल आचार्य, सचिवमा मायालाल धिताल तथा खुला सदस्यमा मुक्तिप्रसाद उपाध्याय चयन भएका छन्।
अधिवेशनका अवसरमा जुम्ला बजारमा “रास्वपा बनाउँछ, देश बदलिन्छ परिवेश” भन्ने नारासहित र्याली निकालिएको थियो। र्यालीमा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। रास्वपाले जिल्लास्तरमा संगठन सुदृढीकरण, सुशासनको प्रवर्द्धन तथा जनसरोकारका मुद्दालाई प्राथमिकतामा राख्दै आगामी गतिविधि अघि बढाउने जनाएको छ।नवगठित नेतृत्वले पार्टीको वैकल्पिक राजनीतिक अभियानलाई गाउँ-गाउँसम्म विस्तार गर्दै नागरिकका अपेक्षा र सरोकारसँग प्रत्यक्ष जोडिने प्रतिबद्धता व्यक्त गरेको छ।






