दैनिक १३ लाख मतपत्र छपाई 

भक्तपुर, २४ माघ । 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले प्रत्यक्ष्यतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बिहीबार साँझसम्म ८० लाख मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिए । उनले दिनमा १३ लाखसम्म मतपत्र छपाइ भइरहेको र अबको एक सातामा सबै मतपत्र छपाइ सम्पन्न गरी ‘प्याकिङ’को काम गरिने बताए ।

प्रबन्ध निर्देशक पौडेलले भने, “केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको छ । दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी ‘प्याकिङ’ सम्पन्न गरिसकेको छ । प्रत्यक्षतर्फको मतपत्र छपाइ यसै महिनामा सम्पन्न गर्छौं ।”

उनले समानुपातिकतर्फको मतपत्र यही माघ २५/२६ गतेदेखि ढुवानीको काम सुरु हुने र महिनाको मसान्तसम्म प्रत्यक्षतर्फको मतपत्र छपाइ सकेर फागुनको १/२ गतेसम्म सबै काम सकेर जिल्लामा ढुवानी हुने बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका लागि ८० लाख थान मतपत्र छपाइ सम्पन्न भएको जनाइएको छ । “समानुपातिकतर्फको दुई करोड आठ लाख ५४ हजार ८०० प्रति मतपत्र छपाई सम्पन्न गरी माघ १२ गतेदेखि प्रत्यक्षतर्फको दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ सुरु गरिएको छ ।  आगामी फागुन ३ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने निर्वाचन आयोगको योजनाअनुसार केन्द्रले काम गरिरहेका छ”, पौडेलले भने । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने ३७ प्रकारका सामग्री सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नै खरिद गर्ने व्यवस्था गरेको जनाइएको छ  ।

मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न भएको छ ।

त्यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न भइसकेको छ । साठी जिल्लाको मतपत्र पनि छपाइ सम्पन्न भइसकेको छ तर, प्याकिङको काम भने बाँकी छ ।

आयोगका अनुसार मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । प्याकिङको काम पनि क्रमशः भइरहेको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ एवं रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।

त्यसैगरी, प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने छ । यही माघ १६ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको थियो । यस्तै, १० लाख ९८ हजार २०० बराबरको नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

दैनिक १३ लाख मतपत्र छपाई 

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग 

Leave a comment

Your email address will not be published. Required fields are marked *