अम्बिकादेवी संस्कृत गुरुकुल स्थापनार्थ श्रीमद्भागवत महायज्ञको आय–व्यय सार्वजनिक

सुर्खेत ,२१ पुस।

वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालस्थित अम्बिकादेवी मन्दिर परिसरमा अम्बिकादेवी संस्कृत गुरुकुल स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।
मिति २०८२ मंसिर १८ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको महायज्ञको आम्दानी र खर्च विवरण सार्वजनिक गर्ने कार्यक्रम महायज्ञ मूल आयोजक समितिका संयोजक तिलकराम चालिसेको अध्यक्षता तथा वीरेन्द्रनगर–११ का वडाध्यक्ष खिमलाल देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


आयोजक समितिले सार्वजनिक गरेको विवरणअनुसार महायज्ञबाट कूल ८४ लाख २७ हजार २ सय ६९ रुपैयाँ बराबरको आम्दानी भएको छ । आम्दानीतर्फ अभिभावक तथा विभिन्न दाताबाट प्राप्त दान, कलश सहयोग, धान तथा चामल बिक्री, दानपेटिका, यजमान चढौती, प्रारम्भिक मौज्दात, साट्न बाँकी चेक तथा उठ्न बाँकी रकमसमेत समेटिएको छ ।
त्यस्तै, खर्चतर्फ मण्डप तथा चौतारी निर्माण, भोजनालय व्यवस्थापन, टेन्ट तथा साउण्ड सिस्टम भाडा, विद्युत् जडान, प्रचार–प्रसार, पण्डित तथा कलाकारलाई दक्षिणा, सरसफाइ, सम्मान सामग्री, पूजा सामग्री, खानेपानी, इन्धन, भान्सासम्बन्धी सामग्री तथा अन्य व्यवस्थापकीय शीर्षकमा खर्च भएको विवरण सार्वजनिक गरिएको छ । खर्चपश्चात बैंक तथा नगद मौज्दातसमेत विवरणमा समावेश गरिएको आयोजक समितिले जनाएको छ ।


महायज्ञका क्रममा डिलाराम आचार्यबाट सवा १३ धुर जग्गा र माधव प्रसाद भट्टराईबाट १० धुर जग्गा गुरुकुलका लागि भूमिदान प्राप्त भएको पनि आयोजक समितिले जानकारी दिएको छ । साथै महालक्ष्मी पूजा सामग्री पसल र वैदिक पूजा सामग्री पसलबाट विभिन्न पूजा सामग्री सौजन्यस्वरूप उपलब्ध गराइएको उल्लेख गरिएको छ ।
कार्यक्रममा वक्ताहरूले आय–व्यय सार्वजनिक गर्नु पारदर्शिता र विश्वासको आधार भएको उल्लेख गर्दै गुरुकुल स्थापनाको अभियानमा सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको बताएका थिए ।


उक्त महायज्ञबाट संकलित रकम अम्बिकादेवी संस्कृत गुरुकुल स्थापना तथा पूर्वाधार निर्माणमा प्रयोग गरिने श्री अम्बिकादेवी संस्कृत गुरुकुल स्थापनार्थ सञ्चालित श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ मूल आयोजक समिति, वीरेन्द्रनगर–११, गाग्रेताल, सुर्खेतले जनाएको छ ।

अम्बिकादेवी संस्कृत गुरुकुल स्थापनार्थ श्रीमद्भागवत महायज्ञको आय–व्यय सार्वजनिक

तिला–१ का ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबर

Leave a comment

Your email address will not be published. Required fields are marked *